भारतीय कलाकार अक्षय कुमारको संघर्ष
काठमाडौं, माघ ११ : भारतीय कलाकार अक्षय कुमारको पहिलो फिल्म सौगन्ध आजकै दिन (२५ जनवरी १९९१) मा प्रदर्शनमा आएको थियो । अक्षय कुमार त्यस्ता...
काठमाडौं, माघ ११ : भारतीय कलाकार अक्षय कुमारको पहिलो फिल्म सौगन्ध आजकै दिन (२५ जनवरी १९९१) मा प्रदर्शनमा आएको थियो । अक्षय कुमार त्यस्ता बलिउड कलाकार हुन्, जसले आफ्नो क्षमता, प्रतिभा र मेहनतले स्थापित भए । आज उनी सफल कलाकारमध्ये पर्छन्, उनको फिल्मलाई दर्शकले राम्रो प्रतिक्रिया दिन्छन् र प्रतीक्षा पनि गर्छन् ।
अक्षयको वास्तविक नाम राजीव हरिओम भाटिया हो । उनको जन्म ९ सेप्टेम्बर १९६७ मा अमृतसार पन्जाबमा भएको हो । उनले १९८७ मा महेश भट्टको फिल्म ‘आज’मा मार्सल आर्ट प्रशिक्षकको भूमिका निभाएका थिए । त्यस फिल्ममा अक्षयको अनुहार देखाइएन, उनले जुन पात्रको भूमिका निभाएका थिए, उसको नाम अक्षय थियो, त्यसैले उनले आफ्नो नाम अक्षय राखे ।
अक्षयका पिता हरिओम भाटियाले एकाउन्टेटको जागिर गर्थे । अक्षयले पढाइमा ध्यान दिएनन् । स्कुलमा उनले एक ग्याङ बनाएका थिए, जसको नाम ‘ब्लडी टेन’ थियो । अक्षयले एक अन्तर्वार्ताका क्रममा बताएका थिए– आफ्नो यस ग्रुपसँग अरु डराउँथे । पढाइमा ध्यान नदिएपछि पिताले उनलाई भनेका थिए— नपढी के गर्छस् ? त्यतिबेला अक्षयले रिसमै भने— कलाकार बन्छु । नभन्दै उनी बलिउडमा राज गर्न पुगे ।
उनलाई मार्सल आर्टको क्षेत्रमा प्रवेश गर्न एक छिमेकीले प्रेरित गरेका थिए । उनको घरछेउ एक युवकले उनलाई मार्सल आर्ट देखाइरहन्थे । आफू पनि मार्सल आर्ट सिकेर देखाउने उद्देश्यले उनी बैंकक गए । उनी तेक्वान्दोमा ब्ल्याकबेल्ट होल्डर हुन् । ब्ल्याक बेल्ट पाउन उनलाई ६ वर्ष लागेको थियो ।
उनले बैंककको एक रेस्टुरेन्टमा काम गरेका थिए । बलिउडमा आउनुअघि कामको कुरा गर्दा उनले ढाकाको एक होटलमा पनि काम गरे । त्यस्तै कलकत्तामा ट्राभल एजेन्टको नोकरी पनि गरेका थिए । बैंककबाट फर्केपछि उनले गहनासम्बन्धी काम पनि गरे । उनले दिल्लीमा कुन्दनका गहना लिएर बम्बईमा बेच्थे ।
कलाकारितामा आउनुअघि अक्षयले बच्चाहरूलाई मार्सल आर्ट सिकाउँथे । उनीसँग सिक्ने एक शिष्यका बुवाले उनीसँग मोडलिङका लागि अफर गरे । एउटा फर्निचर विज्ञापनका लागि गरिएको मोडलिङमा उनले पाँच हजार रुपैयाँ पाएका थिए । यसपछि उनले सोचेँ— मार्सल आर्टबाट महिनामा पाँच हजार आउँछ भने मोडलिङमा त घन्टामै आउँदो रहेछ ।
त्यसपछि उनी मोडलिङमा करिअर बनाउने सोचे । व्यावसायिक मोडल बन्नका लागि अक्षयलाई स्टुडियोमा फोटो सुट गर्नुपर्ने थियो, तर त्यो महँगो थियो । त्यसपछि उनले एउटा ठूलो घरको भित्तामा बसेर फोटो खिच्ने निर्णय गरे । तर उनलाई त्यहाँ फोटो खिच्न दिइएन । एक चौकीदारले उनलाई त्यहाँबाट भगाए । प्रेरणादायी कुरा यो हो कि अक्षयले पछि त्यही भित्तासँग जोडिएको घर किने ।
