डेंगुले ७ जनाको ज्यान गइसक्यो, सरकारले महामारी घोषणा गर्छ कि गर्दैन? : सांसद अधिकारी
काठमाडौं, भदौ २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगुले सात जनाको मृत्यु भइसकेको र हजारौं संक....

काठमाडौं, भदौ २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगुले सात जनाको मृत्यु भइसकेको र हजारौं संक्रमित भएकाले स्वास्थ्य क्षेत्रको संकटकाल घोषणा गर्नु पर्ने बताएका छन्।
बुधबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले सरकारको बेवास्ताले मान्छे मरिरहेको बताएका छन्।
‘केही वर्षअघि पश्चिमका केही जिल्लामा देखिएको डेंगु अहिले राजधानीको टाउको दुखाइ बनेको छ। सात जनाको मृत्यु भइसकेको छ। हजरौं संक्रमित भएका छन्,’ सांसद अधिकारीले भने, ‘यसले आम जनतामा त्रास र भयको वातावरण सिर्जना भएको छ। सरकारबाट आधिकारिक दृष्टिकोण नआउदा जनता असमञ्जसतामा परेका छन्।’
डेंगु नियन्त्रणका लागि सरकार कतै नदेखिएको उनको भनाइ थियो। ‘सरकार कहाँ छ? के गर्दै छ? जनता यहि प्रश्न सोध्दैछन्,’ उनले प्रश्न गरे, ‘महामारी रोक्न सरकारले के गर्दै छ?’
उनले स्वास्थ्य क्षेत्रमा संकटकाल घोषणा गरेर लाग्नु पर्ने बेला आएको बताए। ‘अहिले ७७ मध्ये ५६ जिल्लामा फैलिएको यो रोग राष्ट्रिय महामारी हो कि होइन? राष्ट्रिय विपत्ती मान्नु पर्छ कि पर्दैन? स्वास्थ्यको क्षेत्रमा संकटकाल घोषणा गर्नु पर्छ कि पर्दैन?,’ सांसद अधिकारीले प्रश्न गरे, ‘के सरकार कुम्भकर्ण निद्राबाट ब्युझिन चाहदैन? कति जना मरेपछि महामारीको रुप लिन्छ? सरकार कति जना मरेपछि महामारी घोषण गर्छ?’
उनले निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न माग गरेका छन्। अहिले परीक्षण गर्न र उपचार गर्न नसकेर नागरिक अप्ठ्यारो परेको बताए।











-1784808429.png)