Kathmandu Press

टोपलालले घरमै बसेर मोबाइल एपबाट केराखेतीमा मलजल गर्छन्

थापाले पाँच धुर जमिनमा ‘टिसु कल्चर प्रविधि’ (केराको बीउबाट बिरुवा उत्पादन गर्ने) बाट नर्सरी र पाँच बिघा जमिनमा केराखेती सुरु गरेका थिए । अहिले १९ बिघा जमिन भाडामा लिएर व्यावसायिक रूपमा केराखेती गरिरहेका छन् । त्यसमध्ये एक बिघामा डिजिटल प्रविधि र चार बिघामा थोपा सिँचाइ प्रविधि जडान गरेका छन् ।
टोपलालले घरमै बसेर मोबाइल एपबाट केराखेतीमा मलजल गर्छन्

काठमाडौं, फागुन ४ : टोपलाल थापाले बर्दिया जिल्लाको गुलरिया नगरपालिका– ४ तुरुन्तपुरमा व्यावसायिक रूपमा केराखेती गरिरहेका छन् । उनको घर केराखेती गरिरहेको स्थानभन्दा चार किलोमिटर पर वडा– ४ कै सुहेलवामा पर्छ । तर, उनलाई गत असारदेखि मलजल गर्नका लागि पटक–पटक खेतमा धाइरहनुपरेको छैन । 

उनले थोपा सिँचाइ प्रविधि (पाइपका माध्यमबाट प्रत्येक बिरुवामा थोपा थोपा जल तथा घुलनशील पदार्थ पठाउने प्रविधि) मा ‘रेन बर्ड’ नामको डिजिटल डिभाइस पनि जडान गरेका छन्। ‘डिभाइसको मोबाइल एप पनि छ । त्यसमा समय (टाइम सेट) मिलाएपछि सोहीबमोजिम घरमै बसेर खेतीमा मलजल वितरण गर्न सकिन्छ,’ थापा भन्छन्, ‘यो प्रविधि जडान गरेपछि इन्टरनेट र बिजुली आवश्यक हुन्छ । थोपा सिँचाइ प्रविधि मात्र हुँदा मलजलका लागि मेसिन अन–अफ गरिरहनुपर्थ्याे ।’ 

व्यावसायिक रूपमा खेती गर्नका लागि डिजिटल प्रविधि सुविधाजनक भएको थापा बताउँछन् । उनका अनुसार, यो प्रविधिबाट खेतीलाई सही समयमा मलजल गर्न सकिन्छ । 

Hardik ivf

एक दशक (०६९ साल) देखि व्यावसायिक रूपमा केराको बिरुवा र केराखेती गरिरहेका थापालाई गत असारदेखि ‘एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय’ बर्दियाले डिजिटल प्रविधि जडान गरिदिएको हो । यो प्रविधि परीक्षणका लागि थापालाई मात्र एक बिघा क्षेत्रफलमा जडान गरिदिएको कार्यालय प्रमुख विनोद घिमिरे बताउँछन् । ‘यसका लागि पाँच लाख रूपैयाँ खर्च लागेको छ । यो प्रभावकारी भएमा थापालाई थप र अन्य कृषकलाई पनि प्रोत्साहन गर्न जडान गर्दै जानेछौँ,’ प्रमुख घिमिरे भन्छन्, ‘डिजिटल प्रविधिबाट पनि खेती गर्न सकिन्छ भन्ने सोच ल्याउन खोजेका हौँ ।’ 

यो डिजिटल प्रविधि ‘नेपाल थोपा सिँचाइ प्रालि’ले शुल्क लिएर जडान गरिदिएको हो । प्रालिका अध्यक्ष खोजराज कटुवाल भन्छन्, ‘अन्य देशमा डिजिटल प्रविधिबाटै उत्पादन गरिन्छ, त्यसैले कम ठाउँमा धेरै उत्पादन हुन्छ । नेपालमा पनि डिजिटल प्रविधि भित्र्याउन खोजेका हौँ ।’

खोजराजले इजरायलमा सिकेको थोपा सिँचाइ प्रविधिलाई नेपालमा विस्तार गर्दै आएका छन् । 

यो पनि पढ्नुस् 

खोजराजले इजरायलमा सिकेको थोपा सिँचाइ प्रविधि : जब निरन्तर एक वर्षसम्म गोलभेडा फल्यो

