Kathmandu Press

उहिले राजामहाराजाले बनाएको साँखुको राजकुलो, जहाँ अझै पानी बग्छ

कुनै समय राजाबाट राजकुलो व्यवस्थापनका लागि ‘ढप म्या’ भनी व्यक्ति विशेषलाई जिम्मेवारी दिइएको थियो । नेपाल भाषामा ढप भनेको ढल अनि म्या भनेको हेरचाह गर्ने मान्छे हो ।

काठमाडाैं, पुस २७ : महादेव पोखरीको पर्खाल वरपर केही जोर कपडा सुकाइएका थिए । पोखरीको बायाँतर्फ ज्योतिर्लिङ्गेश्वर महादेवको मन्दिर छ । मन्दिरकै दायाँपट्टि एक जमात बूढापाका घाम ताप्दै गफिइरहेका छन् । अर्कोतर्फ केटाकेटी रमाइरहेका छन् । यो घमाइलो र रमाइलो दृश्य २२ पुसमा देखिएको साँखुस्थिति ज्योतिर्लिङ्गेश्वर महादेव परिसरको हो ।

मन्दिर परिसरको दाहिने भागमा ढलान गरिएको कुलो नगरको सीमा बन्दै बगेको छ । साँखुकै उत्तरपश्चिममा रहेको देव ढोकाबाट उक्त कुलो विभिन्न कुनाकाप्चा हुँदै सहरभित्र पस्छ । हेर्दा सामान्य लाग्ने यो राजकुलोे साँखुको पहिचान हो । जानकारका अनुसार, तत्कालीन समयका राजामहाराजले राज्यस्तरबाट बनाउने कुलोलाई राजकुलो भनिन्थ्यो ।

अघिल्लोपटकको साँखु भ्रमणमा साँखुका स्थानीय प्रकाशमान श्रेष्ठ साख्वाले हामीलाई राजकुलोबारे अवगत गराएका थिए । साँखुका स्थानीय उनी संस्कृतिविद् समेत हुन् । उनी यसलाई देशमै एक मात्र सञ्चालित राजकुलो भन्छन् । ‘नेपालमा मात्र नभई एसियाममै यो एक मात्र राजकुलो हो,’ उनी भन्छन्, ‘अन्य स्थानमा राजकुलोको अवशेष मात्र छ । साँखु यस्तो क्षेत्र हो, जहाँ राजकुलोमा पानी बगिरहेको छ ।’ 

Hardik ivf

पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवर भने यसलाई एसियाको नभई नेपालको हालसम्म सञ्चालित एक मात्र राजकुलो भन्छन् । 

मुलुकी देवानी संहिता, २०७४ ले कुलोलाई सरकारी सम्पत्ति भनेको छ । 

तारातीर्थ मुहान 

साँखु नगरबाट उत्तरपूर्वी कुुुनामा रहेको तारातीर्थ मुहान यस राजकुलोको मुख्य स्रोत हो । यद्यपि, मुहानबाट कुलो लगाएर ल्याएको पानीमा साली नदीका नारायणेश्वर मुहान, लप्सी फेदीबाट आएको पानी पनि मिसिन आउँछ । 

राजकुलोको किनारलाई पछ्याउने क्रममा हामी ‘मखन ट्वाचा’ नामक स्थानमा पुग्यौँ । जहाँ एकै हाँगा बनेर बग्दै आएको राजकुलो उत्तरपश्चिम र दक्षिण दिशा गरी दुई भागमा विभाजित भएको छ । विभाजित दुई कुलोका शाखाहरु नगर तथा नगरबाहिरका ग्रामीण बस्तीमा फैलिएका छन् ।

कुलो छिचोल्दै जाँदा नगरबाहिरको उत्तरपूर्वी परिदृश्य लोभलाग्दो देखिन्छ । पातलो मानववस्ती अनि प्रशस्त कृषियोग्य जमिनले गाउँले र प्राकृतिक जीवन झल्काउँछ । 

तारातीर्थको मुहाननजिकै हामीले स्थानीय राधिका मल्ललाई भेट्यौँ । मुहानमा राजकुलोको बाँधका लागि उनको करिब एक आना जग्गा गएको छ । त्यसको कुनै क्षतिपूर्ति उनले माग गरेकी छैनन् । उनी भन्छिन्, ‘नगरमा आफ्नै दाजुभाइ दिदीबहिनी हुनुहुन्छ, माधव नारायणजस्तो व्रतका लागि पनि यहाँकै जल आवश्यक पर्छ । मेरो सानो सहयोगले नगरबाहिर र भित्र धेरै सहयोग भएको छ । यही नै मैले कमाएको धर्म हो ।’

महत्त्व

तारातीर्थ मुहानदेखि दक्षिणमा फाँट छन् । गेगेचा फाँट, सालीनदीको फाँट उर्वर भूमि हुन् । तिनको सिँचाइका लागि राजकुलो हुँदै पानी लगिएको छ ।

