राजनीतिमा हिँड्दा मलाई ‘कता जान्छेस्, के गर्छेस्, एक्लै जान्छेस्, डर लाग्दैन’ भन्थे
चित्रकुमारीको राजनीतिक यात्रा वडा सदस्य, नगर सदस्य, जिल्ला सदस्य हुँदै अगाडि बढ्यो । २०५७ देखि ०७४ सालसम्म उनले स्वास्थ्य स्वयंसेविका भएर पनि काम गरिन् ।काठमाडौं, फागुन १३ : २०५४ सालमा, चित्रकुमारी चौधरी एमालेको वडासदस्य भएर राजनीतिमा लागिन् । जतिबेला उनी २६ वर्षमा हिँड्दै थिइन् । उनका श्रीमान् साधारण कृषक थिए । राजनीतिमा लाग्न घर–परिवार र श्रीमानको सहयोग भएकाले उनी घरधन्दा सकेर पार्टीका कार्यक्रममा हिँड्थिन् । तराईमा आम महिलालाई राजनीतिमा लाग्न सहज थिएन । परम्परागत सोचका कारण राजनीति लाग्ने महिलालाई भिन्न नजरले हेरिन्थ्यो । चित्रकुमारी भन्छिन्, ‘मलाई गाउँकै महिलाले कता जान्छेस्, के गर्छेस्, एक्लै जान्छेस्, डर लाग्दैन भन्थे । तर मैले यस्ता कुरा सुनिनँ । समुदायका दिदीबहिनीको जीवनस्तर उकास्न राजनीतिमा लाग्नैपर्छ भन्ने बुझेकी थिएँ।’
बुवाको प्रेरणा
चित्रकुमारीको जन्म साबिकको रामपुर विलासीपुर गाविसमा भएको हो । उनका बुवा चन्द्रलाल चौधरी २०५४ सालमा एमालेबाट रामपुर विलासीपुर गाविसको अध्यक्ष भएका थिए । २०७१ वैशाख २५ गते साबिक श्रीपुर, लक्ष्मीपुर, रामपुर विलासीपुर गाविसलाई मिलाएर बेलौरी नगरपालिका बनाइएको हो।
त्यतिबेला उनका बुवा ६ महिनाजति गाविस अध्यक्ष भई राजीनामा दिए, सांसदका लागि चुनाव लड्न, तर उनी थोरै मतले हार्नुप¥यो । उनको घरमा राजनीतिक भेटघाट र छलफल भइरहन्थ्यो, यही वातावरणमा हुर्केकी चित्रकुमारीमा सानैदेखि राजनीतिमा रुचि बढ्न थाल्यो । बुवा गाविस अध्यक्ष भएपछि नै उनले पार्टीको सदस्यता लिएकी थिइन् ।
चित्रकुमारीको विवाह २०४५ सालमा गाउँ नजिकैका मित्रराज चौधरीसँग भयो । मित्रराज साधारण कृषक हुन् । गाउँठाउँमा चित्रकुमारीका बुवाको राजनीतिक प्रभाव राम्रै थियो । १७ वर्षमै विवाह गरेकी चित्रकुमारी बुवाकै प्रेरणाले अन्नतः सदस्यता लिएरै राजनीतिमा लागिन् । ‘राजनीतिबिना देश र समाजको विकास गर्न सकिँदैन । समाजमा पछि परेका महिलाको उत्थान र विकासका लागि नै राजनीतिक पाटोलाई अँगालेकी हुँ,’ चित्रकुमारी भन्छिन्, ‘राजनीतिप्रतिको इच्छा माइतीघरबाटै पलाए पनि यसमा प्रत्यक्ष रूपमा राजनीतिमा लाग्ने मौका मैले विवाहपछि नै पाएकी हुँ । श्रीमान्को साथ र समर्थन त छँदै थियो, परिवारका अन्य सदस्यबाट पनि कुनै रोकतोक भएन ।’
स्कुल नहुँदा पढ्न पाइनँ
चित्रकुमारीको राजनीतिक यात्रा वडा सदस्य, नगर सदस्य, जिल्ला सदस्य हुँदै अगाडि बढ्यो । २०५७ देखि ०७४ सालसम्म उनले स्वास्थ्य स्वयंसेविका भएर पनि काम गरिन्।
०७४ मा उनलाई पार्टीले बेलौरी नगरपालिकाका लागि उपप्रमुखको टिकट दियो । उनले चुनाव जितिन् र आफ्नै गाउँठाउँको सेवामा लागिन्।
चित्रकुमारीको औपचारिक अध्ययन कक्षा ३ सम्म मात्र हो । ०२८–३० सालतिर उनको गाउँमा एउटा मात्र विद्यालय थियो, सिद्धेश्वरी विद्यालय, जहाँ कक्षा ३ सम्म मात्र पढाइ हुन्थ्यो । उनी कक्षा ३ मा प्रथम भइन् तर कक्षा ४ मा भर्ना हुन पाइनन् । माथिल्लो कक्षा पढ्न अर्को गाउँ कलकत्तामा रहेको जनज्योति मावि जानुपथ्र्यो, खोला तरेर । ‘मेरो घरदेखि जनज्योति स्कुल झन्डै चार किलोमिटर टाढा पथ्र्यो, त्यसमाथि खोला तर्नुपर्ने,’ चित्रकुमारी भन्छिन्, ‘आफूभन्दा साना भाइबहिनी थिए, घर हेर्नुपर्ने । अर्कोतिर आर्थिक समस्याले गर्दा पनि पढाइ बीचमै छाड्नुप¥यो।’
