न्यूयोर्कमा बसन्त चौधरीको काव्य यात्रा
न्यूयोर्क, भदौ २८ : कवि तथा गीतकार बसन्त चौधरीले विश्व काव्य यात्राको दोस्रो शृंखला अन्तर्गत अमेरिकाको न्यूयोर्कमा आफ्ना उत्कृष्ट कविता बाचन गरेक....

न्यूयोर्क, भदौ २८ : कवि तथा गीतकार बसन्त चौधरीले विश्व काव्य यात्राको दोस्रो शृंखला अन्तर्गत अमेरिकाको न्यूयोर्कमा आफ्ना उत्कृष्ट कविता बाचन गरेका छन्।
ज्याक्सन हाइट्समा भएको कार्यक्रममा नेपालीहरुसँगै विभिन्न देशका साहित्यप्रेमीको सहभागिता रहेको थियो। अमेरिका नेपाल साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरले आयोजना गरेको कार्यक्रममा चौधरीले झण्डै एक घण्टा आफ्नो कविता, गीत, गजल र मुक्तकमा मन्त्रमुग्ध बनाएका थिए।
कार्यक्रममा उनले नेपाली मात्र नभई हिन्दी तथा अंग्रेजी कविता र गीतहरु समेत पस्किएका थिए। कार्यक्रममा चौधरीको कविता संग्रह ‘बसन्त’ को लोकार्पण पनि गरिएको थियो। कविता संग्रह ‘बसन्त’को हिन्दी, मैथिली, मारवाडी, नेपालभाषा, बंगाली, अंग्रेजी आदि गरी ९ वटा भाषामा प्रकाशित गरिएको छ।
विश्व काव्य शृंखलामार्फत संसारभर नेपाली साहित्य र नेपाल चिनाउनका लागि उनको योगदानको कदर गर्दै न्यूयोर्क सिटीका तर्फबाट प्रमुख अतिथि जोन सी लिउले साएटेसन प्रदान गरेका थिए।
कार्यक्रममा सहभागी लेखक राजन थपलियाले काव्य यात्रामा न्यूयोर्कमा भइरहने एकैखालका कार्यक्रमभन्दा फरक स्वाद पाएको बताए। अमेरिकाको न्यूयोर्कबाट सन् २०१२ देखि शुरु भएको विश्व काव्य यात्रा बेलायत, भारत, जापान र अष्ट्रेलियामा सम्पन्न भइसकेको छ।












