Kathmandu Press

माधव नेपाल भन्छन्- पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाए, न्यायलयप्रति विश्वस्त छु

आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको बताउँदै उनले आफूले व्यक्तिगत स्वार्थका लागि कुनै काम नगरेकाले आत्तिनु नपर्ने बताए।
माधव नेपाल भन्छन्- पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाए, न्यायलयप्रति विश्वस्त छु

काठमाडौं, जेठ २४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेकाले कतिपय व्यक्तिहरू आत्तिएको बताएका छन्। 

एकीकृत समाजवादी मधेस प्रदेश सम्पर्क कमिटिको प्रथम अधिवेशनमा बोल्दै उनले पूर्वाग्रह राखेर आफूमाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भइरहेको बताए।

‘अहिले नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ। हाम्रो पार्टीको महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका पनि छन्, आतंकित पनि भएका छन्। पूर्वाग्रह राखेर बसेका छन्, बद्लाको भावनाले उनीहरूलाई पोलिराखेको पनि छ। त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भएको छ,’ अध्यक्ष नेपालले भने, ‘भ्रष्टाचारको केस जसमा निर्णायाकको  आधार चाहिन्छ। माधव नेपालले कसैसँग एक पैसा घुस लिएको भएँ, एकदाम जग्गा घुस लिएको भएँ, अनुचित काम गरेको भएँ, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भएँ त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु।’

आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको बताउँदै उनले आफूले व्यक्तिगत स्वार्थका लागि कुनै काम नगरेकाले आत्तिनु नपर्ने बताए।

‘मैले भन्ने गरेको छु नबिराउनु, नडराउनु। आफ्नो स्वार्थको लागि कुनै काम भएको छैन भनेर आत्तिनुपर्ने छैन। गलत आरोपमा दृढतासाथ उभिन्छौं,’ अध्यक्ष नेपालले भने ‘मलाई विश्वास छ न्यायपालिकाले मलाई न्याय दिनेछ। हामीले न्यायालयलाई विश्वास गर्नुपर्छ।’

 

प्रकाशित मिति: १८:४८ बजे, शनिबार, जेठ २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्