नेपालगञ्ज उपमहानगरका दुई वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी
नेपालगञ्ज, भदौ २० : नेपालगञ्ज उपमहानगरपालिकाका दुई वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ।
जिल्ला प्रहरी कार्यालयले नेपालगञ्ज&nda....

नेपालगञ्ज, भदौ २० : नेपालगञ्ज उपमहानगरपालिकाका दुई वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ।
जिल्ला प्रहरी कार्यालयले नेपालगञ्ज–१७ का अध्यक्ष अजयकुमार पाठक र नेपालगञ्ज–१८ का अध्यक्ष दीपकुमार बर्माविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।
सहकारी वित्तीय विकास संस्था लिमिटेडको सञ्चालक समितिमा रहेर दुवै जनाले ५२ करोड रकम अपचलन गरेको आरोपमा पक्राउ पूर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दाको अनुसन्धानका लागि दुवै वडाध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।
प्रहरीका अनुसार, वडाध्यक्ष हुन अघि पाठक सहकारी संस्थाको उपाध्यक्ष थिए भने बर्मा कार्यसमिति सदस्य तथा कर्जा लगानी उपसमितिमा रहेका थिए। अहिले दुवै वडाध्यक्ष फरार छन्। प्रहरीका अनुसार, पक्राउ पूर्जि जारी गरेलगत्तै दुवै वडाध्यक्ष भारततिर भागेका हुन्।
प्रहरीले यस अघि वडाध्यक्ष बर्माका दाइ अरुणकुमार बर्मासहित गङ्गाधर सुवेदी, गोपाल भण्डारी, स्थीरमणि बज्राचार्य, प्रकाश चौधरी र बलराम यादवलाई पक्राउ गरेको छ। उनीहरू सहकारीका कर्मचारी हुन्।
त्यस्तै, सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीलगायतका अरु सञ्चालक भने सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी भइरहेको डीएसपी सापकोटाले बताए।
यस सहकारीमा ११ हजार चार सय आठ जना निक्षेपकर्ता छन्। यसको नेपालगञ्ज, खजुरा र बैजापुरमा शाखा रहेको थियो। प्रहरीले सूचना जारी गर्दै बचतकर्ताहरुलाई आफूसँग भएको प्रमाण लिएर सम्पर्कमा आउन सार्वजनिक आह्वान गरेको छ।











-1784808429.png)