मलेसियामा नेपाली कामदार पठाउने बाटो खुल्यो
काठमाडौं, भदौ २६ : १५ महिनादेखि बन्द रहेको वैदेशिक रोजगारी खुलाउन मलेसिया सहमत भएको छ।
बिहीबार बसेको नेपाल र मलेसियाको सहस....
काठमाडौं, भदौ २६ : १५ महिनादेखि बन्द रहेको वैदेशिक रोजगारी खुलाउन मलेसिया सहमत भएको छ।
बिहीबार बसेको नेपाल र मलेसियाको सहसचिवस्तरीय बैठकमा मलेसिया बन्द रहेको रोजगारी खुलाउन सहमत भएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र उमेश ढुंगाना नेतृत्वको टोलीले मलेसिया सरकारसँग नेपाली कामदार पठाउने सहमति गरेको हो। सहमतिसँगै नेपाली कामदारलाई मलेसिया जान बाटो खुलेको छ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले आइतबारबाट मलेसियाको रोजगारी खुला हुने जनाएका छन्। ट्टीटरमा ट्वीट गर्दै उनले द्विपक्षीय वार्तामा मलेसिया नेपाली कामदार लैजान सहमत भएको र आइतबारबाट खुला गर्ने सहमति भएको बताएका छन्।
गतबर्ष देखि बन्द रहेको नेपाली श्रमिकहरुको मलेसिया डेस्टिनेशन आज भ एको द्विपक्षीय सहमति अनुसार आगामी आइतबार बाट खुल्ने भ एको छ ।
— Rajan (@Rajanktm) September 12, 2019
सहमति अनुसार आइतबारदेखि नै मलेसिया रोजगारीका लागि कामदार पठाउन सुरु गरिने छ।
यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अघिल्लो वर्ष जेठदेखि मलेसियामा नेपाली कामदार पठाउन रोक लगाएको थियो।
मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, दुईतर्फी हवाइ टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण तथा सुरक्षा जाँच लगायत शुल्क सम्वन्धित रोजगारदाताले नै ब्यहोर्नुपर्ने सहमतिमा उल्लेख छ।
सहमतिसँगै अब मलेसिया जाने कामदारको तलवबाट कट्टी गरिँदै आएको लेभी पनि नलाग्ने भएको छ। कामदारका लागि मलेसियाको करार अवधि तीन वर्ष रहेकोमा त्यसलाई कटौती गरेर दुई वर्षमा झारिएको छ।
सरकारले मलेसिया नेपाली कामदार पठाउनका लागि आवश्यक स्वास्थ्य जाँच गर्न १२२ वटा स्वास्थ्य संस्थाहरु सूचीकरण गरिसकेको छ।






