इजिप्टमा हुने मिस इकोमा नेपालबाट सोफियाले प्रतिनिधित्व गर्ने

काठमाडौं, माघ १६ : इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेसनल २०२२’ मा नेपालको प्रतिनिधित्व सोफिया भुजेलले गर्ने भएकी छन्।
सोफियालाई ‘मिस इको इन्टरनेसनल नेपाल’ को ताजसहित उक्त प्रतियोगिताका लागि ग्रिन आर्ट मिडियाबाट उनी छनोटमा परेकी हुन्। उनले यसअघि पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिता जनाइसकेक िछन्।
शनिबार स्ट्याण्ड लन्च एन्ड बार बत्तिसपुतलीमा आयोजित एक कार्यक्रमबीच ग्रिन आर्ट मिडियाले प्रतियोगी सार्वजनिक गरेको हो। सोफियालाई मिस इको इन्टरनेसनल नेपाल २०२०’ विजेता अनुष्मा रायमाझीले ताज लगाइदिएइन्।
रायमाझी ‘मिस इको इन्टरनेसनल २०२०’ मा ‘मिस इको एसिया’ उपाधि नेपाल ल्याउन सफल भएकी थिइन्।
आगामी मार्चमा इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेसनल २०२२’ मा ६० भन्दा बढी देशका इको सुन्दरीहरूको सहभागिता रहनेछ। सो प्रतियोगिताका लागि सोफिया नेपालका तर्फबाट एक्ली प्रतिनिधि हुन्।
उनलाई प्रतियोगिताका लागि ग्रिन आर्ट मिडियाकी प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित व्यक्तिहरुले ग्रुमिङ गर्नेछन्।

अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौललगायतको उपस्थिति रहेको कार्यक्रममा धुम्बाराही निवासी २६ वर्षिया सोफियाले प्रतियोगीतामा नेपालका सांस्कृतिक र पर्यटकीय स्थानबारे प्रचार गर्ने बताइन्। सोफियाले ‘मिस इको इन्टरनेसनल २०२२’ को शीर्ष उपाधि जित्न सक्ने विश्वास आफूलाई रहेको लाकौलले बताए।
२०१५ देखि ग्रिन आर्टस मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशक चुनिएकी हुन्।
मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तराष्ट्रिय सुन्दरी प्रतियोगिता हो। जसको एलटिसिपी अर्गनाइजेसनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो।
यसको मुख्य उद्देश्य विश्वभरिका पर्यावरण, संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ।












