दुङमेनले ल्याए कथासंग्रह ‘झुमा’
काठमाडैं, माघ २५ : साहित्यकार अर्जुन दुङमेनले नयाँ कथासंग्रह ‘झुमा’ पाठकमाझ ल्याएका छन्। साहित्यकार दुङमेनले वसन्तपञ्चमीका अवसरमा कथासंग्रह बजारमा ल्याएका हुन्।‘झुमा’मा एभिएसन, कुरुक्षेत्र, नाकाबन्दी,...
काठमाडैं, माघ २५ : गीतकार तथा कथाकार अर्जुन दुङमेनले नयाँ कथासंग्रह ‘झुमा’ पाठकमाझ ल्याएका छन्। गीतकार तथा कथाकार दुङमेनले वसन्तपञ्चमीका अवसरमा कथासंग्रह बजारमा ल्याएका हुन्।
‘झुमा’मा एभिएसन, कुरुक्षेत्र, नाकाबन्दी, दुखीलालको कथा, वृद्धप्रेमलगागयत १२ कथा समावेश छन्। कोरोना महामारीका कारण विमोचनको औपचारिक कार्यक्रम भने नगरिएको लेखक दुङमेनले बताए।
दुङमेनले कथासंग्रहमा प्रेम, वैवाहिक जीवनपछिको पारिवारिक दायित्व, सन्तानप्रति माया, राजनीतिप्रतिको गुनासो, सामाजिक यथार्थ, प्रेम पछिको वियोग, कोरोना सन्त्रास र यसको नकारात्मक प्रभाव लगायतका विषयलाई समेटेका छन् ।
झुमामा वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमका शुभकामना पनि छापिएको छ। साहित्यकार गौतमले झुमाले दुङमेनको सम्भावनाको ढोकालाई फराकिलो बनाएको उल्लेख गरेका छन्।
खोटाङ लिखुवापोखरीका दुङमेनको यो चौथो कृति हो। यसअघि उनका आधुनिक कप्युटर विज्ञान (२०६१), घुम्तीबीचका पर्खालहरु (कथा संग्रह, २०६९) र जीवन यात्रा (गीतिसंग्रह, २०७०) प्रकाशित छन्।
यस्तै, आमा (संस्मरण), जीवन यात्रा भाग–२ (गीति एल्बम), अफसोच (गजल संग्रह) दुङमेनका प्रकाशोन्मूख कृति हुन्।
११२ पृष्ठको झुमाको मूल्य ३ सय रुपैयाँ रहेकाे छ।