एक फोटो सुटका क्रममा अक्षयको भेट मेकअप आर्टिस्ट नरेन्द्र सिंहसँग भयो, नरेन्द्रले नै उनलाई फिल्ममा आउने सल्लाह दिएका थिए, नरेन्द्रले निर्देशक प्रमोद चक्रवतीसँग अक्षयका बारेमा कुरा गरेका थिए । अक्षयले उनको गुन कहिल्यै भुलेनन्, पछि उनले नरेन्द्रलाई आफ्नो पर्सनल मेकअप आर्टिस्ट बनाए । अक्षयलाई मोडलिङको सोख भने बच्चैदेखि थियो, उनले स्कुल पढ्दा नै पाँच सय रुपैयाँमा एउटा फोटो सुट गरेका थिए । फोटो हेरेर कसैले काम दिन्छ कि भन्ने पनि उनले सोचेका थिए । उनले एक अन्तर्वार्तामा ‘आफूले त्यस फोटोलाई धेरै ठाउँमा देखाएको तर मानिसले त्यस तस्बिरलाई मजाक बनाएको’ बताएका थिए ।
प्रमोद चक्रवतीले आफ्नो ‘दीदार’ फिल्मका लागि अक्षयलाई लिए । फिल्ममा साइन गरेबापत अक्षयले पाँच हजार रुपैयाँ पाएका थिए ।
राम्रो फुट सुटका लागि अक्षयले डेढ वर्षसम्म जयश सेठका साथमा असिस्टेन्ट फोटोग्राफरको काम पनि गरेका थिए । उनलाई फिस तिर्न नसक्ने भएपछि अक्षयले भनेका थिए— तपाईं मेरो पोर्टफोलियो सुट गर्नुहुन्छ भने म तपाईंकहाँ फ्रीमा काम गर्छु । केही अन्तर्वार्तामा फोटोग्राफर जयश सेठले पनि यस सम्बन्धमा बताएका छन् ।
अक्षयले बैंककमा काम गर्दा उनको कोठामा तीन पोस्टर टाँसिएको थियो– ज्याकी चेन, सिल्भेस्टर स्टेलोन र श्रीदेवीको ।
प्रेरणादायी कुरा यो छ कि अक्षयले कलाकार बनेपछि श्रीदेवी र सिल्भेस्टर स्टेलोनसँग काम गरे । ज्याकी चेनसँग पनि उनको राम्रो दोस्ती छ ।
अक्षय सुपरस्टार बनेपछि पनि पुराना सम्झना र साथीहरूलाई छाडेनन् । उनले अहिले पनि आफ्नो पहिलो मोटरसाइकल वा कारलाई सम्हालेर राखेका छन् । अक्षयलाई फिल्म बाजिगरका लागि अफर आएको थियो, तर करिअरको सुरुवातमै नेगेटिभ रोल नगर्ने उद्देश्यले उनले अस्वीकार गरे । पछि २००१ मा अक्षयले फिल्म अजनवीमा नेगेटिभ रोल गरेर बेस्ट भिलेनको अवार्ड जितेका थिए ।
अक्षयको सबैभन्दा राम्रो पक्ष यो छ कि उनी निकै अनुशासित छन् । उनी रातको १० बजेअघि नै सुत्छन् भने बिहान ५ बजे उठेर व्यायाम गर्छन् । यही अनुशासित जीवनले नै कामप्रति लगाव राख्न सिकाउने अक्षय बताउँछन् । त्यसैले उनको प्रायः फिल्मको सुटिङ ४० दिनमै सकिन्छ । उनले आफ्ना अधिकांश अन्तर्वार्ता बिहानमै दिने गर्छन् ।
उनले भन्ने गर्छन्, फिल्म क्षेत्रमा नआएको भए सेना हुने थिएँ । उनलाई सेना मनपर्छ । त्यसैले उनले फिल्ममा पनि यस्तै भूमिका निभाएका छन् ।
अक्षयको जीवनमा यस्तो दिन पनि आएको थियो, एक साथ १६ फिल्म फ्लप भएका थिए । सन् २००९ मा अक्षयलाई फिल्म सिङ इज किङमा बेस्ट एक्टर अवार्ड दिइएको थियो, तर अक्षयले यो लिएनन् र अमिर खानलाई दिन सिफारिस गरे । त्यतिबेला अमिरको फिल्म गजनी हिट भएको थियो ।
कलाकारिता क्षेत्रमा लागेपछि पनि अक्षयले फुर्सदका बेला किशोरीहरूलाई ‘सेल्फ डिफेन्स’को तालिम दिने गर्छन् । (एजेन्सीहरुको सहयोगमा)












