पर्वहरूलाई समृद्ध नेपालको आकांक्षासँग जोडौँ : प्रधानमन्त्री ओली
काठमाडौं, भदौ २७ः प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल ,सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न साँस्कृतिक पर्वहरुलाई पर्यटनस....

काठमाडौं, भदौ २७ः प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल ,सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न साँस्कृतिक पर्वहरुलाई पर्यटनसँग जोड्नुपर्ने बताएका छन् ।इन्द्रजात्राका अवसरमा शुक्रबार शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।
नेपाल यतिबेला आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । ‘समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रा सांस्कृतिक महत्वका पर्वहरुलाई पर्यटन प्रवद्र्धनसँग जोड्नु आवश्यक छ’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘प्राचीन महत्वका मौलिक विशेषता भएका यस्ता पर्वहरु विदेशी पर्यटकलाई आकर्षण गर्ने कडी बन्न सक्छन् । त्यस पक्षलाई पनि आत्मसात गर्दै अघि बढ्न म सबैमा आग्रह गर्दछु ।’
प्रधानमन्त्री ओलीले नेपाल बहुभाषा, बहुधर्म र बहुसंस्कृतिको देश भएको उल्लेख गर्दै भनेका छन्, ‘एकअर्काे समुदायका संस्कृतिलाई हामीले साझा समाजिक–साँस्कृतिक निधि मान्दै आएका छौं । यही साँस्कृतिक विशेषताका कारण हामी सम्पूर्ण नेपाली एकताको सूत्रमा बाँधिएका छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो सांस्कृतिक विविधतालाई विभेदका रुपमा अर्थ्याएर नेपालीबीचको एकता धुमिल्याउने प्रयास थिए तर हामीले त्यस्ता दुष्प्रयासलाई परास्त गरिसकेका छौँ ।'
प्रधानमन्त्री ओलीले इन्द्रजात्रालाई सहकालसहित मनाइने पर्वको रुपमा स्मरण गरे । उनले इन्द्रजात्रालाई साँस्कृतिक पर्वका रुपमा संरक्षण गरिएको पनि बताए ।
‘इन्द्रजात्राबारे वाल्मीकि रामायण, महाभारत, हरिबंश पुराण, कालिका पुराण, विष्णु धर्माेत्तर पुराण, बृहत्संहिता, भविष्य पुराण र संस्कृत भाषाका महाकवि कालिदासको रघुबंशमा पनि उल्लेख हुनुले यसको पौराणिकता पुष्टि हुन्छ’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘पौराणिक कालदेखि निरन्तर कायम रहँदै आएका यस्ता सांस्कृतिक पर्वहरुको जगेर्ना हुनुुलाई हामीले नेपालको सांस्कृतिक सवलताका रुपमा लिनुपर्छ ।’











-1784808429.png)