पाँच बिघामा प्रविधि, १४ बिघामा जनशक्ति 

थापाले पाँच धुर जमिनमा ‘टिसु कल्चर प्रविधि’ (केराको बीउबाट बिरुवा उत्पादन गर्ने) बाट नर्सरी र पाँच बिघा जमिनमा केराखेती सुरु गरेका थिए । अहिले १९ बिघा जमिन भाडामा लिएर व्यावसायिक रूपमा केराखेती गरिरहेका छन् । 

त्यसमध्ये एक बिघामा डिजिटल प्रविधि र चार बिघामा थोपा सिँचाइ प्रविधि जडान गरेका छन् । बाँकी १४ बिघामा भने साधारण तरिकाले केरा उत्पादन गरिरहेको उनको भनाइ छ ।

डिजिटल प्रविधि र थोपा सिँचाइ प्रविधि जडान गरेको पाँच बिघामा खेती गर्न कम जनशक्ति भए पनि पुग्छ । १४ बिघामा लगाएका केराका बोटले पानी र मल एकै समयमा नपाउने थापाले बताए । ‘समयमा मलजल गरेको बिरुवा र राम्रो स्याहार नपाएको बिरुवाबाट उत्पादनमा पनि फरक हुन्छ,’ उनी भन्छन्, ‘सबै डिजिटल प्रविधि तथा थोपा सिँचाइ प्रविधि जडान गर्न बजेट धेरै लाग्छ, त्यसैले जडान गर्न सकेको छैन ।’

अहिले आफूले १२ कर्मचारी राखेको उनी बताउँछन् । त्यसमाथि उनका परिवारका सदस्य पनि खटिरहेका छन् । उनको केराखेती हेर्न र बुझ्न विभिन्न ठाउँबाट दैनिक ५–६ जना कृषक आउने गर्छन् । 

आम्दानी

पहिलो वर्ष (०६९ मा) थापाले दुई लाख रूपैयाँ लगानीमा सात हजार केराको बिरुवा उत्पादन गरेका थिए । थापाका अनुसार, त्यतिबेला एउटा बिरुवा २५ देखि ३० रूपैयाँमा बिकेको थियो । अहिले एउटा बिरुवाको ४० रूपैयाँ पर्छ भने एकपटकमा एक लाख बिरुवा उत्पादन हुन्छ । त्यस्तै, एक बिघामा १२ सयदेखि १५ सय बिरुवा रोप्न सकिन्छ । 

अहिले उनले कतै–कतै एक बिघामा २५ सय बिरुवा रोप्न थालेका छन् । ‘दायाँ–बायाँ ६ फुट छाडेर केराको बिरुवा रोप्दा उपयुक्त मानिन्छ,’ उनी भन्छन्, ‘अहिले अरुले पाँच फुटको फरकमा पनि केराको बिरुवा रोपेर उत्पादन गर्न थालिसकेका छन् ।’

‘केराको बिउ र केरा उत्पादन दुवै व्यवसाय गरेर मासिक एक करोड बराबरको वार्षिक कारोबार हुन्छ,’ उनले भने, ‘वार्षिक कारोबारको ३० देखि ४० प्रतिशत नाफा बस्छ ।’ अहिले उनले प्रतिबिघा वार्षिक ५० हजार रूपैयाँ भाडा बुझाउनुपर्छ ।

सोचको सम्मान तर बजार अभाव

टोपलाल ०६४ मा रोजगारीका लागि कतार पुगेका थिए । इन्जिनियरिङ पढेर गएका उनले त्यहाँ इलेक्ट्रोनिक क्षेत्रमा काम पाए । तीन वर्ष काम गरेपछि उनी बिरामी परे । छुट्टी लिएर घर आएका थिए, उपचार गर्ने क्रममा छुट्टीको समय घर्कियो ।

‘घरपरिवार र आफन्तले पनि इजिनियरिङ पढेको मान्छे स्वदेशमै केही काम नगरी किन विदेश जान्छस् भन्न थाले,’ थापा भन्छन्, ‘त्यसपछि केही समय बर्दियाका विभिन्न संघ–संस्थामा जागिर गरेँ ।’

