पार्टी एकताले पूर्णता पाएपछि सरकारले गति लिन्छः खनाल
पशुपतिनगर, भदौ २७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताको प्रक्रियाले पूर्णता नपाएका कारण सरकारले अपेक्षाअनुस....

पशुपतिनगर, भदौ २७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताको प्रक्रियाले पूर्णता नपाएका कारण सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन्।
शुक्रबार आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका पूर्वप्रधानमन्त्री खनालले जटिल परिस्थितिमा पनि १५ महिनाको अथक प्रयासपछि एकता प्रयासले गति लिएको बताए। खनालले इलामबाट भावनात्मक, सैदान्तिक, वैचारिक र सङ्गठनात्मकरुपमा एकताको प्रक्रिया अगाडि बढेकाले अब यसलाई देशका ७७ वटै जिल्लामा क्रमशः विस्तार गर्दै लगिने जानकारी दिए।
उनले पार्टीको तल्लो कमिटीमा केही समस्या देखिए पनि त्यसलाई चाँडै निकास दिएर ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक तुल्याउन नेकपा नेतृत्वको सरकार जोडतोडले अघि बढेको बताए। नेपालको पराराष्ट्र नीति कमजोर नभएको जानकारी दिँदै नेता खनालले असंलग्न परराष्ट्र नीति अपनाउँदै आएकाले विश्वका सबै देशसँग सम्बन्ध विस्तारमा नेपाल पछि नपर्ने बताए।
कुनै विधेयक ल्याउँदा केही कमजोरी भए पनि त्यसलाई सच्याउँदै अगाडि बढे सरकारले उचाइ लिनेमा जोड दिँदै उनले पार्टीको एकता भए पनि सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च, विभाग र परिषद् गठनपछि मात्र कम्युनिष्टको एकता पूर्ण हुने बताए। संविधानले प्रदत्त गरेका तीनवटै तहका सरकारमध्ये प्रदेश सरकारको काम कारवाही प्रभावकारी हुन नसकेको सन्दर्भमा सङ्घीयता फष्टाउन समय लाग्ने भएकाले केही वर्षको अभ्यासपछि यसले सही दिशा लिने उनको भनाइ छ।
नेता खनालले तीनै तहका अधिकार संविधानले किटान गरे पनि केही अधिकार व्यवहारमा कार्यान्वयन भएपछि मात्र स्पष्टरुपमा बुझ्न सकिने बताए।











-1784808429.png)