Kathmandu Press

जोरबिजोर प्रणालीले कोरोना नियन्त्रण गर्छ कि फैलाउँछ ? 

तोकिएभन्दा धेरै संख्यामा यात्रु चढाउने सवारीसाधनलाई कारबाही गरिँदै आएको प्रहरी बताउँछ । तर, उपत्यकामा त्यस्तो देखिँदैन । सार्वजनिक यातायातमा यात्रु खचाखच देखिन्छन् । 
जोरबिजोर प्रणालीले कोरोना नियन्त्रण गर्छ कि फैलाउँछ ? 

काठमाडौं, माघ १० : आइतबार बिहान साढे ९ बजेतिर नेपालटारमा मानिसको भीड थियो । त्यो भीड कुनै कार्यक्रम, सभा वा आन्दोलनको थिएन । कार्यस्थलसम्म पुग्नका लागि सार्वजनिक सवारी कुर्दै गरेका यात्रु थिए ती । 

कोरोना संक्रमण फैलन नदिन सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जम्मा हुनमा रोक र सवारीसाधनमा जोर–बिजोर प्रणाली ल्याएको छ । यहाँ उपस्थित यात्रुका लागि भने सरकारले जारी गरेको नियमभन्दा समयमै कार्यालय पुगेर हाकिम वा मालिकको गालीबाट जोगिनु ठूलो हो, हातमुख जोर्नु जो छ । जोरबिजोर प्रणालीका कारण सार्वजनिक यातायात कम चलेपछि यात्रु समस्यामा परेका छन् । गाडी चढ्नकै लागि यात्रुबीच तँछाडमछाड चल्ने गरेको छ।

नेपालटारबाट पूरानाे बसपार्क आउन बसको ढोकामा झुन्डिएका एक यात्रुले भने, ‘यसरी कोरोना संक्रमण कम हुन्छ कि उल्टै फैलन्छ ? बरु सबै गाडी चल्न दिए अलि सहज हुने थियो ।’ 

Hardik ivf

सार्वजनिक यातायात कुर्दै यात्रु

गाडीभित्र संक्रमण जोखिम कति ?

जनस्वास्थ्यविद् डा. लुना भट्ट शर्माका अनुसार, गाडीभित्र कोरोना संक्रमणको जोखिम अत्यन्तै हुन्छ । ‘चिसो मौसममा अधिकांश सवारी साधनको झ्यालढोका बन्द हुन्छन् । हावाको प्रवाह नहुने भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सर्ने सम्भावना बढी हुन्छ,’ उनले भनिन्, ‘यात्रुले डन्डी, सिट, ढोका आदिमा समातेका हुन्छन्, त्यहाँबाट पनि संक्रमण फैलन सक्छ ।’

सार्वजनिक यातायातमा भौतिक दूरी कायम गर्न, माक्र्स लगाउन र सेनिटाइजरको प्रयोगमा विशेष जोड दिनुपर्ने उनी बताउँछिन् । ‘कोरोना महामारी नियन्त्रणका लागि सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेर भीड बढाउनु उचित होइन,’ उनले भनिन्, ‘बरु सार्वजनिक सवारीसाधनमा यात्रुको चाप कम गरेर कोरोना संक्रमण न्यूनीकरण गर्न सकिन्छ ।’ सरकारले आम नागरिकको दैनिकीसँग जोडिएर वा त्यसलाई सम्बोधन गरेर कोरोना संक्रमणको न्यूनीकरणका उपाय अपनाउनुपर्ने उनको भनाइ छ ।

‘अहिले फैलिएको ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टभन्दा बढी संक्रामक भएकाले सार्वजनिक यातायातमा भीड बढ्नु जोखिमपूर्ण छ,’ उनले भनिन् । 

वरिष्ठ सरुवारोग विशेषज्ञ ल्हामो याङ्चेन शेर्पा पनि निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्दैमा कोरोना नियन्त्रण नहुने बताउँछिन् । ‘ओमिक्रोन बढी संक्रामक भएका कारण भीड बढाउनेभन्दा कम गर्ने उपायतिर पो लाग्नुप¥यो,’ उनले भनिन्, ‘कोरोना महामारी नियन्त्रण नै गर्ने हो भने कि पूर्ण लकडाउन गर्नुप¥यो, त्यो नभए सीमित कर्मचारीसहित आंशिक रूपमा कार्यालय र व्यापारिक क्षेत्रलाई खुला राख्न सकिन्छ ।’

फितलो अनुगमन 

तोकिएभन्दा धेरै संख्यामा यात्रु चढाउने सवारीसाधनलाई कारबाही गरिँदै आएको प्रहरी बताउँछ । तर, उपत्यकामा त्यस्तो देखिँदैन । सार्वजनिक यातायातमा यात्रु खचाखच देखिन्छन् । 

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्मा दास भन्छन्, ‘सिट क्षमताभन्दा बढी यात्रु नचढाउन कडाइका साथ मातहतका निकायलाई निर्देशन दिइएको छ ।’ 

उनले यसो भने पनि प्रहरी देखिएको अवस्थामा यात्रु ओराल्ने अथवा बसभित्रै यात्रुलाई बस्न लगाएर प्रहरीको आँखा छल्ने काम भइरहेको छ । 
त्यस्तै, चोकचोकमा परिचालित प्रहरीले सार्वजनिक यातायातमा हिँड्नेले मास्क लगाए वा नलगाएको, सेनिटाइजरको प्रयोग भए वा नभएकोतर्फ ध्यान दिएको पाइँदैन । 

प्रहरी उपरीक्षक दासका अनुसार, आइतबार नियम विपरीत चलाइएका २१ र शनिबार १८ सवारीसाधनलाई कारबाही गरिएको छ । संक्रमण तीव्र रूपमा बढेका कारण नागरिक पनि सचेत हुनुपर्ने र तोकिएको मापदण्ड पूर्ण रूपमा पालना गर्नुपर्ने उनको भनाइ छ । 

सिडिओ भन्छन्– बैठक बस्दै छौँ

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भीडभाड कम गर्नकै लागि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको बताउँछन् । 

‘सवारीसाधन कम हुँदा मानिसको आवतजावत कम हुने र यसबाट कोरोना संक्रमण केही हदसम्म नियन्त्रण गर्न सकिने आधारमा जोरबिजोर प्रणाली लागू गरिएको हो,’ उनले टेलिफोनमा भने, ‘तोकिएको मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिएका छौँ ।’ 

सवारी साधनमा मात्र नभई अन्य क्षेत्रमा पनि प्रतिबन्ध लगाइएको उनले बताए । सोही अनुसार कार्यान्वयन भएको र यसबाट केही हदसम्म कोरोना संक्रमणको चेनब्रेक हुने उनको भनाइ छ । जोरबिजोर प्रणालीका विषयमा गुनासो आएकाले चाँडै थप निर्णय गर्ने पनि उनले बताए । ‘तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छौं, यसमा छलफल गरेर आवश्यक निर्णय लिनेछौं,’ उनले टेलिफोनमा भने । 
 

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, माघ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्