Kathmandu Press

नयाँ भर्सनको ‘न बिर्से तिमीलाई...’ गीतमा आफ्नो नाम नराखेको भन्दै अन्जु पन्तको आपत्ति

काठमाडाैं, माघ २६ : गायिका अन्जु पन्तले आफूले ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई, बिनाअर्थ दिलमा सजाएँ तिमीलाई’ बाेलकाे गीत (गजल) रचना रिमालको स्वरमा नयाँ...
नयाँ भर्सनको ‘न बिर्से तिमीलाई...’ गीतमा आफ्नो नाम नराखेको भन्दै अन्जु पन्तको आपत्ति

काठमाडाैं, माघ २६ : गायिका अन्जु पन्तले आफूले गाएको ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई, बिनाअर्थ दिलमा सजाएँ तिमीलाई’ बाेलकाे गीत (गजल) अहिले रचना रिमालको नयाँ भर्सनमा आएकोमा आश्चर्य जनाउँदै त्यसमा ओरिजिनल गायकगायिकाको नाम उल्लेख नगरेको भन्दै आपत्ति जनाएकी छन्।

नेपालको सांगीतिक इतिहासमा सो गीत अति नै लोकप्रिय भई जनजनको मनमुटुमा बस्न सफल भएको बताउँदै उनले पछिल्लो भर्सनमा सुरुका गायकगागिकाको नाम नराखी आएकोमा उनले असन्तुष्टि जनाएकी हुन्। 

माघ २० गते किरण क्रिएसन नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको नयाँ भर्सनप्रति आज (बुधबार) प्रतिक्रिया जनाउँदै गायिका पन्तले फेसबुकमा लेखेकी छन्, ‘उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजिनल गायकगायिकाको नाम समेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजनिक हुनु चाँही दुखद र अन्यायपूर्ण कुरा हो।’      

Hardik ivf

उक्त गीतप्रति धेरै संगीतकर्मी, सञ्चारकर्मी तथा शुभचिन्तकले जिज्ञासा र चिन्ता व्यक्त गरेको उल्लेख गर्दै उनले आफू काम विशेषले विदेशमा भएका कारण तुरुन्तै प्रतिक्रिया जनाउन नसकिएको स्पष्ट पारेकी छन्। 

नौ वर्षअघि विपिन किरणको शब्द, महेश खड्काको संगीत, किरण कँडेलको एरेन्ज रहेको साथै शम्भु तन्डुकारले रेकर्डिङ र महेश्वर राजभण्डारीले मिक्सिङ गरेको सो गीतमा सुरुको आवाज गायिका अन्जु पन्तले दिएकी थिइन्। पछि मेल भर्सनमा भर्सनमा गायक जगदीश समालले पनि उक्त गीत गाएका थिए। 

नयाँ भर्सनमा आएको गीत गायिका पन्तलाई गाउने दिने सल्लाह भइरहँदा पनि पछि गायिका रिमालको स्वरमा आएपछि उनी आश्चर्यमा परेकी  हुन्।    

‘आजसम्म पनि उत्तिकै सर्वाधिक लोकप्रिय रहेको उक्त गजललाई नयाँ गायकगायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन त्यो विषयमा मेरो केही भन्नु छैन। केही समयअघि विपिन किरण भाइले यो गजलको नयाँ एरेन्जमा मेरो आवाजमा नै रि-रेकर्ड गर्ने भन्नुभएको थियो र सोहीअनुसार एरेन्जर महाराज थापाले गर्नुभएको नयाँ एरेन्ज मलाई पठाउनुभएको थियो र हामी समय अनुकूल मिलाएर पुनः रेकर्ड गर्ने योजनामा थियौ,’ उनले लेखेकी छन्, ‘यसैक्रममा उहाँले कभरका रुपमा किड्स भर्सन नयाँ भाइबहिनीलाई गाउन दिने कुरा मसँग सोध्नुभएको थियो र मैले खुसीसाथ हुन्छ भनेकी थिएँ।’ 

उनले अगाडि भनेकी छन्, ‘अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ। मेरी छोरीसमानकी रचना नानुलगायत सबै नवआगन्तुक कलाकारप्रति सधैं स्वागत, आशीर्वाद र धेरै माया छ र रहिरहनेछ।’ तर कुन उद्देश्यका लागि यस्तो भइरहेको आफूलाई थाहा नभएको धारणा राख्दै उनले त्यस्तो चलनले भोलिका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार भुलिने भन्दै चिन्ता पनि व्यक्त गरेकी छन्। 

