Kathmandu Press

बाँकेमा कांग्रेसको कार्यक्रममा नेकपाको आक्रमण, सभापति कोइरालाको हात भाँच्चियो

काठमाडौं, भदौ २६ :  सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले बाँकेको खजुरा गाउँपालिका–२ सितापुरमा आयोजित कार्यक्रममा आक्....

बाँकेमा कांग्रेसको कार्यक्रममा नेकपाको आक्रमण, सभापति कोइरालाको हात भाँच्चियो

काठमाडौं, भदौ २६ :  सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले बाँकेको खजुरा गाउँपालिका–२ सितापुरमा आयोजित कार्यक्रममा आक्रमण गरेका छन्। 

राष्ट्रिय जागरण अभियान अन्तर्गत बिहीबार खजुरा गाउँपालिका–२ सितापुरस्थित नेपाल रेडक्रसको हलमा चलिरहेका बेला नेकपाका कार्यकर्ता हलभित्र प्रवेश गरी आक्रमण गरेका हुन्। नेकपाका कार्यकर्ताको आक्रमणबाट कांग्रेसकी बाँके सभापति किरण कोइरालाको देब्रे हात भाँच्चिएको छ। 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा क्षेत्र नं. २ को खजुरा गाउँपालिका–२ सितापुर स्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम चलिरहँदा नेकपाका कार्यकर्ता हलभित्र छिरेर आक्रमण सुरु गरेका थिए। आक्रमणबाट सभापति कोइरालासहित केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरु घाइते भएको कांग्रेसले जनाएको छ। 

खजुरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, निर्मल खत्री लगायतका १३-१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी ‘यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदैन’ भन्दै आक्रमण सुरु गरेको कांग्रेसको आरोप छ। कांग्रेसले बाँके सभापति कोइरालासहित कार्यकर्तामाथि सुनियोजित ढंगले  सांघातिक हमला गरेको घटनाप्रति गम्भीर ध्यानाकर्ष भएको जनाएको छ। 

राजनीतिक दलले सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि सिधा आक्रमणको सुरुवात भएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेसले कांग्रेसका पक्षमा उर्लिएको जनलहर र जनसहभागिता देखेर सर्वसत्ताबाद उन्मुख कम्युनिष्ट सरकार र उसका कार्यकर्ता अत्तालिएको आरोप लगाएको छ। 

‘सरकारविरुद्ध बढ्दो महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकका विरुद्ध र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनविरुद्ध कांग्रेसले गरेको हिपतमको पहिलो र दोस्रो चरणका कार्यक्रमहरुमा उर्लदो जनलहर र जनसहभागिता देखेर सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकार र उनीहरुका कार्यकर्ताहरु अतालिएका छन्,’ कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

स्वतन्त्र रुपमा कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि समेत ठाडो हस्तक्षेप नगर्न सरकारलाई चेनावनी पनि कांग्रेसले दिएको छ। कांग्रेसले भविष्यमा यस्ता घटनाहरु पुनः नदोहोर्‍याउन नेपाल कम्युनिष्ट पार्टी चेतावनी पनि दिएको छ। 

कांग्रेसले कार्यक्रममा सहभागी कांग्रेस नेता तथा कार्यकर्तामाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल कडाभन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेको छ। 

प्रकाशित मिति: १९:५९ बजे, बिहीबार, भदौ २६, २०७६