Kathmandu Press

खुला अर्थतन्त्र र उदारीकरणका योजनाकार रामशरण महत हुन्: विनोद चाैधरी

काठमाडौं, भदौ २६ : नेपाली कांग्रेसका सांसद तथा अर्बपति विनोद चौधरीले नेपालको निजी क्षेत्रले सरकारको धेरै साथ नपाउँदा पनि लगानी गरिरहेको बताएका छन....

खुला अर्थतन्त्र र उदारीकरणका योजनाकार रामशरण महत हुन्: विनोद चाैधरी

काठमाडौं, भदौ २६ : नेपाली कांग्रेसका सांसद तथा अर्बपति विनोद चौधरीले नेपालको निजी क्षेत्रले सरकारको धेरै साथ नपाउँदा पनि लगानी गरिरहेको बताएका छन्।

नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै सांसद चौधरीले निजी क्षेत्रको जतिसुकै खुट्टा तानेपनि निजी क्षेत्रले लगानी गरेको बताएका हुन्।  ‘निजी क्षेत्रले लगानी नगरेको भए ऊर्जामा आत्मनिर्मर हुने अवस्था आउने थिएन,’ उनले भने। निजी क्षेत्र अनेकौं झन्झट भोगे पनि सिमेन्टमा आत्मनिर्भर बनाएको समेत दाबी उनले गरे।

चौधरीले दशकाैंको उत्पीडनपछि देशमा आएको परिवर्तनले लगानीको वातावरण सिर्जना गरेको समेत बताए। यतिखेर नेपाललाई विश्वव्यापी रुपमा लगानी गरेर सहयोग गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। ‘शिक्षा, स्वास्थ्य, ऊर्जा, हवाइ क्षेत्र, वित्तीय संस्था, सडक लगानीका प्रमुख क्षेत्र हुन्,’ उनले भने,‘त्यस्तै प्रदेश सरकारहरु पनि पूर्वाधारको क्षेत्रमा लगानी गर्न उत्तिकै उत्साहित छन्।’ 

सन् १९९२ यता नेपालमा निजी क्षेत्रको सक्रियता वृद्धि हुँदै गएको विषय उल्लेख गर्दै सांसद चौधरीले खुला अर्थतन्त्र र उदारीकरणका लागि  पूर्वअर्थमन्त्री डा. रामशरण महत योजनाकारका रुपमा रहेको रहेको बताए।

अहिले देशको कुल गार्हस्थ उत्पादनमा निजी क्षेत्रको सहभागिता ३२ प्रतिशत पुगेको छ। हवाइ क्षेत्रमा आमुल परिवर्तन निजी क्षेत्रले गरेको उद्यमी चौधरीको भनाइ छ। 

‘जसरी भारतमा घरघरमा पानी पुर्‍याउन त्यहाँको सरकारले अर्बौ लगानी गरेजस्तै नेपालमा पनि पूर्वाधार क्षेत्रमा ठूलो लगानी आवश्यक छ,’उनले भने,‘यतिखेर देशमा भष्ट्राचारजन्य क्रियाकलाप रोक्न र अर्कोतिर सम्भावनाको नयाँ ढोका खोल्न आवश्यक छ। यसका लागि स्पष्ट दृष्टिकोण चाहिएको छ।’ 

भारतमा डा. मनमोहन सिंह अर्थमन्त्री हुँदा आर्थिक परिवर्तन सम्भव भएको बताउँदै उनले त्यस्तै सफलतालाई नेपालमै दोहोर्‍याउन सक्ने बताए। अहिलेको समय कसले कुन क्षेत्रमा लगानी गर्ने भन्नेबारे निर्णय गर्ने सही समय भएको उनको भनाइ छ।

प्रकाशित मिति: १९:०६ बजे, बिहीबार, भदौ २६, २०७६