चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेरै छोड्छुः देउवा
काठमाडौं, भदौ २० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारवाही गरेरै छोड्ने बताएका छन्।
भक्त....
काठमाडौं, भदौ २० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारवाही गरेरै छोड्ने बताएका छन्।
भक्तपुरको बोडेमा शुक्रबारदेखि शुरु भएको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले भने,‘पार्टीमा अन्तर्घात गर्नेलाई कारवाही हुन्छ, कारवाही गर्न कसले रोक्छ हेर्छु म? चुनावमा पार्टीलाई हराउनेलाई कारवाही गर्न नपाउने? कारवाही हुन्छ, हुन्छ।’
देउवाले चुनावमा पार्टी किन हार्यो? के साँच्चिकै पार्टीभित्र एकता भएर हारेको हो? भन्ने प्रश्न पनि गरे। उनले भने,‘टिकट पाइन भनेर एकले अर्कोलाई हराउन खोजेर हारेको हो। अन्तर्घातीलाई कारवाही हुन्छ।’
पार्टीभित्र एकता जरुरी रहेको बताउँदै देउवाले उपनिर्वाचनमा कांग्रेसले जित्नु पर्ने र त्यो जितको शुरुवात भक्तपुरबाटै हुनुपर्ने बताए। स्वतन्त्ररुपमा लेख्न र बोल्न नपाउने देशमा लोकतन्त्र फस्टाउन नसक्ने उनले टिप्पणी गरे। उनले सरकारले एकदलीय सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए।
कार्यक्रममा वरिष्ठ नेता पौडेलले सरकारको गलत कामविरुद्ध पार्टीले आवाज उठाउन नसकेको बताए।
‘दुई तिहाइको बलमा सरकारले संवैधानिक अङ्गदेखि विभिन्न क्षेत्रमा एकतर्फीरुपमा भर्ना गरिरहेको छ, कांग्रेसले आवाज उठाउन सकेन, रोक्न सकेन,’ उनले भने।
कांग्रेस सही बाटोमा हिँडे मात्रै देश सही बाटोमा हिँड्छ भन्दै पौडेलले पुरानै अन्धविश्वास, गुटउपगुटको एउटा एउटा हाँगो समातेर अन्धविश्वासतर्फ धकेलिँदै गएको नभई लोकतान्त्रीकरण गरेर जनताले खोजेको कांग्रेस बनाउन जरुरी रहेको बताए।
कार्यक्रमका सभापति एवं कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाका अनुसार शनिबारसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश नं ३ का काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका ३१० महाधिवेशन प्रतिनिधि सहभागी छन्।






