क्रिकेट संघको चुनाव असोज दोस्रो साता
काठमाडौं, भदौ ३० : नेपाल क्रिकेट संघ (क्यान)को चुनाव असोज दोस्रो साता हुने भएको छ। सोमबार भएको छलफलपछि क्यानको चुनाव एक साता सार्ने सहमति भएको हो।
....
काठमाडौं, भदौ ३० : नेपाल क्रिकेट संघ (क्यान)को चुनाव असोज दोस्रो साता हुने भएको छ। सोमबार भएको छलफलपछि क्यानको चुनाव एक साता सार्ने सहमति भएको हो।
क्यानको विवाद समाधान गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का प्रतिनिधि र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बीच भएको छलफलपछि चुनाव सारिएको हो। अब क्यानको साधारणसभा असोज १० र ११ गते तोकिएको छ।
यस अघि आईसीसीले तोकेको टोलीले असोज ३ र ४ गते विशेष साधारणसभा गर्ने तया गरेको थियो। त्यसको तयारी सुरू भएको थियो।
तर, राखेपले रोक्न निर्देशन दिएको थियो। अनुमति नलिइ साधारणसभा गर्न लागेको भन्दै राखेप सदस्य सचिव रमेश सिलवालले रोक्न निर्देशन दिएका थिए। जसले गर्दा विवाद उत्पन्न भएको थियो।
राखेपकै हस्तक्षेपका कारण क्यान अप्ठ्यारोमा पर्दै आएको छ। सरकारले हस्तक्षेप गरेको जनाउदै आईसीसीले क्यान निलम्बन गरेको छ। यो पटक पनि विवाद नमिले झन समस्यामा पर्नेछ।











