आज काठमाडौं र नयाँ दिल्लीमा स्वीच थिचेर पेट्रोलियम पाइपलाइन उद्घाटन गरिँदै
काठमाडौं, भदौ २४ : आज नेपाल र भारतका प्रधानमन्त्रीले अन्तरदेशीय पेट्रोलियप पाइपलाइन परियोजनाको उद्घाटन गर्ने भएका छन्। अपराह्न १२ः१५ बजे दुवै देशका प्....
काठमाडौं, भदौ २४ : आज नेपाल र भारतका प्रधानमन्त्रीले अन्तरदेशीय पेट्रोलियप पाइपलाइन परियोजनाको उद्घाटन गर्ने भएका छन्। अपराह्न १२ः१५ बजे दुवै देशका प्रधानमन्त्रीले पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
भारतको मोतिहारीबाट अमलेखगन्जसम्म बिछ्याइएको पाइपलाइन परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गर्ने भएका छन्। नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत एकैसाथ स्वीच थिचेर परियोजनाको उद्घाटन गर्ने तयारी गरिएको छ।
उद्घाटनसँगै मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रने छ। पहिलो चरणमा पाइपलाइनबाट डिजेल ल्याइने छ। यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइनेछ।
मोतिहारी–अमलेखगन्ज पाइपलाइनको दूरी ६९.२ किलोमिटर रहेको छ। जसमा नेपालतर्फ २६.२ र भारततर्फ ३३.६९ किलोमिटर रहेको छ।
पाइपलाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने पेट्रोलियम पाइपलाइन परियोजनाले जनाएको छ। परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने छ।
नेपालमा खपत डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएकोले पनि पाइपलाईनले सहज हुने नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए।
नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले इलेक्ट्रिक स्वीच थिची उद्घाटन गरेपछि तत्काल पाइपमार्फत डिजेल आउन शुरु हुने गोईतले बताए।
यो परियोजनामा चार अर्ब ४० करोड रुपैयाँ लागेको हो।






