इन्डक्सन चुलो : बजार ठुलो, माग कम
नाकाबन्दी र लकडाउनका बेला इन्डक्सन चुलो धेरै बिक्री भएको तर अहिले माग कम भएकाे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी शर्मिला सुवेदीले बताइन्।काठमाडौं, माघ ५ : २०७२ सालमा भारतले ६ महिना नाकाबन्दी गर्दा अन्य विभिन्न अत्यावश्यक सामग्रीसँगै खाना पकाउने ग्यास (एलपी ग्यास) को पनि चरम अभाव भएको थियो। त्यतिबेला चौतर्फी रूपमा विद्युतीय चुलो (इन्डक्सन चुलो) प्रयोगमा जोड दिनुपर्ने आवाज उठेको थियो। यतिखेर नेपाल विद्युत् प्राधिकरणल बिजुलीको खपत बढाउन इन्डक्सन चुलो आदिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने सुझाउँदै आएको छ। तर, इन्डक्सन चुलो प्रयाेग भइरहे पनि अपेक्षाकृत रूपमा त्यसको माग भने नभएको पाइएको छ।
नाकाबन्दीको अवस्थामा एलपी ग्यासको आयात रोकिएपछि सहरी क्षेत्रमा विकल्पका रूपमा दाउराको पनि प्रयोग भएको थियो। त्यति नै बेला विद्युतीय चुलो (इन्डक्सन चुलो) को माग पनि एकदम बढेको थियो। तर, अहिले इन्डक्सन चुलोका माग त्यति नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी शर्मिला सुवेदीले बताइन्। ‘अहिले इन्डक्सन चुलोको माग खासै छैन,’ उनले भनिन्, ‘त्यसकारण इन्डक्सन चुलो खरिद प्रक्रिया अगाडि बढ्न सकेन।’
लिमिटेडले २०७६ सालदेखि हालसम्म ७ हजार ७ सय १ थान मात्र इन्डक्सन चुलो बिक्री गरेको उनले बताइन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुनुअघि नेपाल खाद्य संस्थानमा स्टक रहेको इन्डक्सन चुलो बिक्री गरिएको उनले जानकारी दिइन्।
मन्त्रिपरिषद्ले २०७६ साउन २८ गते गरेको निर्णयअनुसार खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई गाभेर ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड’ गठन गरिएको हो। यी दुई कम्पनी मर्ज हुनुअघि ७ हजार ४ सय ३५ थान इन्डक्सन चुलो रहेको सूचना अधिकारी सुवेदी बताइन्।
‘लिमिटेड भएपछि दुईपटक मात्र इन्डक्सन चुलो खरिद गरियो, दुईपटक नै १ सय ३३ गरी जम्म २३३ वटा इन्डक्सन चुलो ल्याइएको हो,’ उनले भनिन्, ‘कोभिडको सुरुवाती दिनमा ग्याँस नपाइने डरले अलि धेरै बिक्री भए पनि पछि त्यति धेरै बिक्री हुन सकेको छैन।’
नाकाबन्दी र लकडाउनका बेला इन्डक्सन चुलो धेरै बिक्री भएको उनले बताइन्। ‘आपतकालीन अवस्थामा मात्रै इन्डक्सन चुलो सम्झिने स्थिति छ,’ उनले भनिन्।
खाद्य संस्थानले २०७२ देखि २०७६ पुससम्म २ सय २४ थान मात्र इन्डक्सन चुलो बिक्री गरेको थियो। लगत्तै माघमा २ सय ८ र फागुनमा २ सय ५१ इन्डक्सन चुलो बिक्री भएको तथ्यांक छ। ‘२०७६ चैतमा कोरोनाका कारण लकडाउन हुने कुरा आयो। ग्यास पाइँदैन भन्ने हल्ला पनि चल्यो,’ उनले काठमाडौं प्रेससँग भनिन्, ‘त्यतिबेला इन्डक्सन चुलोको बिक्री ह्वात्तै बढ्यो।’
