वैचारिक र नैतिक चरित्रका दृष्टिले खस्किएका छौं : प्रचण्ड
काठमाडौं, भदौ २३ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सबैले स्वीकार गर्ने पार्टीका रूपमा अगाडि बढाउनुपर्ने बताएका छन्।
काठमाडौं, भदौ २३ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सबैले स्वीकार गर्ने पार्टीका रूपमा अगाडि बढाउनुपर्ने बताएका छन्।
नेकपाद्वारा आज केन्द्रीय कार्यालयमा आयोजित शहीद सुरेश वाग्ले ‘वासु’ को २१औँ स्मृतिसभामा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले पछिल्लो समयमा पार्टीका नेताहरु अलि बढी आत्मकेन्द्रित र व्यक्तिकेन्द्रित हुँदै गएको बताए। सबैलाई स्वीकार हुने गरी जनताको सेवामा समर्पित पार्टी बनउनेतर्फ केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए।
‘हामीले कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाएका छौँ, लोकप्रिय मत पाएका छौँ, बहुमतको सरकार छ, तर वैचारिक र नैतिक चरित्रका दृष्टिले खस्किएका छौँ, जनताको आवश्यकताभन्दा पनि हाम्रो आवश्यकतालाई महत्व दिएका छौँ,’ प्रचण्डले भने।
उनले पार्टीलाई जनतामा समर्पित गर्न सकेको खण्डमा मात्र शहीदकोे वास्तविक सपनामा पूरा हुने बताए। ‘कमरेड वासु वैचारिक, बलिदान, बौद्धिक र निष्ठा र चरित्रको हिसाबले अत्यन्त उच्च तहमा हुनुहुन्थ्यो, उहाँबाट हामीले पनि सिक्नुपर्ने हुन्छ,’ उनले भने।
पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकता प्रक्रिया जतिसक्दो चाँडो सक्ने तयारी भइरहेको बताउँदै शहीदको सपना पूरा गर्न नयाँ सङ्कल्पसहित अगाडि बढ्ने बताए। ‘हामीले पार्टीलाई जति गतिशील बनाउन सक्छौँ त्यति नै शहीद सुरेश वाग्लेको सपना पूरा गर्न सक्छौँ,’ उनले भने।
नेकपा प्रचार विभाग प्रमुख तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको सम्पूर्ण काम टुङ्गो लागेपछि पार्टीले जनताको आवश्यकतानुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।











-1784808429.png)