Kathmandu Press

ठूला परियोजनाबारे छलफल नै नगरी फर्किए चिनियाँ विदेशमन्त्री वाङ 

काठमाडौं, भदौ २४ : तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन्।

दुई देशबीच ठूला परियोजनामा छलफल र सम....

ठूला परियोजनाबारे छलफल नै नगरी फर्किए चिनियाँ विदेशमन्त्री वाङ 

काठमाडौं, भदौ २४ : तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन्।

दुई देशबीच ठूला परियोजनामा छलफल र सम्झौता हुने भनिए पनि सामान्य तीन वटा सम्झौता मात्रै भएका छन्। ठूला परियोजनाका विषयमा छलफल समेत नभएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। 

चीनका विदेशमन्त्री वाङ नेपालाई केही थान टेन्ट र केही करोड रुपैयाँ सम्झौता गरेर फर्किदा भारतबाट पनि सिधैँ पाइपलाइनमार्फत अमलेखगञ्जमा तेल झेरेको छ। जसको उद्घाटन संयुक्तरुपमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन्।

सोमबारको परराष्ट्रमन्त्रीस्तरीय वार्तामा नेपाल र चीनबीच तीन वटा सम्झौतामा हस्ताक्षर भएको थियो। सहमति अनुसार चीनले नेपालको हिमालपारीको जिल्ला भनेर चिनिने मनाङमा ३५ करोड ६० लाख रुपैयाँ लगानीमा अस्पताल बनाइदिने सम्झौता गरेको छ। 

चीन सरकारले आपतकालीन सेवाका लागि गृह मन्त्रालयलाई पाँच हजार टेन्ट र वर्षाका कारण बाढीपहिरोबाट प्रभावितलाई १ करोड ६० रुपैयाँ सहयोग उपलब्ध गराउने सहमति भएको छ। टेन्ट र करोडका सम्झौता भएकोमा सरकारको आलोचना भइरहेको छ। 

दुई पक्षीय छलफलमा चीनले अघि सारेको ‘वान वेल्ट वान रोड’ देखि रेलमार्गसम्मका कुरा अगाडि सार्दै आएको छ। नेपालले पनि ठूला परियोजना लगानी गर्न आग्रह गर्दै आएको थियो। सोही सन्दर्भमा भएको विदेशमन्त्री वाङको भ्रमणमा धेरै विषयहरु अगाडि बढ्ने अपेक्षा गरिएको थियो।

तर टेन्ट र केही करोडको अस्पताल निर्माणका लागि भएको सम्झौताले नेपालको चीन नीतिले नयाँ तरंग निर्माण गरेको छ। चीनले नेपाल वायुसेवा निगमलाई हालसम्म पनि चीनमा उडान गर्न दिएको छैन। जसका कारण राष्ट्रिय ध्वजाबाहकले चीन गन्तव्य पाउन सकेको छैन। यसपटकको विदेशीमन्त्रीस्तरीय छलफलमा समेत हवाइका विषयमा कुनै उठेन।

नेपालले चीनका टेन्ट र केही करोडमा सम्झौता गर्नु गलत भएको बताउँछन् पूर्व परराष्ट्रमन्त्री समेत रहेको नेपाली कांग्रेसका नेता डा. रामशरण महत। नेपालले के–के विषयमा कुरा र सम्झौता गर्ने तयारी नगरेको वा चीनले नचाहेको दुवै विषय हुनसक्ने तर्फ महतले संकेत समेत गरेका छन्। छिमेकी देशसँग गर्न नसक्ने ठूला परियोजनामा मात्रै काम गर्नुपर्ने तर सरकार अन्यत्र लागेकोमा उनले गुनासो समेत गरे।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा ९ वटा परियोजनामा विषयमा छलफल हुने भनिएको थियो। विदेश मन्त्री वाङ यीले बीआरआई परियोजनालाई विशेष चासो दिनेगरी नेपालसँग छलफल गर्ने अपेक्षा समेत गरिएको थियो। ‘नेपालले कुनै पनि परियोजनाका ठोस् तयारी नै नगरी छलफलमा बसेपछि कुनै पनि विषयले प्रवेश नै पाएन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने। 

नेपालले चिनियाँ राष्ट्रपति सी जिङ फिङले अगाडि सारेको बीआरआई परियोजनामा हस्ताक्षर गरेता पनि कुनै पनि आयोजना ठोस रुपमा अघि बढाउन नसकिरहेका बेला विदेशमन्त्री वाङको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको थियो। 

चीनले बीआरआई परियोजनामा अघि बढाउन नेपालले नै गम्भीर चासो नदिएको गुनासो गर्दै आएको छ। यसपटकको चिनियाँ विदेशमन्त्री वाङको भ्रमणमा पनि बीआरआई परियोजनामा नेपालले चासो नदिनु गम्भीर विषय भएको ती अधिकारीको बुझाइ छ। 

बीआरआई परियोजनामा गल्छी–रसुवागढी केरुङ ४०० केभी अन्तरदेशीय प्रसारणलाइन, ७६२ मेगावाट क्षमताको जलाशययुक्त तमोर जलविद्युत आयोजना, ४६२ मेगावाटको अर्धजलाशाययुक्त फुकोट–कर्णाली जलविद्युत आयोजना, केरुङ–काठमाडौं रेलमार्ग र मदन भण्डारी टेक्निकल इन्स्टिच्युटलगायतका आयोजनाका विषय नेपालले अघि सारेको छ।

त्यसैगरी, रसुवागढी–काठमाडौं सडक स्तरोन्नती, किमाथाङका हिले सडक निर्माण, दीपायलदेखि चिनियाँ सीमावर्ती क्षेत्रसम्म सडक निर्माण, टोखा विदुर सडक रहेका छन्। नेपालले ३६ वटा आयोजनालाई बीआरआईमा समावेश गर्न यसअघि अनुरोध गरेपछि चीनले ती आयोजनाबाट छनोट गरेर एकल अंकका आयोजना मात्रै पहिलो चरणमा उपलब्ध गराउन भनेको थियो। सोही आधारमा नेपालले ९ वटा परियोजना छनोट समेत गरिसकेको छ। 

विदेशमन्त्री वाङको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिङ फिङको नेपाल भ्रमणसँग पनि जोडिएको थियो। खासगरी विदेशमन्त्रीको भ्रमणका क्रममा ९ वटा आयोजनालाई अघि बढाउने र चिनियाँ राष्ट्रपति सीको भ्रमणमा मार्ग प्रशस्त गर्ने तयारी समेत गरिएको थियो। 
 

प्रकाशित मिति: १७:२५ बजे, मंगलबार, भदौ २४, २०७६