Kathmandu Press

२२ आयोजनाको लागत १८ खर्ब, आठ वर्षको प्रगति पौने ३ खर्ब खर्च मात्रै !

काठमाडौं, असोज ७ :  राष्ट्रिय गौरवका २२ वटा आयोजनामा आठ वर्षमा २ खर्ब ८३ अर्ब ८६ करोड रुपैयाँ मात्रै खर्च भएको छ।

तत्कालीन प्रधानम....

२२ आयोजनाको लागत १८ खर्ब, आठ वर्षको प्रगति पौने ३ खर्ब खर्च मात्रै !

काठमाडौं, असोज ७ :  राष्ट्रिय गौरवका २२ वटा आयोजनामा आठ वर्षमा २ खर्ब ८३ अर्ब ८६ करोड रुपैयाँ मात्रै खर्च भएको छ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य आयोजनामा छिटो काम सम्पन्न गर्न भन्दै राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर बजेट विनियोजन गरेका थिए। पहिलेदेखि नै आयोजना सुरु भएपनि प्राथमिकतामा भने पारिएको थिएन। 

आर्थिक वर्ष २०७५-७६ सम्ममा २२ वटा आयोजन निर्माण सम्पन्न गर्न १८ खर्ब १० अर्ब ६८ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको थियो। लामो समयसम्म पनि आयोजनको निर्माण प्रगति भने निराशाजनक छ। 

Hardik ivf

राष्ट्रिय गौरवका आयोजना घोषणा भएको ८ वर्षमा पौने ३ खर्ब रुपैयाँ मात्रै खर्च भएको छ। सामान्यतयाः काम समयमा सुरु गर्न सकेको भए ८ वर्षमा अधिकांश आयोजना सम्पन्न हुनु पर्नेमा कुनै पनि आयोजनाको निर्माण सकिएको छैन।

राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको तथ्यांक हेर्ने हो भने हालसम्म २२ वटा आयोजनाको भौतिक प्रगति सरदरमा २३ प्रतिशत मात्रै भएको देखिन्छ।

सोचेअनुरुप राष्ट्रिय गौरवका आयोजनमा प्रगति हासिल गर्न नसकिएपनि सुधार राम्रो रहेको बताउँछन् राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्प कँडेल। ‘वन, सडक र प्राविधिक समस्याले काममा ढिलाइ भइसकेको छ। समस्या समाधान गर्दै काम अघि बढाइरहेका छौं,’ उनले भने।

राष्ट्रिय गौरवका आयोजनामध्ये मेलम्ची खानेपानी आयोजनाको प्रगति ९५.१२ प्रतिशत रहेको छ। तर, निर्माण सम्पन्न हुने समयमा ठेकेदार कम्पनीले छाडेपछि आयोजनाले गति लिन सकेको छैन। मेलम्चीमा हालसम्म २७ अर्ब रुपैयाँ खर्च भइसकेको छ भने लागत अनुमान ३५ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रगति पनि ७४ प्रतिशत रहेको छ। आगामी जनवरीसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको आयोजनामा हालसम्म १० अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। विमानस्थलको मुआब्जासहितको लागत अनुमान ३० अर्ब ४१ करोड रुपैयाँ गरिएको छ। 

तराई–मधेस द्रुतमार्गमा पनि हालसम्म १४ अर्ब ७१ करोड रुपैयाँ खर्च भइसकेको छ। नेपाली सेनाले निर्माणको जिम्मा लिएको आयोजना १ खर्ब ७५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजनाको भौतिक प्रगति ८.५ प्रतिशत छ।

मध्यपहाडी लोकमार्गको पनि भौतिक प्रगति ४८ प्रतिशत रहेको छ। उक्त आयोजनामा हालसम्म ३९ अर्ब ९९ करोड रुपैयाँ खर्च भइसकेको छ भने काम सम्पन्न हुँदासम्म ८४ अर्ब ३३ करोड खर्च हुने अनुमान गरिएको छ। तत्कालीन समयमा ७ वटा मात्रै राष्ट्रिय गौरवका आयोजना रहेका थिए। हालसम्म सरकारले बहुवर्षीय आयोजनाको रुपमा राष्ट्रिय गौरवका २२ वटा पुगेका छन्। 

रेल्वे तथा मेट्रो विकास आयोजनामा हालसम्म १३ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ। यो आयोजनाका लागि ७० अर्ब ६२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। हुलाकी राजमार्गमा पनि हालसम्म ४४ प्रतिशत भौतिक प्रगति पुगेको छ। जसको लागत अुनमान ६५ अर्ब २० करोड रुपैयाँ अनुमान गरिएको छ भने हालसम्म आयोजनमा २७ अर्ब ५३ करोड रुपैयाँ खर्च भएको छ। 

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको भौतिक प्रगति ९९.३ प्रतिशत छ। आयोजनामा हालसम्म ४६ अर्ब २३ करोड रुपैयाँ खर्च भइसकेको छ। लागत ४९ अर्ब २९ करोड रुपैयाँ भनिएपनि बढेर ६५ अर्बभन्दा बढी पुग्ने अनुमान गरिएको छ। 

बूढीगण्डकी जलविद्युत आयोजनामा मुआब्जाको कामबाहेक अन्य कुनै पनि प्रगति हुन सकेको छैन। २ खर्ब ६० अर्ब खर्च हुने अनुमान गरिएको आयोजनामा हालसम्म ३६ अर्ब २० करोड रुपैयाँ मुआब्जामा मात्रै खर्च भएको छ। राष्ट्रिय गौरवका २२ मध्ये तीन आयोजनाको भने काम नै सुरु हुन सकेको छैन।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुँदा ६ खर्ब ९३ अर्ब खर्च हुने अनुमान गरिएको छ। हालसम्म ५९ करोड रुपैयाँ मात्रै खर्च गरिएपनि निर्माणका लागि कम्पनीको छनौट भइसकेको छैन।
 

प्रकाशित मिति: १७:१० बजे, मंगलबार, असोज ७, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्