Kathmandu Press

नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन दिन्नाैं : प्रचण्ड

काठमाडौं, भदौ २१ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छ....

नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन दिन्नाैं : प्रचण्ड
फाइल

काठमाडौं, भदौ २१ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन्। 

बेइजिङस्थित नेपाली राजदूतावास र चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले राजधानीमा शनिबार आयोजना गरेको नेपाल–चीन आर्थिक तथा व्यापार सहयोग मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दैै प्रचण्डले नेपाली भूमिमा चीनविरोधी गतिविधि गर्न नदिने प्रतिबद्धता जनाएका हुन्।

उनले एक चीन नीतिप्रति नेपालको स्थापित अडान पनि दोहोर्‍याए।  प्रचण्डले लगानीको उपयुक्त वातावरण बनाउन पूर्ण प्रतिबद्धताका साथ सरकारले काम गरिहरहेकाले नेपालमा लगानी गर्न आग्रह गरे।

उनले सरकारले सातवटै प्रदेशमा औद्योगिक विकासको प्रक्रिया बढाउन क्रियाशील रहेको बताए। ‘नेपाल र नेपालीले विकासका निम्ति हामीले बृहत्स्तरमा चिनियाँ सहयोगको अपेक्षा गरेका छौं,’ उनले भने।

नेपालमा लगानीको उपयुक्त वातावरण बनेको तथा लगानीमैत्री ऐनकानुनसमेत तर्जुमा भइसकेको जानकारी दिँदै प्रचण्डले नेपालमा लगानीका निम्ति चिनियाँ, व्यापारी, लगानीकर्ता, उद्यमी–व्यवसायीलाई आह्वान गरे। प्रचण्डले रोजगारीको अवसर सृजना र आर्थिक उन्नयनको नेपालको यात्रामा चिनियाँ पूँजी अपरिहार्य भएको बताए।

प्रचण्डले नेपालको निकटको छिमेकी चीन भरपर्दो विकासको साझेदार भएको बताएका थिए।
 

प्रकाशित मिति: १३:५९ बजे, शनिबार, भदौ २१, २०७६