पहिलो टी-२० सिरिज जित्दै नेपालले रच्यो इतिहास
काठमाडौं, माघ २० : नेपालले पहिलो टी-२० सिरिज जितेर इतिहास रचेको छ । वर्षाका कारण १० ओभरको खेलमा सिमित गरिएको नेपाल र यूएईबीचको आज भएको तेस्रो टी-२० खे....

काठमाडौं, माघ २० : नेपालले पहिलो टी-२० सिरिज जितेर इतिहास रचेको छ । वर्षाका कारण १० ओभरको खेलमा सिमित गरिएको नेपाल र यूएईबीचको आज भएको तेस्रो टी-२० खेलमा नेपालले यूएईलाई १४ रनले हराएर तीन खेलको सिरिज २-१ ले जितेको हो ।
नेपालले पहिले ब्याटिंग गर्दै ७ विकेट गुमाएर १०४ रन बनाएकोमा जवाफी ब्याटिंग गर्न उत्रेको यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।
नेपालको तर्फबाट करण केसी र आशिष बोहराले २-२ विकेट लिए भने सन्दिप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए । यूएईका शाइमन अनवरले ३० र गुलाम शब्बरले २५ रन बनाए भने बाँकि खेलाडीले खासै खेल्न सकेनन ।
टी-२० शृंखलाअन्तर्गतको अन्तिम खेल दिउँसो २ः४५ बजे दुबईमा शुरु हुने भनिएको खेल ढिलो गरि शुरु भएको थियो । पहिलो खेल यूएईले र दोस्रो खेल नेपालले जितेको थियो ।
आजको खेलमा पवन सराफ शून्य मै आउट भए भने कप्तान पारस खड्काले २९ रन बनाएर नेपालको इनिंग सम्हाल्ने प्रयत्न गरे । तर, अन्य ब्याट्समेनले राम्रो खेल्न नसक्दा नेपालको स्थिति धर्मरायो ।
५४ रनमा ज्ञानेन्द्र मल्ल र दिलिप सिंह ऐरीसहित ४ विकेट गुमाएपछि क्रिजमा आएका युवा सन्दिप जोराले २८ रन बनाउँदा केहि हदसम्म भए पनि नेपालको स्थिति सुध्रिएको थियो ।
सन्दिप आउट भएपछि खेल्न आएका बिनोद भण्डारीले २१ रन बनाए भने करण केसीले १० रन मात्र बनाउन सके ।
यूएईको तर्फबाट कप्तान मोहम्मद नबिद र सुल्तान अहमदले २-२ विकेट लिएका छन् ।
पहिलो खेलमा यूएईले २१ रनले पराजित गरेको थियो । दोस्रो खेलमा भने नेपालले चार विकेटले जितेको थियो ।
नेपालले अहिलेसम्म टी-२० शृंखला जितेको थिएन । नेपालले खेलेका दुई अन्तर्राष्ट्रिय शृंखलामा हङकङ र नेदरल्यान्डसँग हारेको थियो ।
पाँच खेलको शृंखलामा चार खेल वर्षाले रद्द हुँदा अन्तिम खेल हङकङले जितको थियो । त्यस्तै, नेदरल्यान्डसँग पनि शृंखला गुमाएको थियो । चार खेलको शृंखलामा ३-१ ले हारेको थियो ।