उनले कक्षा ३ सम्म पढेको सिद्धेश्वरी माविमा अहिले कक्षा १० सम्म पढाइ हुन्छ । रामपुर विलासीपुर टोलमा मात्र तीनवटा सरकारी र तीनवटा निजी विद्यालय छन् । ‘आर्थिक वर्ष २०७८ सम्म आइपुग्दा बेलौरी नगरपालिकाभित्र ३२ वटा सरकारी विद्यालय पुगेका छन्,’ उपप्रमुख चौधरी भन्छिन्।
नजिकै स्कुल नभएकाले आफूले पढ्न नपाएको दुःखबोध उनलाई राम्रैसँग थियो । त्यसैले आफू उपप्रमुख भएपछि शिक्षामा जोड दिएको उनी बताउँछिन् । उनका अनुसार, आर्थिक अवस्था कमजोर भएको परिवारका बालबालिका विशेषतः महिला, दलितका लागि नगरपालिकाले केही हदसम्म छात्रवृत्तिको व्यवस्था गरेको छ।
महिलालाई तालिम
एउटा जनप्रतिनिधिले सबैभन्दा पहिले समाज र समुदायका समस्या पहिचान गर्नुपर्ने र सोही अनुसार कार्यक्रम ल्याउनुपर्ने चित्रकुमारीको बुझाइ छ । उत्पादन र रोजगारीसँग प्रत्यक्ष जोडिन नपाउँदा महिला पछाडि परेको उनी बताउँछिन् । ‘त्यसैले महिला उत्थानका लागि निःशुल्क सिलाइकटाइ, बुनाइ लगायत तालिम दिएका छौँ,’ उनी भन्छिन्, ‘यस्ता तालिममा अन्य समुदायका महिला सहभागी भए पनि थारु समुदायका महिला कमै सहभागी भएका छन् । उनीहरूका लागि अझै धेरै गर्न बाँकी छ।’
आफू जनप्रतिनिधि हुनुअघि र अहिले महिलामा धेरै नै परिवर्तन भएको उनको अनुभव छ । ‘पहिले बोल्न लजाउने थारु तथा जनजाति महिला नगरपालिकाका विभिन्न कार्यक्रममा सहभागी हुँदा बोल्न सक्ने भएको पाएकी छु,’ उनी भन्छिन्, ‘के कस्ता योजना ल्याउँदा जीवनस्तर उकास्न सकिन्छ भनेर मैले उहाँहरूसँग छलफल गर्छु । आफूले नबुझेका कुरा उहाँहरूबाट बुझ्छु । आफूले बुझेका कुरा बुझाउँछु।’
मुक्त कमैया तथा पूर्व कमलहरीको उत्थानका लागि महिलाको समूह गठन गरिएको पनि उनी बताउँछिन् । ‘त्यस्ता समूहका धेरैजसो महिलाको बिहे भइसकेको छ । बाँकी रहेका महिलाको राहतका लागि नगरपालिकाले पछिल्लो वर्ष डेढ लाख छुट्ट्याएको छ,’ चौधरी भन्छिन्, ‘छुट्ट्याइएको बजेटबाट के गर्न चाहनुहुन्छ भनी हामीले उहाँहरूलाई सोधेका थियौँ । उहाँहरूले सिलाइकटाइ सिक्ने इच्छा राख्नुभयो । पढ्न चाहने कमलहरी समूहका महिलालाई पढ्नका लागि सहयोग गरेका छौँ । यसका लागि नगरपालिकामा निवेदन दिनुपर्छ।’
उनी उपप्रमुख भइसकेपछि न्यायिक समितिमा अहिलेसम्म १५ वटा महिला हिंसासम्बन्धी उजुरी दर्ता भएका छन् । तीमध्ये तीन उजुरी अझै निर्णय प्रक्रियामा रहेको उनको भनाइ छ । ‘कुटपिटका मुद्दा आए इलाका प्रहरी कार्यालय पठाउँछौँ,’ उनले भनिन् । उनका अनुसार, न्यायिक समितिमा विशेषगरी जग्गा सिमाना मिचेका विषयका उजुरी बढी आउँछन्।
चित्रकुमारी कृषक परिवारमा हुर्केकी हुन् । उनका बुवाको ६ बिघा जमिन थियो । उनी सानैदेखि खेतीपातीमा अभ्यस्त भइन् । आफ्नो क्षेत्रका कृषकको उत्थान नहुने हो भने समाजको विकास नहुने ज्ञान उनलाई छ । अहिले बेलौरी नगरपालिकाले सबैभन्दा बढी बजेट (१ करोड) कृषिमा छुट्ट्याएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘कृषकलाई प्रोत्साहन गर्नका लागि पकेट क्षेत्रमा नगरपालिकाले कृषि औजार लगायत धान, गहुँ, तरकारी बीउविजन आदि वितरण गर्दै आएको छ।’
त्यस्तै, चारपटक स्वास्थ्य जाँच गरेका गर्भवती महिलाको पोषणका लागि नगरपालिकाले अन्डा र सुत्केरीभत्ता समेत दिँदै आएको उनी बताउँछिन्।
विकासको आधार सडक भएकाले अहिले ग्राभेल राखी नगरपालिकालाई हिलोमुक्त गरिसकेको र अर्को वर्ष पिच गर्ने आधार बनाएको उनको भनाइ छ।