खोजराजले इजरायलमा सिकेको थोपा सिँचाइ प्रविधि : जब निरन्तर एक वर्षसम्म गोलभेडा फल्यो
एक रोपनी क्षेत्रफलमा थोपा सिँचाइ प्रविधि जडान गर्नका लागि १५ देखि २० हजार रुपैयाँ लगानी गरे पुग्छ। एकपटक जडान गरेपछि १५ वर्षसम्म काम गर्छ।काठमाडाैं, माघ २७ : कृषि उत्पादन बढी तर पानी कम प्रयोग हुने प्रविधि। अर्थात् बिरुवाको फेदमै पानीको थोपा चुहाएर गरिने सिँचाइ प्रविधि– खोजराज कटुवालले साउदीमा देखेका थिए।
पछि जब उनी रोजगारीकै लागि इजरायल पुगे, त्यहाँ यही प्रविधिबाट कृषि गरिने ठाउँमा उनको जागिर थियो। साढे ६ वर्ष इजरायल बसेर उनले यो प्रविधि सिके। नेपाल फर्केपछि आफूसहित १२ जना मिलेर ०६६ सालमा ‘नेपाल थोपा सिँचाइ प्रालि’ खोले। काठमाडौंको कलकीमा रहेको यस प्रालिको अध्यक्षमा कटुवाल नै छन्। यस प्रालिले शुल्क लिएर कृषकलाई थोपा सिँचाइ प्रविधि जडान गरिदिन्छ।
‘पाँच–पाँच लाख रुपैयाँ लगानीमा हामीले यो व्यवसाय सुरु गरेका थियौँ। अहिलेसम्म हामीले एक लाख कृषकलाई यो प्रविधि जडान गरिदिइसकेका छौँ,’ अध्यक्ष कटुवाल भन्छन्, ‘एकपटक प्रविधि जडान गरेपछि १०–१५ वर्षसम्म चल्छ।’
के हो थोपा सिँचाइ प्रविधि ?
थोपा सिँचाइ प्रविधि (ड्रिप इरिगेसन टेक्नोलोजी), जसमा बिरुवाको फेदमै थोपाथोपा पानी पाइपमार्फत चुहाइन्छ। विशेषगरी एउटै रेखा र केही दूरीमा लगाइने खेतीमा यो प्रविधि जडान गरिन्छ।