२०७६ चैत २ गतेदेखि ९ गतेसम्म एक सातामै २ हजार ३ सय ८२ थान चुलो बिक्री भयो। सोही महिनाको ११ देखि २३ गतेसम्म दुई साताको अन्तरालमा ४ हजार ३ सय ६२ थान बिक्री भएको उनले जानकारी दिइन्। ‘सबैभन्दा धेरै बिक्री भएको भनेको त्यहीबेला हो,’ उनले भनिन्।
संस्थानले एउटा इन्डक्सन चुलो ४ हजार रुपैयाँमा बिक्री गर्ने गरेको भए पनि यतिखेर खरिद र बिक्री केही नभएको उनले सुनाइन्।
‘अवस्था हेरेर मात्र चुलो खरिद गरिनेछ’
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड विशेषतः खाद्यान्नसम्बन्धी कारोबार गर्ने संस्था हो। तर, पछिल्लो समय त्यसले सेवाग्राहीको मागअनुसार अन्य सामग्री पनि खरिदबिक्री गर्ने गरेको छ। त्यसमा इन्डक्सन चुलो पनि पर्छ।
‘बजारमा माग भए खरिद गरेर ल्याउँथ्यौं तर माग नभएपछि ल्याइएको छैन।,’ सूचना अधिकारी सुवेदीले भनिन्। पहिला धेरै नाफा नराखी इन्डक्सन चुलो बिक्री गरिएको उनले बताइन्। आगामी दिनमा मागको अवस्था हेरेर मात्र चुलो खरिद गरिने उनको भनाइ छ।
‘सार्वजनिक खरिद ऐन नबन्दा झन्झटिलो’
खरिद ऐन नबन्दा झन्झिटिलो भएकाले पनि इन्डक्सन चुलो खरिद नगरिएको उनको भनाइ छ। मर्ज भएको दुई वर्ष पुगिसक्दा पनि सार्वजनिक खरिद ऐन छलफलमै छ। खरिद ऐन बने केही सहज हुने उनको भनाइ छ।
‘ऐन अभावमा खरिद प्रक्रिया पूरा गर्न लामो समय लाग्छ। जसले गर्दा खरिद प्रक्रिया थाल्ने र सामग्री बिक्री गर्ने बेलाको मूल्य फरक भइसक्छ,’ सूचना अधिकारी सुवेदीले भनिन्, ‘अब भने अवस्था अध्ययन गरेर मात्रै इन्डक्सन चुलो किन्ने योजना छ।’
माग बढ्नेघट्ने भइरहन्छ : व्यवसायी
लोडसेडिङ नहुने भएपछि बजारमा इन्डक्सन चुलोको माग बढेसँगै विभिन्न ब्रान्डका विद्युतीय चुलो आउन थालेको व्यवसायीहरूले बताएका छन्। उनीहरूका अनुसार अहिले बजारमा इन्डक्सन चुलोमा प्रतिस्पर्धा नै चलेको छ।
अहिले बजारमा विद्युत्बाट चल्ने चुलोमा इन्डक्सन र इन्फ्रारेड गरी दुई खालका छन्। यस्ता चुला प्रायः २२ सय वाटका हुन्छन्। पहिले इन्डक्सनभन्दा इन्फ्रारेड चुलोको बढी बिक्री हुन्थ्यो।
इन्फ्रारेडमा सबै धातुका भाँडामा खाना पकाउन सकिने भएकाले पनि यसको माग धेरै थियो। तर अहिले भने सफा देखिने र त्यसमा प्रयोग हुने भाँडाकुँडा पनि सहजै पाइन थालेकाले इन्डक्सन चुलो नै खोज्ने उपभोक्ता धेरै रहेको असनका व्यापारी हरिसिद्धनाथ श्रेष्ठले बताए।
‘इन्डक्सनको तुलनामा इन्फ्रारेड चुलोले बिजुली खपत बढी गछर्,’ उनले भने, ‘तर अहिले ग्यास चुलोजस्तै दुईवटा भाडाँमा एकैचोटि पकाउने मिल्ने चुलो (दुईमुखे) आएकाले इन्फ्रारेड खोज्ने ग्राहक पनि बाक्लै आउने गरेको छ।’
