हिन्दू राष्ट्र र राजसंस्था निर्विकल्प बाटोः कमल थापा
बुटवल, भदौ २० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशका लागि अबको विकल्प हिन्दू राष्ट्र र राजसंस्था निर्विकल्प ब....

बुटवल, भदौ २० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशका लागि अबको विकल्प हिन्दू राष्ट्र र राजसंस्था निर्विकल्प बाटो भएको बताएका छन्।
पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले शुक्रबार रुपन्देहीको बुटवलमा आयोजना गरेको केन्द्रीय परिषद् बैठकको उद्घाटन गर्दैै थापाले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता असफल भइसकेको अबको विकल्प हिन्दू राष्ट्र नै भएको बताएका हुन्।
अध्यक्ष थापाले गणतन्त्र, संघीयता र धर्म निरपेक्षताबाट देश बनाउँछौं भन्ने र धर्म संस्कृतिलाई नष्ट गरेर मात्र देश बन्ने मान्यता राख्नेहरु असफल भइसकेको दाबी गरे।
थापाले कांग्रेस र कम्युनिष्टले विगत १२ वर्षदेखि देशलाई गलत बाटोबाट हिँडाएको र हालकै बाटोलाई निरन्तरता दिए देश असफल राष्ट्रको रुपमा पुग्ने ठोकुवा गरे।
थापाले युवाहरुको रगत र पसिना निर्यात गरेर नेपाली युवाहरुलाई मलेसिया तथा अरबको मरुभूमिका पठाएर देशले समृद्धि हासिल गर्न नसक्ने समेत बताए।
उनले देशमा लुटतन्त्र चलेको, भ्रष्टाचार बढेको सुन काण्ड, वाइडबडी काण्ड, बालुवाटारको जग्गा काण्ड लगायतका अनियमितता र भ्रष्टाचारमा सत्तारुढ दल तथा प्रमुख प्रतिपक्षको समेत संलग्नता र सहमतिमा भएको आरोप लगाए।
सरकार अहिले आफ्ना असफलतालाई ढाक्न विरोधी आवाजलाई निषेध गर्ने, आवाजलाई दबाउने जस्ता चेतावनीपूर्ण अभिव्यक्ति दिँदै हिडेकोमा थापाले आपत्ति जनाए।
गणतन्त्र ल्याउन विदेशी खुफिया एजेन्सीले देशको प्रधानमन्त्री भइसकेको र सत्तारूढ पार्टीको अध्यक्ष रहेका व्यक्तिलाई प्रयोग गरिएको भन्ने पुस्तकमार्फत सार्वजनिक हुनु नेपालीको शीर निहुरिने विषय भएको बताउँदै थापाले यो संवेदनशील विषय भएकाले संसदीय छानविनको माग पनि गरे।











-1784808429.png)