यस प्रविधि जडान गरेपछि कम स्रोत–साधनबाटै धेरै उत्पादन गर्न सकिने अध्यक्ष कटुवाल बताउँछन्। ‘यसमा पोलिट्युबका माध्यमबाट हरेक बिरुवाको जराजरामा आवश्यक मात्रामा समान रूपले पानी, जैविक तत्त्व तथा घुलनशील खाद्य पदार्थ पु¥याइन्छ,’ अध्यक्ष कटुवाल भन्छन्, ‘समान रूपमा मलजल हुँदा एकनासले बोटबिरुवाको वृद्धि विकास हुन्छ। अनावश्यक पानी खर्च हुँदैन। समान सिँचाइको काम प्रविधिले गर्छ।’
यो प्रविधि जडान गर्न पानीको स्रोत, पम्प, वाटर फिल्टर, रेगुलेटर वा दबाब नियन्त्रण गर्ने भल्ब, हाइड्रोलिक ब्रेक, पाइप लगायत सामान आवश्यक पर्छ।
‘थोपा सिँचाइ प्रविधि जडान गरेपछि कम जनशक्तिबाटै लामो समय उत्पादन गर्न सकिन्छ,’ उनी भन्छन्।
इजरायलमा सिकेको सीप
६ वैशाख २०२८ मा धरानमा जन्मिएका खोजराज ०४५ मा नेपाली सेनामा भर्ती भएका थिए। नौ वर्ष सेवा गरेपछि घरायसी समस्याका कारण सेनाको जागिर छाड्नुप¥यो। त्यसपछि उनी रोजगारीका लागि साउदी पुगे। साउदीमा पाँच वर्ष बिताएर फर्के। त्यसपछि पनि रोजगारीकै लागि दुबई पुगे र एक वर्ष काम गरेर फर्के। अझै उनलाई विदेशको कमाइले पुगेन। अन्तिमपटक भने उनी रोजगारीकै लागि उनी इजरायल पुगे, श्रीमती सरितालाई पनि लिएर। त्यहाँ उनीहरूले साढे ६ वर्ष कृषिसम्बन्धी काम गरे।
इजरायलमा थोपा सिँचाइ प्रविधिमै खेती गरिन्छ। त्यहाँ उनले एक व्यक्तिले प्रविधि जडान गरेर धेरै क्षेत्रफलमा खेती गरेको देखे। उत्पादन पनि बढी भएको थियो।
त्यहाँ डिजिटल प्रविधिबाट कृषिमा काम गरेको सम्मानपत्र समेत उनले पाए। ‘इजरायलमा कृषि क्षेत्रमा काम गर्ने नेपाली, विदेशको सीप स्वदेशमा लगानी नारासहित म नेपाल फर्केको हुँ,’ कटुवाल भन्छन्।
जब निरन्तर एक वर्षसम्म गोलभेडा फल्यो
विभिन्न कामका सिलसिलामा अध्यक्ष कटुवालको भेट कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग भएको थियो। ‘मदनकृष्ण र हरिवंशको बालाजुभन्दा माथि जितुफेदीमा जग्गा रहेछ। हामीले ०६६ सालदेखि त्यहाँको जग्गा भाडामा लियौँ। त्यहाँ लगभग २० रोपनी थियो, हामीले १२–१५ रोपनी मात्र प्रयोग ग¥यौँ,’ उनी भन्छन्, ‘वार्षिक रूपमा दुई लाख रुपैयाँ जग्गा भाडा तिर्नुपर्थ्याे।’
त्यहाँ उनीहरूले पहिलोपल्ट थोपा सिँचाइ प्रविधिबाट गोलभेडा खेती गरेका थिए। गोलभेडा एक वर्षसम्म निरन्तर फल्यो। यो देखेपछि वरपरका कृषकले चासो देखाए। उत्पादन धेरै भएको देखेपछि कृषक र अन्य व्यवसायी समेत यो प्रविधिका बारेमा बुझ्न आउन थाले। यसरी थोपा सिँचाइ प्रविधिको प्रचार–प्रसार हुँदै गयो।
जितुफेदीमा उनीहरूले ०७६ सम्म विभिन्न तरकारी उत्पादन गरे। जग्गा बाँडफाँड गर्नुपर्र्ने भएपछि उक्त स्थानको जग्गा छाड्नुपरेको उनी बताउँछन्। ‘अहिले देशभर चार–पाँच स्थानमा ठूलो क्षेत्रफलमा थोपा सिँचाइ प्रविधि जडान गरी फलफूल र तरकारी उत्पादन गरिरहेका छौँ,’ उनले भने।
जडान खर्च
कटुवालका अनुसार, एक रोपनी क्षेत्रफलमा थोपा सिँचाइ प्रविधि जडान गर्नका लागि १५ देखि २० हजार रुपैयाँ लगानी गरे पुग्छ। एकपटक जडान गरेपछि १५ वर्षसम्म काम गर्छ।
अहिले धेरै कृषक थोपा सिँचाइ प्रविधि सिकाइदिनुप¥यो भन्दै कार्यालय आउने गरेको उनी सुनाउँछन्। ‘कृषकले जहाँ बोलाए पनि जडान गरिदिने गरेका छौँ,’ उनी भन्छन्।

कृषकको माग बढेसँगै केही जिल्लामा थोपा सिँचाइ प्रविधि जडान गर्ने सामानको डिलर समेत राखेको उनी बताउँछन्। ‘हाम्रो प्रालिसँग सहकार्य गरेर जुनसुकै व्यवसायीले यसका डिलर खोल्न सक्छन्,’ उनले भने, ‘कृषकले सहजै जडान गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो, तर सबै जिल्लामा डिलर छैनन्।’
उनका अनुसार, अहिले ७७ वटै जिल्लामा थोपा सिचाइ प्रविधि पुगेको छ। थोपा सिँचाइ प्रालिले हाल एक लाखभन्दा बढी कृषकलाई प्रविधि जडान गरिदिएको छ। आफूले जडान गरिदिएका कृषकबाट सिकेर अन्य ५–६ लाख कृषकले समेत यस प्रविधि जडान गरेको कटुवालको भनाइ छ।
‘१५ रोपनीबाट सुरु गरिएको प्रविधिमा अहिले ठूला व्यवसायी जोडिएका छन्,’ उनले भने, ‘६–७ सय रोपनी जग्गामा प्रविधि जडान गरेर एग्रो मनाङले फलफूल उत्पादन गरिरहेको छ।’












-(86)-1764936079.jpg)