Kathmandu Press

प्राचीन बस्ती पुनःनिर्माण र स्मार्ट सिटी विकासमा कोरियाले सघाउने

काठमाडौं, भदौ २० : काठमाडौं उपत्यकाका प्राचीन बस्तीको पुनःनिर्माण र स्मार्ट सिटीको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ।

यसका लाग....

प्राचीन बस्ती पुनःनिर्माण र स्मार्ट सिटी विकासमा कोरियाले सघाउने

काठमाडौं, भदौ २० : काठमाडौं उपत्यकाका प्राचीन बस्तीको पुनःनिर्माण र स्मार्ट सिटीको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ।

यसका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, काठमाडौं उपत्यका विकास प्राधिकरण र सियोल हाउजिङ एन्ड कम्युनिटी कर्पाेरेसनबीच कोरियाको राजधानी सियोलमा समझदारी भएको छ। शुक्रबार भएको समझदारीमा दुवै तर्फका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार पहिलो चरणमा सियोल हाउजिङ एन्ड कम्युनिटी कर्पोरेसनले प्राचीन बस्तीका रुपमा रहेको साँखु, बुङमती र खोकनाको मुख्य बस्ती र त्यससँग जोडिएका क्षेत्रको गुरुयोजना तयारी एवं विभिन्न योजनाको विस्तृत परियोजना प्रस्ताव तयार पार्नका लागि प्राविधिक सहयोग गर्नेछ। त्यसपछि परियोजना प्रस्तावका आधारमा कोरिया सरकार तथा नीजि क्षेत्रबाट लगानी परिचालन गरिने समझदारी भएको छ।

यस्तै सियोल कर्पोरेसनले स्मार्ट सिटी विकासका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र काठमाडौं उपत्यका विकास प्राधिकरणको संस्थागत क्षमता विकासमा सहयोग गर्ने भएको छ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यो समझदारी काठमाडौं उपत्यकाका प्राचीन बस्तीहरुको संरक्षण गर्न तथा नयाँ शहरको विकासका लागि कोसेढुङ्गा सावित हुने बताए।

सियोल हाउजिङ एन्ड कम्युनिटी कर्पाेरेसनका प्रमुख कार्यकारी अधिकृत सी योङ किमले शहरी क्षेत्रको पुनःनिर्माण तथा स्मार्ट सिटीको विकासका लागि कोरियाले प्राप्त गरेको ज्ञान तथा अनुभव नेपाललाई बाँड्न पाउँदा खुशी लागेको बताए।

समझदारीपत्रमा नेपालका तर्फबाट राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का आयोजना निर्देशक नवराज प्याकुरेल र कोरियाको तर्फबाट कार्यकारी निर्देशक इन गो काङले हस्ताक्षर गरेका छन्।

सियोल कर्पोरेसन सियोल महानगरपालिकाअन्तर्गत सियोल क्षेत्रमा नयाँ शहरहरुको विकास गर्न तथा आवासको निर्माणका लागि स्थापना गरिएको निकाय हो।

यसअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ग्लोबल इन्फ्रास्टकचर कोअपरेसन कन्फेरेन्समा नेपालको पुनःनिर्माणको भावी कार्ययोजना र अन्तर्राष्ट्रिय सहयोगको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

सम्मेलनमा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव वान कि मुनले शहरी क्षेत्रको विकास तथा पूर्वाधार निर्माण गर्दा पर्यावरणीय संरक्षण र दीगो विकासका निम्ति सबै मुलुकबीच सहकार्य गर्नु पर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: ११:५७ बजे, शुक्रबार, भदौ २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्