चेल्त्यारको चहलपहलः सुदूर–पश्चिममा छोरीचेली भेट्न जानेको लर्को
बाजुरा, माघ २१ : अछाम जिल्लाको मेल्लेख गाउँपालिका– ६ की ४० वर्षीया अमनी रोकाया केही दिनअघि झिस्मिसे उज्यालोमै बाजुरातिर लागिन् । उनले अघिल्लो रा....
बाजुरा, माघ २१ : अछाम जिल्लाको मेल्लेख गाउँपालिका– ६ की ४० वर्षीया अमनी रोकाया केही दिनअघि झिस्मिसे उज्यालोमै बाजुरातिर लागिन् । उनले अघिल्लो राति नै सेलरोटी पकाएकी थिइन् । घ्यूमा तारेको मासु र अन्य परिकारहरू पनि हरियो पातमा पोका पारी झोलामा हालेकी थिइन् ।
पिठ्यूँमा एक झोला कोसेली र हातमा घ्यूको डब्बा बोकेर अमनी बाजुराको बाह्रबिस डुग्रितला गाउँतिर लागिन्, जहाँ उनकी छोरी रम्भा बस्छिन् । रम्भाका छोराछोरी सानै छन् । यसैले, उनी यसपालि माघे सङ्क्रान्तिमा माइत जान पाइनन् । चाँडमा माइत नआएकी छोरीलाई भेट्न अमनी आफै बाजुरा पुगिन् ।
बाजुराको रिठा बजारमा भेटिएकी अमनीसँगै थिइन्, कलुदेवी खड्का । कलुदेवीकी छोरी पनि यसपालि माघे सङ्क्रान्तिमा घर आउन पाइनन् । यसैले, उनी पनि सेलरोटी र अन्य परिकारको कोसेली बोकी छोरी–ज्वाइँको घरतिर लागिन् ।
अहिले सुदूरपश्चिममा चेल्त्यारको चहलपहल छ । माघे सङ्क्रान्तिबाट सुरु हुने यो तिहार माघ महिनाभरि मनाइन्छ । यो महिनाभर सुदूर–पश्चिममा जतातै कोसेलीपात बोकेर छोरी–ज्वाइँको घर गइरहेका आमाहरू भेटिइन्छन् । माघे सङ्क्रान्तिमा माइत आउन नपाएका छोरीचेली भेट्न आमा–माइतीहरू छोरीकै घर पुग्छन् । पराई घर गएका चेलीलाई वर्ष दिनमा एक पटक पनि माइत आउँन नपाउँदा न्यास्रो लाग्ने भएकाले माघ महिनाभर कोसेली बोकेर भेट्न जाने चलन नै चेल्त्यार (चेलीतिहार) हो ।
बिहे गरेर कर्म घर गएको छोरीचेलीलाई माइतबाट कोसेलीको रुपमा सेलरोटी, पुरी र तेलमा पकाएको खानेकुरा हरियो पातमा दिने चलन छ । यो बेला माइतमा आफन्त नभएका दिदीबहिनीहरूलाई पनि काका, ठुलाबुबालगायत नाता पर्नेहरुले कोसेली लगिदिने गर्छन् ।
माघलाई धर्मी महिना मानिन्छ । यो महिनाभर सुदूर पश्चिममा माइतीले चेलीलाई गच्छेअनुसार दक्षिणा र लुगाकपडा दिने चलन रहेको पण्डित देवलाल उपाध्याय बताउँछन् ।
स्वस्थानी व्रत कथा सुरु हुने यो महिनामा छोरीचेलीलाई मिठोमसिनो खुवाए पुण्य कमाइन्छ भन्ने धार्मिक विश्वासका आधारमा कोसेली दिने गरेको उनले बताए ।
बैतडी, दार्चुला र डडेल्धुरामा भने चेल्त्यार चैत महिनासम्मै मनाइने गरिन्छ । अछाम, बझाङ, बाजुरा, डोटी र कैलालीमा माघ महिनामा यो तिहार मनाउने गरिन्छ । माइतमा कोही नहुने चेलीबेटीहरू चाहिँ चेल्त्यारमा विरहका गीत गाउँछन्ः
घर लाँया सेतीका छाल पाखा दतारी नाइ
नआए माघिका त्यार, घर मतारी नाइ