एमबीबीएसको प्रवेश परीक्षा रोक्न सर्वोच्चको आदेश
काठमाडौं, भदौ २० : सर्वोच्च अदालतले भोलि (शनिबार) हुने भनिएको त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थानको एमबीबीएसको ....
काठमाडौं, भदौ २० : सर्वोच्च अदालतले भोलि (शनिबार) हुने भनिएको त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थानको एमबीबीएसको प्रवेश परीक्षा रोक्न आदेश दिएको छ।
शुक्रबार सर्वोच्चका न्यायधीश तेजबहादुर केसीको एकल इजलासले एमबीबीएसको प्रवेश परीक्षा तत्काल स्थगन गर्न आदेश दिएको हो। उक्त विषयमा दुवै पक्षसँग छलफल गर्न आवश्यक भएको भन्दै परीक्षा सञ्चालन नगरी यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको छ।
नयाँ कानून अनुसार सार्वजनिक शिक्षण संस्थाले स्नातक तहको एमबीबीएस अध्ययनका लागि उपलब्ध सिट संख्याको कम्तीमा ७५ प्रतिशत सिट निशुल्क छात्रवृत्तिका लागि व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ। तर त्रिविले कानुन भए पनि ७५ प्रतिशत छात्रवृत्ति सिट उपलब्ध नगराई विज्ञापन गरेको भन्दै यसलाई रोक्न माग गर्दै विद्यार्थी आयुष ओझा सहितले सर्वोच्चमा रिट दायर गरेका थिए।
उनीहरुले चिकित्सा शास्त्र अध्ययन संस्थान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतलाई विपक्षी बनाएर कानून विपरीत तोकिएका प्रवेश परीक्षा रोक्न रिट निवेदनमा माग गरेका थिए।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भदौ २८ गते र काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सले असोज ४ गते तोकेको प्रवेश परीक्षा भने शुक्रबारको आदेशले रोकेको छैन। तर सर्वोच्चले अन्तरिम आदेशका विषयमा छलफल गर्न भदौ २५ गते सबै विपक्षीलाई बोलाएको छ।






