देशभर साढे २४ सयभन्दा बढीमा डेंगूको संक्रमण
काठमाडौं, भदौ २० : डेंगूको संक्रमण रोक्न सरकारले चासो नदिँदा देशभर फैलिएको छ। वैशाखमा धरानमा मात्रै देखिएको डेंगू संक्रमण शुक्रबारसम्म कर्णाली प्रदेशब....
काठमाडौं, भदौ २० : डेंगूको संक्रमण रोक्न सरकारले चासो नदिँदा देशभर फैलिएको छ। वैशाखमा धरानमा मात्रै देखिएको डेंगू संक्रमण शुक्रबारसम्म कर्णाली प्रदेशबाहेक देशका ४२ जिल्लामा देखिएको छ। सबैभन्दा बढी काठमाडौं उपत्यकामा देखिएको छ।
धरानमा वैशाख पहिलो साता डेंगू संक्रमण देखिएको थियो। तर, त्यसको नियन्त्रणका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारले चासो देखाएनन्। जसले गर्दा अहिले यो प्रकोपका रुपमै फैलिएको छ।
बुधबारमात्रै कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल र डेंगूको उपचारमा संलग्न १३ जना स्वास्थ्यकर्मीमा पनि डेंगूको संक्रमण देखिएको छ।
डेंगूको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार हुँदै आएको छ। उपचारमा संलग्न तीन जना चिकित्सकसहित १३ जना स्वास्थ्यकर्मीमा डेंगू देखिएको अस्पतालका सूचना अधिकारी रुपनारायण खतिवडाले जानकारी दिए।
उनका अनुसार वैशाखदेखि नै बिरामी फेला परेका भएपनि भदौमा निकै बढेको देखिएको छ। ‘जनशक्तिको अभाव छ, बिरामी बढिरहेका छन्। त्यसैले उपचारमा कठिनाइ भइरहेको छ,’ उनले भने। अहिले ३५ जना चिकित्सकको टोली उपचारमा खटिएको छ।
टेकु अस्पतालमा भदौ १ देखि उपचारका लागि आएका दुई हजार २१ जना बिरामीमध्ये ५० प्रतिशतमा डेंगूको संक्रमण देखिएको छ। यो अवधिमा एक सय एक जना बिरामी निको घएर घर फर्किएको उनले बताए।
टेकु अस्पतालमा दैनिक तीन सयभन्दा बढी बिरामी आउने गरेका छन्। अहिलेसम्म १७ जिल्लाका बिरामी उपचारका लागि आएका छन्।
अहिले डेंगूको संक्रमण ४२ जिल्लामा फैलिएको छ। देशभर दुई हजार चार सय ७६ जनामा संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगूको सबैभन्दा उच्च जोखिममा प्रदेश ३ रहेको पाइएको छ। प्रदेश ३ मा एक हजार ७९ जना संक्रमित भेटिएका छन्।
त्यस्तै, प्रदेश १ मा सात सय ५२, प्रदेश २ मा २०, गण्डकी प्रदेशमा पाँच सय ४७, प्रदेश ५ मा ७२ र सुदूरपश्चिम प्रदेशमा ६ जना डेंगू संक्रमित रहेका छन्। कर्णाली प्रदेशमा भने अहिलेसम्म डेंगू संक्रमण नदेखिएको महाशाखाले जनाएको छ।






