जुरिचले पाउला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मेवारी?
काठमाडौं, असोज ६ : लगानी बोर्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि स्वीट्जरल्याण्डको जुरिच इन्टरनेश्नल एयरपोर्टसँग विस्तृत प्रतिवेदन....

काठमाडौं, असोज ६ : लगानी बोर्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि स्वीट्जरल्याण्डको जुरिच इन्टरनेश्नल एयरपोर्टसँग विस्तृत प्रतिवेदन माग गर्ने भएको छ।
लगानी सम्मेलनमा सबै भन्दा आकर्षक परियोजनाका रुपमा निजगढलाई लगानी बोर्डले प्राथमिकता दिएको थियो। निर्माणका लागि ७ वटा कम्पनीको प्रस्ताव आएकोमा ६ वटाको प्रस्ताव खारेज गर्दै एउटासँग मात्रै विस्तृत प्रस्ताव माग्न लागिएको लगानी बोर्ड प्रमुख कार्यकारी अधिकृत (सिईओ) महाप्रसाद अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ४० औं बैठकले जुरिचसँग विस्तृत प्रतिवेदन माग गर्ने निर्णय गरेको छ।
स्वीट्जरल्याण्डको जुरिच विमानस्थल विश्वकै ठूला विमानस्थल मध्येको एक हो। अधिकारीका अनुसार जुरिचको मात्रै मापदण्ड पुगेकाले अन्यको खारेज गरिएको जानकारी दिए। लगानी बोर्डले मन्त्रालय तथा प्राधिकरणका प्राविधिक र हवाइ विज्ञहरुले सात वटै कम्पनीको प्रस्तावको अध्ययन गरेका थिए।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ३ खर्ब ३० अर्ब भन्दा बढी रुपैयाँ (३ अर्ब अमेरिकी डलर) प्रस्ताव गरिएको थियो। सरकारले जिटुजी मोडलमा निजगढ विमानस्थल दिने तयारी गरेको हो। जुन कम्पनीको राम्रो प्रस्ताव हुन्छ, सोहीसँग जिटुजी मोडलमा सम्झौता गर्ने तयारी समेत बोर्डले गरेको छ।
लगानी, निर्माण र निश्चित समयका लागि सञ्चालनको जिम्मा सोही कम्पनीले पाउने छ। बोर्डले कम्पनीसँग विस्तृत प्रस्ताव कात्तिकसम्म दिने गरी प्रस्ताव गरेको छ।
वि.स २०६४ मा तत्कालीन मन्त्रिपरिषद् बैठकले विमानस्थल स्वामित्व, निर्माण र हस्तान्तरण (बुट) मोडलमा बनाउने निर्णय गर्दै विस्तृत परियोजना अध्ययन प्रतिवेदन दिन कोरियाली कम्पनी ल्याण्डमार्क वल्डवाइड कम्पनी (एलएमडब्लू) लाई जिम्मा दिएको थियो।
सोही कम्पनीले २०६५ मा अध्ययन प्रतिवेदन बुझाउँदै बुट मोडलमा बनाउन उपयुक्त हुने निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन अनुसार सरकारले निर्माण कार्य अघि बढाएको छ। प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारले कतारलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा दिने गरी छलफल समेत गरेको थियो।
अर्थ मन्त्रालयले गत वर्ष नै निजगढ विमानस्थल निर्माणका लागि पीपीपी मोडल उपयुक्त हुने गरी सुझाव दिएको थियो। ३ हजार ६ सय मिटर लामो र ५० मिटर फराकिलो तथा दोहोरो धावनमार्ग हुने विमानस्थलमा विश्व बजारमा उत्पादन भएका सबैजसो अत्याधुनिक वाइडबडी जहाजहरु उडान/अवतरण गर्न सक्नेछन्।
निर्माण सम्पन्न भएपछि वार्षिक ६ करोड यात्रु धान्न सक्ने उक्त विमानस्थल टर्मिनल भवनमा ६ वटा वोर्डिङ गेट, ३४ चेक इन काउन्टर, ६ सुरक्षा जाँच, ३५ अध्यागमन र ८ भन्सार जाँच काउन्टर रहनेछन्।
त्यस्तैगरी, यात्रुहरुको सजिलोका लागि टर्मिनल भवनको माथिल्लो तलामा प्रस्थान र तल्लो तलामा आगमनका लागि बनाइने छ।












![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)