फलफूल–तरकारी किन्दा ठगिनुनपर्ने : कोड स्क्यान गरेर सम्पूर्ण विवरण हेर्न मिल्ने प्रविधि आयो
बजारमा बेचिने फलफूलका सम्बन्धमा ग्राहकलाई वास्तविक जानकारी दिन व्यवसायी तथा कृषकले ‘फुड ट्र्याकिङ सफ्टवेयर’मा काम गर्नुपर्छ । यस सफ्टवेयरमा कृषकले आफूले लगाएको बालीबारे सुरुदेखि बजारमा पठाउँदासम्मको विवरण अपडेट गर्न सक्छन् ।काठमाडौं, माघ १६ : एउटै पसलमा एउटै नामका तरकारी तथा फुलफूलको भाउ पनि फरक हुन सक्छ, भिन्न–भिन्न ठाउँको भनेर । अर्कोतिर, एक ठाउँको भनेर अर्कै ठाउँको सामान बेच्नेहरु पनि हुन्छन् । बजार न हो, ताजा भनेर निकै दिनको बासी बेच्ने पनि उत्तिकै भेटिन्छन् ।
अब भने ग्राहक झुक्किनुनपर्ने भएको छ । तपाईंले किन्ने फलफूल कहाँ उत्पादन भएको हो, कति दिनमा आइपुग्यो आदिबारे हेर्न मिल्ने प्रविधि ल्याएको छ, ‘ग्रिन ग्रोथ’ले ।
‘ग्रिन ग्रोथ’ले बिक्री गर्ने फलफूलका कार्टुनमा एउटा ‘क्युआर कोड’ टाँसिएको हुन्छ । त्यसलाई मोबाइलबाट स्क्यान गर्दा कार्टुनभित्रको फलफूलसम्बन्धी विवरण हेर्न सकिन्छ ।
‘ग्रिन ग्रोथ’ यस्तो नेपाली कम्पनी हो, जसले देशभित्र उत्पादिन अर्गानिक उत्पादनको बिक्री–वितरण गर्दै आएको छ । ‘अनलाइन व्यवसायलाई अझ प्रभावकारी बनाउन र उपभोक्तालाई सचेत गराउन कोड प्रविधि ल्याएको हौँ,’ ग्रिन ग्रोथका सहसञ्चालक सौरभ ढकाल भन्छन्, ‘विकसित देशमा यस्तो प्रविधि व्यापक भए पनि नेपालमा भने नयाँ हो ।’
बजारमा बेचिने फलफूलका सम्बन्धमा ग्राहकलाई वास्तविक जानकारी दिन व्यवसायी तथा कृषकले ‘फुड ट्र्याकिङ सफ्टवेयर’मा काम गर्नुपर्छ । यस सफ्टवेयरमा कृषकले आफूले लगाएको बालीबारे सुरुदेखि बजारमा पठाउँदासम्मको विवरण अपडेट गर्न सक्छन् । के–कस्तो बाली कहाँ र कसरी तयार गरियो भन्नेबारे सम्पूर्ण तथ्य अपडेट हुन्छ । उपभोक्ताले स्क्यान गर्दा यिनै विवरण हेर्न पाउने सहसञ्चालक ढकाल बताउँछन् ।
‘बजारमा सिन्धुलीको जुनारको माग धेरै हुन्छ, तर व्यवसायीले झुक्याएर अन्तैको जुनार बिक्री गर्छन्,’ ढकाल भन्छन्, ‘क्युआर कोड स्क्यान गरेर उपभोक्ताले कुन फलफूल कुन ठाउँको र कति दिनको साजी वा बासी हो भन्ने समेत थाहा पाउन सक्छन् ।’
