Kathmandu Press

पार्टी चलाउने एकल जिम्मा प्रचण्डलाई दिनुपर्छः ज्ञवाली 

काठमाडौं,  भदौ २१ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्र....

पार्टी चलाउने एकल जिम्मा प्रचण्डलाई दिनुपर्छः ज्ञवाली 

काठमाडौं,  भदौ २१ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्था लागू गर्नु पर्ने बताएका छन्। 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी चलाउने एकल जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिनुपर्ने बताएका हुन्। 

ज्ञवालीले नेकपाभित्र अहिले ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को बहस सुरु भइसकेको स्पष्ट पारे। उनले भने,‘हाम्रो पार्टी अहिले सत्तामा छ। वडाअध्यक्षदेखि प्रधानमन्त्रीसम्म छन्। सरकार र पार्टी सञ्चालन गर्नु दुवै विषय उत्तिकै महत्वपूर्ण छ। त्यसैले एक व्यक्ति एक प्रमुख जिम्मेवारी दिनुपर्छ।’

ज्ञवालीले पार्टी र सरकारबीच अन्तरसम्बन्ध रहेको बताए।  तर, पार्टी र सरकार चलाउने अलग–अलग विधान रहेको उनको भनाइ छ। उनले भने,‘सरकार जनतामा आधारित छ। पार्टी पनि जनआधारित हुन्छ। नेकपा जनआधारित कार्यकर्ता आधारित पार्टी हो। पार्टीभित्र एक व्यक्ति, एक प्रमुख जिम्मेवार दिनुपर्ने कुरा टेक्निकल जस्तो लाग्न सक्छ। तर, अब यसलाई लागू गर्नुपर्छ। अहिले त आवाज उठ्न थालिसकेको छ।’

अहिलेपनि पार्टीका नेता तथा कार्यकर्ताहरु सरकार र पार्टीको प्रमुख जिम्मेवारीसहित दोहोरो भूमिकामा रहेको सुनाउँदै ज्ञवालीले यसले राम्रो नतिजा नदिने टिप्पणी गरे। उनले भने,‘अहिलेपनि कुनै नगरपालिकाका प्रमुख, पार्टी कमिटिको अध्यक्षको रुपमा कार्यरत छन्। अब त्यहाँ के होला ? त्यहाँको कामको मुल्यांकन कसले गर्ने? त्यसैले यस्तो अवस्थामा राम्रो परिणाम राम्रो आउँदैन।’ 

उनले नेकपाभित्र अब चीन र रुसजस्तो एकै व्यक्तिले पार्टी र सरकार चलाउन नहुने बताए। उनले भने,‘हामी चीन र रुसलेजस्तो चलाउन सक्दैनौ। सरकार चलाउनको लागि प्रधानमन्त्रीको अत्यन्तै धेरै व्यस्तता हुन्छ। त्यसैले अब प्रधानमन्त्री सरकारमा मात्रै केन्द्रित हुनुपर्छ। पार्टीको जिम्मेवारी प्रचण्डलाई दिनुपर्छ। उहाँलाई सरकार चलाउनमा पार्टीभित्रबाट भरपुर सहयोग र समर्थन गर्नुपर्छ।’ 

पार्टीको महाधिवेशन नहुञ्जेलसम्म नेकपाभित्र दुई अध्यक्ष बाध्यता भएको उनको भनाइ छ। 
 

प्रकाशित मिति: १७:२८ बजे, शनिबार, भदौ २१, २०७६