नेपाल आइडलकाे होस्टबाट बिदा हुँदै आसिफ शाह
काठमाडाैं, फागुन ९ : सिंगिङ रियालिटी सो नेपाल आइडलका होस्ट आसिफ शाहले नेपाल आइडलको यात्रालाई टुंग्याउने भएका छन्। अर्थात् नेपाल आइडलको आगामी सिजनमा...
काठमाडाैं, फागुन ९ : सिंगिङ रियालिटी सो नेपाल आइडलका होस्ट आसिफ शाहले याे सिजनबाट त्यसकाे यात्रा टुंग्याउने भएका छन्। अर्थात् नेपाल आइडलको आगामी सिजनमा उनी होस्टका रूपमा रहनेछैनन्।
आज (सोमबार) सामाजिक सञ्जालमार्फत उनले यतिखेर सञ्चालन भइरहेको सिजन-४ सम्म मात्र आफ्नो यात्रा जारी रहने र आफ्नो बाँकी यात्रालाई यादगार बनाउने कोसिसमा रहेको बताएका छन्।
‘हरेक यात्रा जतिसुकै रोचक किन नहोस्, अन्त्य अवश्य हुन्छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘नेपाल आइडलको मेरो यात्रा पनि अब यही सिजनसम्मको छ। यसलाई सकेसम्म यादगार बनाउने कोसिसमा छु।'
उनी सिजन २ देखि होस्टका रूपमा नेपाल आइडलसँग जोडिएका हुन्। उनको ‘विनोदप्रिय’ प्रस्तुतिलाई दर्शकहरूले खुबै रुचाएका पनि छन्।
उनले सिजन-२ मा रिमा विश्वकर्मा, ३ मा माम्पी घोषसँग मिलेर आइडलमा होस्ट गरेका थिए। अहिले उनी रेश्मा घिमिरेसँग जाेडी बाँधेर सिजन–४ मा रमाइरहेका छन्।