यो सेवा अहिले परीक्षणको रुपमा केही ठूला फर्मका कृषक मिलेर सञ्चालन गरिरहेको ढकाल बताउँछन् । ‘अहिले सप्तरी, सिन्धुली, काभ्रे, अपर मुस्ताङ लगायतका १२ वटा फलफूल फर्म ग्रिन ग्रोथमा जोडिएका छन् । यतिखेर फुड ट्र्याकिङ सफ्टवेयरले दस्तावेज गर्ने काम मात्र गरिरहेको छ,’ उनी भन्छन्, ‘ब्लकचेन भने गरिएको छैन ।’
ब्लकचेन भन्नाले फलफूल व्यवसायीले एकपटक अपडेट गरेको विवरणलाई पुनः सच्याउन नमिल्ने गरी राखिने प्रविधिलाई बुझिन्छ । ‘ब्लकचेन गरेपछि कृषक तथा व्यवसायी कसैले पनि एकपटक अपडेट गरेको मिति तथा तथ्यांक पुनः हेरफेर गर्न मिल्दैन,’ सहसञ्चालक ढकाल भन्छन्, ‘अहिले हामीले नै कृषकसँग मिलेर अनलाइनमा अपडेट गरेका छौँ । कृषकलाई प्रविधिबारे सिकाउँदै पनि छौँ ।’
यो प्रविधि खाद्य गुणस्तर हेर्ने निकाय तथा अर्गानिक सर्टिफिकेट दिने संस्थाका लागि विश्वसनीय र प्रभावकारी हुने उनी बताउँछन् । ‘यसलाई बिस्तारै सबै कृषकसँग जोड्ने योजनामा हामी छौँ,’ उनले भने, ‘यसले उपभोक्ता र कृषकलाई सहज बनाउने काम गर्छ ।’
विशेषतः ‘फुड ट्र्याकिङ सफ्टवेयर’ अझ धेरै प्रभावकारी रहेको ढकाल बताउँछन् । ‘अन्य देशमा चिया–कफी खाएपछि ग्राहकले तिरेको रकमबाट केही अंश कृषकको खातामा जाने व्यवस्था हुन्छ,’ ढकाल भन्छन्, ‘नेपालमा त्यस्तो प्रविधि भित्र्याउन सकिएको छैन । यो पहिलो प्रयास हो ।’
कोरोनापछिको अभ्यास
हामीकहाँ कोरोनापछि अनलाइन सेवा बढ्न थाले । विशेषतः लकडाउनका बेला स्कुल–कलेज पढाउनेदेखि कार्यालयको काम, मिटिङ, वस्तु तथा सेवाको अर्डर आदि अनलाइनबाट हुन थाले ।
पहिलो चरणको लकडाउनका बेला विशेषतः खाद्यान्न लगायत अन्य दैनिक प्रयोगका सामानको अभाव हुन थालेको थियो । उपभोक्ताको माग बढ्न थालेपछि व्यवसायी र उपभोक्ताबीच जोड्ने माध्यम बन्यो, अनलाइन सर्भिस ।
०७२ को भूकम्पपछि अनलाइन सर्भिस दिँदै आएको ग्रिन ग्रोथले भने जन्मायो– फुड ट्र्याकिङ सर्भिस ।
‘अहिले ग्रिन ग्रोथले बिक्री गर्ने फलफूलमा मात्र यो सेवा दिएका छौँ,’ सहसञ्चालक ढकाल भन्छन्, ‘बिस्तारै खाद्यान्न र तरकारी बिक्री–वितरणमा पनि यस प्रविधि भित्र्याउन सकिन्छ ।’
‘फुड ट्र्याकिङ’ परीक्षणका क्रममा रहेको र आगामी दिनमा प्रभावकारी बन्दै गएमा यसलाई कृषकबीच जोड्ने उनको भनाइ छ । ‘यस प्रविधिबाट उपभोक्ता र कृषकबीच पारदर्शी रूपमा कारोबार हुन्छ,’ उनी भन्छन्, ‘यस्तो प्रविधिले अनलाइन व्यवसायलाई विश्वसनीय बनाउँछ । यसबारे उपभोक्ताले पनि सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।’