पूर्वाधार क्षेत्रमा सरकारी नीति लगानीमैत्री हुनुपर्छः पूर्वअर्थमन्त्री महत
काठमाडौं, भदौ २६ : पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले योजना अनुसार सम्भावना र बोली एउटै गर्न नसकेको बताएका छन्।
‘....

काठमाडौं, भदौ २६ : पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले योजना अनुसार सम्भावना र बोली एउटै गर्न नसकेको बताएका छन्।
‘योजना एकातिर, सम्भावना अर्कोतिर र बोली अन्यत्र हुनुहुँदैन,’ उनले भने,‘ अहिले चीनबाट रेल ल्याउने विषयमा त्यस्तै भइरहेको छ।’ उनले नेपालमा निर्माण हुने सडक गुणस्तरीय हुनुपर्नेमा जोड दिए।
नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनको दोस्रो दिन आयोजित निजी क्षेत्रका लागि लगानीको अवसर विषयक सत्रमा पूर्वअर्थमन्त्री महतले अहिलेको सरकारी काम गर्ने पद्धती र शैलीमा परिवर्तनको आवश्यकता रहेको बताए। उनले भने,‘सर्वप्रथम सरकारले सुशासनमा सुधार गर्नुपर्छ।’ पूर्वाधार क्षेत्रमा सरकारी नीति लगानीमैत्री हुनुपर्नेमा उनको जोड छ।
निजी क्षेत्रलाई कानूनद्वारा नै सुविधा दिइने नीति आवश्यक रहेको उनले बताए। एउटा पदमा रहेको व्यक्तिले मनलाग्दी सुविधा दिने वा नदिने निर्णय गर्दा त्यसले निजी क्षेत्रको विश्वास नजगाउने बताउँदै डा. महतले पूर्वाधारका लागि के सम्भावना छ भन्नेबारे गहिरो अध्ययन गर्नु आवश्यक रहेको बताए।
विश्व वैंकको प्रतिवेदनलाई उदृत गर्दै पूर्वअर्थमन्त्री डा. महतले नेपालका सडक संसारमै सबैभन्दा गुणस्तरहीन हुने गरेको समेत बताए। उनले नेपालमा उर्जाको ठूलो सम्भावना रहेकाले निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा आमन्त्रण गर्नुपर्ने बताए। स्वच्छ ऊर्जाको उल्लेख्य माग रहेको बताउँदै डा. महतले नेपालको बढ्दो व्यापार घाटा ऊर्जाबाट पूर्ति गर्न सकिने बताए।
उनले नेपाल विद्युत् प्राधिकरणले अहिले गरिरहेको काम कानूनबमोजिम नभएको समेत बताए। ‘प्राधिकरणले आफै विद्युत उत्पादन गर्ने र आफै अनुगमन गर्ने काम न्यायोचित हुँदैन,‘उनले भने,‘यस्तो अवस्थामा निजी क्षेत्रले प्राधिकरणसँग कसरी प्रतिस्पर्धा गर्न सक्छन्। प्राधिकरणको यस्तो भूमिकाले स्वार्थ बाझिएको देखिन्छ।’











-1784808429.png)