जागिरको सिलसिलामै उनलाई केही नयाँ व्यवसाय गर्ने सोच आयो । कसैले नगरेको काम के गर्ने भनी सोच्दै जाँदा उपाय सुल्झ्यो– केराको बीउ उत्पादन गर्ने । 

पाँच धुर जग्गाबाट नर्सरी सुरु गरेका थापाले अहिले नर्सरीको स्टक्चरका लागि मात्र ५० लाख जति लगानी गरेको बताउँछन् । 

०७५ सालमा उनले पहिलोपल्ट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट एक लाख नगद पुरस्कारसहित सम्मानपत्र पाए, वैदेशिक रोजगारीबाट फर्केर व्यवसाय गरेको भनी । अर्को वर्ष ०७६ मा युवा तथा खेलकुद मन्त्रालयले पनि उनलाई एक लाख नगद पुरस्कारसहित सम्मानपत्र दियो, युवापुस्तालाई कृषि क्षेत्रमा प्रोत्साहन गरेको भनी । 

‘सरकारले कृषि तथा उद्यममा लागेकालाई प्रोत्साहन स्वरूप पुरस्कार र सम्मान दिन्छ । तर, उत्पादनपछि बजार व्यवस्थापनका लागि चासो दिँदैन,’ थापा गुनासो पोख्छन्, ‘वर्षमा एकपटक केरा उत्पादन हुन्छ, तर सस्तो दरमा भारतीय केरा भित्रिँदा नेपाली उत्पादनले बजार पाउँदैन । भारतीयभन्दा राम्रो उत्पादन हाम्रै हुन्छ, सरकारले यसमा पहल गरेन ।’ 

हरेक वर्ष कृषि मन्त्रालयमा पुगी बजार सहज बनाइदिन आग्रह गरिरहेको पनि उनी बताउँछन् । ‘कृषि क्षेत्रमा सरकारको सहयोग छ । कृषि कार्यालयबाट अलि–अलि अनुदान पनि पाइन्छ,’ थापा भन्छन्, ‘तर बिक्रीका लागि बजार पाइँदैन ।’ बिक्रीमा सरकारले सहयोग गरे अझ उत्पादन बढाउने सोचमा उनी छन् ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेल कृषि उत्पादनको बजार व्यवस्थापनका लागि ‘कृषि व्यवसाय प्रवद्र्धन ऐन’को मस्यौदा तयार भइरहेको बताउँछन् । ‘ऐन नबन्दा बजार व्यवस्थापन र मूल्य निर्धारणमा समस्या भएको हो,’ उनी भन्छन्, ‘बजार हेर्ने तथा गाइड गर्ने ऐन हामीसँग छैन, हामी अहिले ऐन बनाउने पहल गरिरहेका छौँ ।’ 

प्रविधिभन्दा क्षतिपूर्ति आवश्यक : वडाध्यक्ष

गुलरिया नगरपालिका– ४ का वडाध्यक्ष रामबहादुर रावल आफ्नो वडामा थोपा सिँचाइ प्रविधि जडान गर्ने कृषक टोपलाल थापा मात्र भएको बताउँछन् । 

थोपा सिँचाइप्रति कृषक आकर्षित रहेको तर महँगो पर्ने हुँदा धेरै कृषकले प्रयोग गर्न नसकेको उनको भनाइ छ । 

प्रविधि जडानभन्दा पनि कृषकलाई संरक्षण गर्नका प्राकृतिक विपत्बाट हुने बालीको क्षतिमा भरपाइस्वरूप रकम दिने व्यवस्था गर्न सके कृषक लाभान्वित हुने उनको अनुभव छ । ‘यता हावाहुरी, असिना, बाढी–पहिरोका कारण बाली धेरै नष्ट गर्छ,’ वडाध्यक्ष रावल भन्छन्, ‘कृषि गरिरहेका किसानलाई कृषि गरिराख्नका लागि भरपाइको व्यवस्था गर्न अति आवश्यक छ । त्यसैले प्रविधिमा जोड दिएका छैनौँ ।’
 

प्रकाशित मिति: १२:१९ बजे, बुधबार, फागुन ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्