अग्रता जोगाउन नसक्दा युभेन्ट्स बराबरीमा रोकियो
काठमाडौं, असोज २ : दुई गोलको अग्रता जोगाउन नसक्दा च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा इटालियन क्लब युभेन्ट्स बराबरीमा रोकिएको छ।

काठमाडौं, असोज २ : दुई गोलको अग्रता जोगाउन नसक्दा च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा इटालियन क्लब युभेन्ट्स बराबरीमा रोकिएको छ।
गएराति भएको खेलमा युभेन्ट्स स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग २–२ गोलको बराबरीमा रोकिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीले २–२ गोल गरेका थिए।
खेलको ४८ औं मिनेटमा जाउन काउडराडोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै, खेलको ६५ औं मिनेटमा बेल्से माटुडीले गोल गर्दै युभेन्ट्सलाई २–० को अग्रता दिलाएका थिए।
तर, युभेन्ट्सको त्यो अग्रता धेरै समय टिक्न सकेन। खेलको ७० औं मिनेटमा एथ्लेटिको मड्रिडका लागि स्टेफन साभिकले गोल गर्दै खेलको अन्तर २–१ को स्थितिमा झारे।
खेलको अन्तिम मिनेट सम्हालिन नसक्दा युभेन्ट्स बराबरीमा रोकिन बाध्य भयो। खेलको ९० औं मिनेटमा हेक्टर हेरेराले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याएका थिए।
बराबरीसँगै समूह ‘डी’ मा रहेका युभेन्ट्स र एथ्लेटिको मड्रिडले अंक बाँडे। समूह ‘डी’ कै अर्को खेलमा वायर लुभरकिसेनलाई हराएको लोकोमोटिक मस्को तीन अंकका साथ समूहको शीर्ष स्थानमा छ।











