राष्ट्रिय गान नबजाए पशुपतिको आरती नै बन्द गर्ने चेतावनी
काठमाडौं, भदौ २४ : पशुपति क्षेत्र विकास कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको निर्देशन विपरीत आरती सुरू गर्नुअघि ....
काठमाडौं, भदौ २४ : पशुपति क्षेत्र विकास कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको निर्देशन विपरीत आरती सुरू गर्नुअघि राष्ट्रिय गान बजाउन छाडेको भन्दै आरती नै बन्द गरिदिने चेतावनी दिएको छ।
कोषले मन्त्रीको निर्देशन पालना नगरेको भन्दै आरती नै बन्द गर्ने चेतवानी दिएको हो। बागमती आरती परिवारले सोमबार साँझ राष्ट्रिय गानको धुनविना आरती गरेको थियो। आरती परिवारले भने भक्तजनहरुले आरती अघिको राष्ट्रिय गानमा रुची नदेखाएपछि सोमबार बन्द गरेको जनाएको छ।
तर, गत भदौ १३ गते पशुपति क्षेत्र विकास कोषमार्फत आरती अघि राष्ट्रिय गान बजाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले निर्देशन दिएपनि अटेरी गरेको भन्दै कोषले आरती परिवारलाई आरती नै बन्द गर्न दबाब दिएको छ।
मन्त्री भट्टराईले आरतीअघि राष्ट्रिय गान बजाउन निर्देशन दिएको भन्दै २०६४ सालदेखि आरती गर्दै आएको बागमती आरती परिवारलाई राष्ट्रिय गानको धुन बजाउन मंगलबार दबाब दिएको हो।
मन्त्री योगेश भट्टराईले भने आरतीको विषयमा कुनै पनि प्रतिक्रिया नदिने बताएका छन्। ‘अहिले पशुपतिको आरतीको विषयमा म कुनै पनि प्रतिक्रिया दिन्न, पछि दिनेछु,’ मन्त्री भट्टराईले काठमाडौंप्रेससँग भने।
राष्ट्रिय गान बजाउन दिएको निर्देशनको सामाजिक सञ्जालदेखि संस्कृतविद्हरुले चर्को विरोध गरिरहेका छन्। पशुपतिमा मन्त्री भट्टराईले आरतीलाई राष्ट्रियतासँग जोड्नु संस्कृतिमाथिको हस्तक्षेप समेत भन्दै विरोध जनाइरहेका छन्।
पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा.गोविन्द टन्डनले आरती अघि राष्ट्रिय गान बजाउनु गलत भएको बताए। टन्डनले संस्कृतिलाई राष्ट्रियतासँग जोड्न नहुने बताए।