हाल बजारमा इन्डक्सन चुलोको माग इन्फ्रारेडको भन्दा धेरैले वृद्धि हुँदै गएको भृकुटी इम्पेक्सका सञ्चालक निकेश घिमिरेले पनि बताए। केही वर्षसम्म पनि १०–१२ हजार रुपैयाँभन्दा कममा इन्डक्सन चुलो पाउन मुस्किल हुन्थ्यो तर अहिले २ हजार रुपैयाँजतिमै यो चुलो पाइन्छ। व्यवसायीहरूका अनुसार बजारमा २ हजार देखि ९ हजार रुपैयाँसम्मका इन्डक्सन चुलो उपलब्ध छन्।
ब्रान्डेड चुलो नै पनि साढे ३ हजार रुपैयाँ हाराहारीमा पाइन्छन्। डाइमन्ड ब्रान्डको इन्डक्सनको मूल्य २५ सय रुपैयाँभन्दा माथिबाट सुरु हुन्छ। अहिले नेपाली बजारमा दर्जनभन्दा बढी ब्रान्डका इन्डक्सन चुलो आउने गरेको छ।
नेपाली बजारमा उपलब्ध इन्डक्सन चुलोमध्ये धेरैजसो चिनियाँ र भारतीय ब्रान्डका छन्। युरोपेली ब्रान्डका इन्डक्सन पनि नेपाली बजारमा भेटिन्छन्। कोभिड सुरु हुनुअघि बाल्ट्रा कम्पनीको इन्डक्सनको बिक्री सबैभन्दा बढी हुने गरेको भए पनि पछिल्ला केही महिनायता सो चुलोको बजार फेरिएको सम्बन्धित बिक्रेताहरू बताउँछन्।
यतिबेला बाल्ट्राबाहेक इलेक्ट्रोन, यसुदा, सोभन, अमृत, सनसाइन, अगेनो, डाइमन्ड, प्रेस्टिजलगायत ब्रान्डका इन्डक्सन पनि धेरै बिक्री हुनेमध्येमा पर्ने व्यवसायीहरू बताउँछन्। ‘मध्यम तथा राम्रो गुणस्तरका इन्डक्सनमा कम्तीमा एक वर्षको वारेन्टी पनि दिने गरिएको छ,’ व्यवसायी निकेशले भने।
नेपालमा धेरै चलेका ब्रान्डमध्येको बाल्ट्रा कम्पनीको इन्डक्सन चुलोको मूल्य ३५ सयदेखि ३८ सय रुपैयाँसम्म पर्छ। इलेक्ट्रोन ब्रान्डको इन्डक्सन पनि ४५ सयदेखि ५ हजार रुपैयाँमा आउँछ। यस्तै, भारतीय ब्रान्ड प्रेस्टिजको इन्डक्सन पनि कम्तीमा ५५ सय रुपैयाँमा किन्न सकिन्छ।
बिजुलीबाटै चल्ने इन्फ्रारेड चुलोको मूल्य भने सस्ता इन्डक्सन चुलोको भन्दा केही बढी रहेको छ। एकमुखे (सिंगल) इन्फ्रारेड चुलो ४५ सय रुपैयाँ र डबल (दुईमुखे) इन्फ्रारेड चुलोको मूल्य ९ हजार रुपैयाँ पर्ने यवसायीहरूले बताए।
कस्ता भाँडा प्रयोग हुन्छन्?
पहिले बजारमा आउने इन्डसन चुलोमा इन्डक्सन बेस भएका स्टिलका भाँडा मात्र प्रयोग हुने भए पनि अहिल सबैखाले भाँडा लाग्ने इन्डक्सन पाइन्छन्। इन्डक्सन बेस भएका यस्ता भाँडा खासगरी स्टिल, फलाम र तामाका हुन्छन्।
खासगरी बजारमा कराई, कुकर, किट्ली, ताप्केलगायत विभिन्न डिजाइनका इन्डक्सनमा लाग्ने भाँडा पाइन्छन्। यस्ता भाँडा कम्तीमा ६ सय रुपैयाँबाट सुरु भएर ब्रान्ड, गुणस्तर, आकारप्रकारअनुसार ८ देखि १० हजार हाराहारीसम्म पर्ने गर्छ। इन्डक्सन चुलोमा आल्मुनियम र सिल्भरका भाँडाहरू भने प्रयोग गर्न सकिन्न।