कृषि उत्पादनलाई मात्र नभई सामाजिक तथा धार्मिक कार्यका पनि राजकुलोको महŒव उत्तिकै भएको इतिहासविद् श्रेष्ठ बताउँछन् । हरेक वर्ष स्वस्थानी व्रत सुरु भएसँगै माधवनारायणको व्रत बस्ने गरिन्छ । राजकुलोबाट आउने पानी महादेव पोखरीमा आउँछ । पोखरीको पानी व्रतालुले आवश्यकता अनुसार लैजाने गर्छन् । तारातीर्थ मुहानमा उग्रतारा योगिनी आई स्नान गर्ने जनविश्वास पनि रहेको छ । 

नगरभित्र निखेबाहा स्थान छ । जहाँबाट राजकुलो फाटेर एउटा पुखुपाछी टोल भई दायाँतिर उत्तरपश्चिम र अर्को पश्चिमदक्षिणमा बगेको छ । यस ठाउँमा दशैँको जमरा विसर्जन गरिने श्रेष्ठ बताउँछन् । 

नगरभित्र बेवास्तामा राजकुलो

‘कुनै समय राजाबाट राजकुलो व्यवस्थापनका लागि ढप म्या भनी व्यक्ति विशेषलाई जिम्मेवारी दिइएको थियो,’ इतिहासविद् श्रेष्ठ भन्छन्, ‘नेपाल भाषामा ढप भनेको ढल अनि म्या भनेको हेरचाह गर्ने मान्छे हो ।’

उनका अनुसार, २०२१ सालमा तल्सिंह मोहियानी हक आएसँगै विभिन्न गुठी हराउँदै जाने क्रममा ‘ढप म्या’को गुठी बिलाएर गयो । त्यसपछि ग्राम पञ्चायत, गाविस हुँदै हाल शंखरापुर नगरपालिकाको जिम्मेवारीमा राजकुलोको व्यवस्थापन हुँदै आएकोे छ ।

पहिले राजकुलोको पानी सफा र कञ्चन हुन्थ्यो । दशकौंअघि रक्सी बनाउनेले घरनजिकै बग्ने राजकुलोको पानी प्रयोग गर्ने गरेको साँखुकी ७६ वर्षीया छलमाया श्रेष्ठ बताउँछिन् । ‘पहिले यसलाई  ढुंगाले मात्र छापेका थिए,’ उनी सम्झन्छिन्, ‘खानेपानीका लागि हिटीको पानी प्रयोग हुन्थ्यो, त्यस बाहेकका अन्य कामका लागि घरअघि बग्ने कुलोकै पानी पर्याप्त थियो ।’

कञ्चन तारातीर्थ मुहानबाट राजकुलो मखन ट्वाचा उत्तरपश्चिम हुँदै साँखुको देवढोका प्रवेश गरेको छ । अर्को शाखा कुलो मनोहरामा मिसिन गएको छ । तथापि, नगरभित्र भने राजकुलोको महत्त्व खासै देखिएको छैन । प्लास्टिक, बोतल, कागत आदि कुलोमा देखिन्छ । शंखरापुर नगरपालिका–७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठकुलो केही दूषित भएका कारण नगरभित्र राजकुलोमा नियमित पानी बग्दैन । यसका साथै, बेलाबेला स्थानीयको बेवास्ता र ढल निकासीमा देखिएको समस्याले राजकुलोमा ह्रास निम्त्याएको छ ।

पुनर्निर्माण 

पञ्चायतकाल (२०४२–४३)मा करिब साढे चार किलोमिटर कुलो पुनर्निर्माण गरिएको श्रेष्ठ बताउँछन् । परापूर्वकालदेखि ढुंगा छापेर ल्याइएको राजकुलोमा पञ्चायतकालमा आएर सिमेन्टका हिम पाइपको प्रयोग गरियो । 

गत आर्थिक वर्षमा नगर क्षेत्रमा राजकुलोको पुनर्निर्माण गरिएको शंखरापुर नगरपालिकाका सिभिल इन्जिनियर बालकृष्ण मानन्धर बताउँछन् । उनका अनुसार, नगरभित्रको मुख्य–मुख्य स्थान गरी करिब एक किलोमिटर राजकुलोको पुनर्निर्माण गरिएको थियो । 

यद्यपि, पुनर्निर्माणका कार्य टालटुल मात्र भएका छन् । राजकुलोको पूर्ण रूपमा पुनर्निर्माण भइनसकेको मानन्धरले जनाए । ‘राजकुलोको संरक्षण र संवद्र्धनमा नगरपालिका सचेत छ,’ उनले भने । 

आफैँमा प्राचीन सहर साँखुले ३३०० वर्षको इतिहास बोकेको छ । यस प्राचीन सहरको स्थापनासँगै यसलाई व्यवस्थित गर्नका लागि हिटी, पोखरी, धारा, राजकुलो आदिको निर्माण गरिएको ‘मणिसेल महावराण’ नेपाल भाषाको पुस्तकमा उल्लेख भएको इतिहासकार श्रेष्ठ बताउँछन् ।

प्रकाशित मिति: १५:११ बजे, मंगलबार, पुस २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्