दशैंअघि सार्वजनिक सवारीको भाडा नबढ्ने
काठमाडौं, भदौ २७ : दशैंअघि सार्वजनिक सवारीसाधनको भाडा नबढ्ने भएको छ।
भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैं अगाडि भाडाका विषय....

काठमाडौं, भदौ २७ : दशैंअघि सार्वजनिक सवारीसाधनको भाडा नबढ्ने भएको छ।
भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैं अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ। यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा पनि भाडा समायोजन तत्काल गर्ने गरी छलफल नभएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।
उनका अनुसार यस वर्ष बजेटमा नै भाडा समायोजनका लागि समेत कार्यक्रम छुट्याइएको छ। दशैं, तिहार, छठलगायतका चाडपर्व सकिएपछि त्यसमा अध्ययन भएर मात्रै समायोजन हुने उनको भनाइ छ।
सरकारले ३५ प्रतिशत पेट्रोलियम पदार्थको मूल्यका आधारमा र ६५ प्रतिशत सवारीसाधनका ‘पार्टपूर्जा’, जनशक्तिलाई लाग्ने खर्चलगायतलाई आधार बनाएर भाडादर निर्धारण गर्दै आएको छ। उनले भने,‘चाडपर्व सकिएपछि नै दुवैलाई आधार मानेर अध्ययन गरेपछि भाडा समायोजन गरिनेछ।’
राष्ट्रिय यातायात व्यवसायी महासंघले भने नियमितरूपमा भाडा समायोजन गर्नु सरकारको जिम्मेवारी भएको बताउँदै आएको छ। महासंघका महासचिव सरोज सिटौलाले भाडा समायोजनको काम यातायात व्यवसायीको नभएर विभागको भएको बताए।
विभागले नियमितरूपमा समायोजन गर्नुपर्नेमा उनको जोड छ। उनले भने,‘सात वर्षदेखि ६५ प्रतिशतको आधारमा भाडा समायोजन हुनसकेको छैन, यसतर्फ सरकारले सोच्नुपर्छ, हामीले भन्ने होइन।’
विभागले गत जेठ महीनामा भाडादर वृद्धि गरे पनि उक्त निर्णय पाँच घण्टामै फिर्ता लिएको थियो। वर्षेनी दशैँ, तिहार, छठलगायतका चाडपर्वका लागि लक्षित गर्दै अग्रिम टिकट खुलाउँदा भाडा समायोजनको विषय उठ्ने गरेको छ।











-1784808429.png)