उनले  सम्बन्धित पक्षले त्यस्तो विषयलाई अनावश्यक विवाद र चर्चा गरिरहनुभन्दा दर्शकश्रोताको मागअनुसार समाधानको उपाय निकाल्ने आशा व्यक्त गरेकी छन्। ‘भविष्यमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभूति गर्ने दिन कहिल्यै नआओस्,’ उनले लेखेकी छन्। 

उनले फेसबुकमा राखेको स्टाटसलाई लिएर फरकफरक प्रतिक्रियाहरू आइरहेका छन्। ‘कभर गीत गाउनु स्वाभाविक हो तर ओरिजिनल गायकगायिकालाई अथवा ओरिजिनल टिमलाई सम्बोधन गरेर वा ओरिजिनल टिमलाई एकचोटि जानकारी गराउँदा अति उत्तम देखिन्छ,’ लक्ष्मण बिकेले कमेन्टमा भनेका छन्।

धर्मेन्द्र सुनारको प्रतिक्रिया छ, ‘हजुरजस्तो राम्रो गायिका पाउन हामीलाई गाह्रो छ। गीत आफैमा पहिले नै राम्रो थियो र रहिरहनेछ।
यो गजल गीत अरु जुन गायक गायिकाले गाउँदा पनि अगाडि नाम हजुरको नै आउने छ। १ प्रतिशत अरुले गाएको सुन्नेछन्न भने ९९ प्रतिशत हजुरकै आवाजमा सुन्नेछन्।’

‘आफ्नो आङको भैसी नदेख्ने अरूको शरीरको जुम्रा देख्ने तपाईले गुनासो गर्नुको तुक छैन। आफुले निकै रिमेक गीत नगाएझै गर्ने? पहिला आफु सुध्रिने गर्नु अनि मात्र अरूलाई दोष दिऊँ,’ राजन पराजुलीले लेखेका छन्, ‘आफुले रिमेक गाउदा वा अरूले आफ्नो गाउदा छ्या भन्नु गलत हो।’

अहिलेसम्म ४ लाख भन्दा बढी ‘भ्युअर्स’ बटुलेको उक्त गीतमा विभिन्न सुझावात्मक प्रतिक्रियाहरू आइरहेका छन्। खासगरी नयाँ भर्सनकी गायिका रिमालको स्वरको प्रशंसासँगै विविध सुझावहरू दिइएका छन्। 

श्री कृष्ण नाम गरेका एक श्रेतादर्शकले गायिका रिमालले राम्रो गर्न खोज्दाखोज्दै के नपुगेको जस्तो भएको भनी गीतमा कमेन्ट गरेका छन्।  ‘म रचना नानुको फ्यान हुँ । तर यो गीत सुनेर मनमा लागेको कुरा भन्नू पर्दा अञ्जु पन्तजीले जति गहिराइमा डुबेर गाउनुभएको थियो त्यति गहिराईमा डुबेर गाउन नसकेको जस्तो लाग्यो,’ उनले लेखेका छन्, ‘नराम्रो भन्न खोजेको होइन, राम्रो छ । तर के नपुगेको के नपुगेको जस्तो चाहिँ भयो। मलाई मात्र येस्तो लागेको हो कि अरुलाई पनि?’

‘अन्जु पन्तको आवाजमा ब्लकबस्टर गीत एकदमै मिठो छ, रचना रिमालले पनि मिठो गाएकी छिन् बधाई तथा शुभकामना छ सम्पूर्ण परिवारमा,’ केडब्लु क्रिएसनले प्रतिक्रिया दिएको छ।

‘रचना रिमालको स्वरमा कुनै कमी छैन, नेपालमा यसै कारणले सबै पछि परेको छ हिजो हिट भएको गीत अरुको आवाजमा रिमेक आयो के भयो? मन्त्रीले पनि आफ्नो अवधि सकेपछि कुर्सी छाड्नु मान्दैन, त्यस्तै यहा संगीतमा पनि त्यो हुनुभएन,’ इमी ब्युटीको प्रतिक्रिया हो यो।

‘अन्जु पन्तको नाम कहि कतै नलिनुचाहिँ अन्याय नै हो। रचना बैनी लाई बधाई छ यति मीठो स्वरका लागि,’ नवीन क्षेत्रीले लेखेका छन्।

प्रकाशित मिति: १३:३३ बजे, बुधबार, माघ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्