साहित्यकार कायस्थको ‘वीरग्रन्थ’ सार्वजनिक
काठमाडौं, फागुन १९ : ८७ वर्षका सक्रिय लेखक, वरिष्ठ साहित्यकार एवं राजनीतिज्ञ तिलकप्रकाश कायस्थको नयाँ पुस्तक ‘विरग्रन्थ’ सार्वजनिक भएको छ। कायस्थले नेपालमा प्रजातन्त्रका लागि लडेका...
काठमाडौं, फागुन १९ : ८७ वर्षका सक्रिय लेखक, वरिष्ठ साहित्यकार एवं राजनीतिज्ञ तिलकप्रकाश कायस्थको नयाँ पुस्तक ‘विरग्रन्थ’ सार्वजनिक भएको छ।
कायस्थले नेपालमा प्रजातन्त्रका लागि लडेका वीर योद्धाहरुको जीवनीमा आधारित रहेर पुस्तक तयार पारेका हुन्। नेपाल र नेपालीका इतिहास समेट्ने अमूल्य पुस्तकका रूपमा वीरग्रन्थ रहेको छ।
सुवर्ण शमशेरको जन्मजयन्ती पारेर आयोजित नेपालको प्रजातान्त्रिक आन्दोलन र आधुनिक अर्थतन्त्र निर्माणमा उनको भूमिका विषयक विचार गोष्ठीमा उक्त पुसतक सार्वजनिक गरिएको हो ।
सुवर्ण स्मृति परिषदले प्रकाशनमा ल्याएको पुस्तकमा नेपालको प्रजातान्त्रिक आन्दोलनका ६० जना सहिद तथा वीरवीरांगनाहरुको जीवनी समावेश गरिएको छ।
पुस्तकमा नेपालका प्रथम सहिद लखन थापादेखी विक्रम संवत १९९७ साल, २००७ साल हुँदै २०४६ सालको आन्दोलनका सहिद तथा वीरवीरांगनाहरूले शारीरिक एवं मानसिक दुःखकष्ट केकति भोगे ती घटनाक्रम समेटेर पुस्तक प्रकाशनमा ल्याइएको कायस्थले जानकारी दिए।
‘नेपालको मौलिक अधिकारयुक्त स्वतन्त्रता प्राप्तिको दौरान सहादत प्राप्त गरेका सहिद, तानाशाहहरुको जेलमा अति पिटाइबाट जेलमै मृत्युवरण गरेका र जेलबाट छुटेपछि घर पुगेर केही समयमा मृत्यु भएका र जीवनभर प्रजातान्त्रिक अधिकारका लागि लडेका वीरवीरंगनाहरूको घटनाक्रम पुस्तकमा पाइन्छ,’ उनले भने।
‘चार वर्ष लगाएर लेखिएको पुस्तकमा २००७ सालयत हालसम्म विदेशी हस्तक्षेप कसरी भइरहेको छ र त्यसबाट देशलाई जोगाउन कसकसले कसरी मृत्युवरण गरे भन्ने विषयमा पुस्तकबाट जानकारी मिल्नेछ,’ उनले भने।
पुस्तक तयार गर्न अनगिन्ती पुस्तक, पत्रपत्रिकाको अध्ययन गरिएको केहि आफैंले देखेका भोेगेका र केही पुस्तक र पत्रपत्रिकाबाट लिएका विभिन्न अध्यायहरूलाई समेटेर पुस्तकलाई मूर्तरूप दिँदै वास्तविकता झल्काउन खोजिएको उनको भनाइ छ। पुस्तकमा पुष्पलाल श्रेष्ठ, पद्मरत्न तुलाधर, भरतगोपाल झा, बिपी कोइराला, गणेशमान लगायत नेता तथा सहादत प्राप्त गर्ने देशभरका योद्धाको विषयमा लेखिएको छ । लेकखका अनुसार पुस्तकमा पुष्पलाल, गणेशमान, बिपीलगायत नेताले इतिहासमा गरेका गल्तीका कारण हालसम्म पनि मुलुकले भोग्नुपरेका परिणामको विषयमा पनि उल्लेख गरिएको छ।
लेखक कायस्थको यो १४औं कृति हो। लेखकको प्रजातन्त्र दिवसका अवसरमा गत फागुन ७ गते मात्र ‘झुक्न नजानेका राष्ट्रवादी नेता बिपी कोइराला’ सार्वजनिक भएको थियो।
यसअघि कायस्थको नेपाल भाषाका ‘योमरी’ (उक्तिसंग्रह), ‘धनमाया’ (लघुखण्ड काव्य), ‘यौन ज्ञान मनोविज्ञान’, ‘नुगः जः’ (निबन्धसंग्रह), ‘वयागु हाथ्या’ (कथा संग्रह), ‘ख्वबि झसुका’ (शोककाव्य), ‘उत्सर्ग’ (कवितासंग्रह), ‘कमला’ (कथासंग्रह) प्रकाशन भइसकेको छ भने जीवन दर्शन प्रकाशोन्मुख छ।
यस्तै, नेपाली भाषाका ‘परिवार नियोजन के, किन, कसरी’ (लेखसंग्रह), ‘यौन ज्ञान मनोविज्ञान’ (लेखसंग्रह), ‘शारदा’ (शोककाव्य), ‘लक्ष्मण रेखा’ (निबन्धसंग्रह) प्रकाशन भएका छन्।





-1755950009.png)







