ओरालो लाग्दै सुनको मूल्य, प्रतितोला दुई सय रूपैयाँले घट्यो
काठमाडौं, भदौ २६ : दुई महिनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो साता भने ओरालो लागेको छ। गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल....

काठमाडौं, भदौ २६ : दुई महिनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो साता भने ओरालो लागेको छ। गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्य आइतबारदेखि ओरालो लागिरहेको छ।
शनिबार प्रतितोला ७२ हजारमा कारोवार भएको छापावाला सुन आइतबार प्रतितोला पाँच सयले घटेर ७१ हजार पाँच सय पुगेको थियो। त्यस्तै मङ्गलबार सुनको मूल्य घटेर ७१ हजार पुगेको थियो भने बुधबार स्थिर रह्यो।
आज पुनःसुनको मूल्यमा प्रतितोला दुई सयले गिरावट आएको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार आठ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई सयले घटेको छ। तेजाबी सुनको मूल्य ५० हजार पाँच सय निर्धारण गरिएको महासङ्घले जनाएको छ। सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ।
बुधबार प्रतितोला आठ सय ८० मा कारोवार भएको चाँदीको मूल्य पाँचले घटेर आठ सय ७५ पुगेको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य ओरालो लागेको छ। विश्व बजारमा आज सुनको मूल्य प्रतिऔस एक हजार ५०२.४० अमेरिकी डलर रहेको छ। केहीअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ५४० डलरसम्म पुगेको थियो।
विश्व बजारमा सुनको मूल्यमा देखिएको गिरावटसँगै नेपाली बजारमा पनि मूल्य घटेको महासङ्घले जनाएको छ।











-1784808429.png)