Kathmandu Press

पैतृक सम्पतिमा कर लगाउँदा अर्थतन्त्रसँगै पारिवारिक र सामाजिक क्षेत्रनै डगमगाउँछ : विनोद चौधरी

काठमाडौं, भदौं २२ : सांसद तथा उद्योगी विनोद चौधरीले पैतृक सम्पतिमा कर लगाउन नहुने बताएका छन्। नेपालका एक मात्र अर्बपति चौधरीले प्रतिनिधि सभाको बैठकमा ....

पैतृक सम्पतिमा कर लगाउँदा अर्थतन्त्रसँगै पारिवारिक र सामाजिक क्षेत्रनै डगमगाउँछ : विनोद चौधरी

काठमाडौं, भदौं २२ : सांसद तथा उद्योगी विनोद चौधरीले पैतृक सम्पतिमा कर लगाउन नहुने बताएका छन्। नेपालका एक मात्र अर्बपति चौधरीले प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर पैतृक सम्पत्तिमा समेत कर लगाउने हल्लाले अर्थतन्त्र मात्रै नभई पारिवारिक र सामाजिक क्षेत्रमा विकृति ल्याउने बताएका हुन्।

उनले यस्ता हल्लाले अर्थतन्त्र ढगमगाउनुको साथै समाजिक क्षेत्रमा समेत विकृति आउने तर्फ सचेत हुन आग्रह गरेका छन्। करलाई उत्पादनसँग जोड्न नसके र व्यापारलाई प्रतिस्पर्धी बनाउन नसके योजना कागजमा मात्रै सिमित हुने उनले दावी गरेका छन्।

‘अझ अहिले त पैतृक सम्पत्तिमा समेत कर लगाउने हल्ला आइरहेकोले यसले गम्भीर विकृति निम्त्याउने छ,’ चौधरीले भने। सांसद चौधरीले अर्थमन्त्री डा. युवराज खतिवडाप्रति लक्षित गदैं विश्वमा सबैभन्दा बढी ३० प्रतिशत कर लगाउने मुलुक नेपाल भएको बताए।

उनले नयाँनयाँ कर लगाउनमा अर्थमन्त्री खतिवडा तल्लीन रहेको आरोप समेत लगाएका छन्। ‘७५३ वटा सरकारलाई पैसा चाहिएको छ । अर्थमन्त्रीलाई कर लगाउने नयाँ विधि चाहिएको छ,’ उनले भने।

करलाई उत्पादनसँग जोड्न आग्रह गर्दै चौधरीले व्यापारलाई प्रतिस्पर्धी बनाउन सकेनौं भने योजना असफल भएर प्रणालीनै समस्यामा जानेतर्फ सचेत हुन आग्रह गरेका छन्।

सातै वटा प्रदेशमा औद्योगिक ग्राम खोल्ने सरकारले योजना अपुरो र अधुरो रहेको भन्दै अहिलेसम्म एउटा पनि औद्योगिक ग्राम नखुलेको बताए।

बढ्दो आयात घटाउन नसक्नु सरकारकै कमजोरी रहेको बताउँदै ६ खर्बभन्दा बढीको कृषिजन्य वस्तुको आयातले व्यापार घाटा बढेको प्रति सबैपक्ष गम्भीर बन्नुपर्नेमा उनले जोड दिएका छन्।

प्रकाशित मिति: १५:०४ बजे, आइतबार, भदौ २२, २०७६