Kathmandu Press

हिमालयन एयरलाईन्सको १४ करोड बक्यौता, १ महिनामा तिर्न अल्टिमेटम

काठमाडौं, माघ १९ : प्रधानमन्त्री केपी ओली निकट एयरलाईनस् व्यापारी आङछिरिङ शेर्पाको स्वामित्वमा रहेको हिमालयन एयरले विमानस्थललाई तिर्नुपर्ने सेवा शुल्क....

हिमालयन एयरलाईन्सको १४ करोड बक्यौता, १ महिनामा तिर्न अल्टिमेटम
फाईल फोटो

काठमाडौं, माघ १९ : प्रधानमन्त्री केपी ओली निकट एयरलाईनस् व्यापारी आङछिरिङ शेर्पाको स्वामित्वमा रहेको हिमालयन एयरले विमानस्थललाई तिर्नुपर्ने सेवा शुल्क बापतको १४ करोड रुपैया पटक पटक ताकेता गर्दा पनि बुझाएको छैन ।

लामो समयसम्म पनि शुल्क नबुझाएपछि त्रिभुवन अत्राष्ट्रिय विमान स्थलले एक महिनाभित्र शुल्क चुक्ता नगरे उडान बन्द गराउने चेतावनी दिएको छ । सरकारले पटक पटक ताकेता गरेपछि पुस मसान्तमा १४ करोड तिर्नुपर्ने हिमालयन्स एयरले ५० लाख रुपैया बुझाएको थियो । अवको एक महिनाभित्र विमानस्थललाई तिर्नुपर्ने सेवा शुल्क नबुझाए उडान बन्द गराउने चेतावनी दिएपनि एक महिनाभित्र बुझाउने मौखिक प्रतिवद्धता जनाएको विमानस्थल स्रोतले भन्यो ।  

नेपाल र चीनको संयुक्त लगानीमा सन् २०१४ देखि सञ्चालनमा आएको हिमालय एयरलाइन्सले मलेशियाको क्वालालम्पुर, साउदी अरेबियाको दमाम, युएइको दुबई र कतारको दोहामा नियमित उडान भर्दै आएको छ । 

Hardik ivf

नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० को विमानस्थल सेवा शुल्क नियमावलीअनुसार ६० दिनभित्र रकम नबुझाउने एयरलाइन्सको उडान रोक्न र जहाज ‘ग्राउन्डेड’ गर्न सकिने प्रावधान छ । साँवा रकम नबुझाएपछि ३० प्रतिशतका दरले विलम्ब शुल्क लाग्छ । समयमा बुझाउँदा छूटको व्यवस्था छ । विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार बिल जारी गरेको सात दिनभित्र बक्यौता रकम तिरेमा तीन प्रतिशत शुल्क छुट दिने व्यवस्था छ । 

सौर्य एयरलाइन्स दुई महीनादेखि उडान बन्द 

विमानस्थललाई तिर्नुपर्ने बक्यौता नतिरेपछि निजी क्षेत्रको अर्को हवाई कम्पनी सौर्य एयरलाइन्सको दुई महीनाभन्दा बढी समयदेखि उडान बन्द रहेको छ । करीब रु तीन करोड बक्यौता भुक्तान गर्न नसकेपछि सौर्यका जहाज ‘ग्राउण्डेड’ भएका हुन् । 

पटकपटक ताकेता गर्दा पनि बक्यौता नतिरेपछि उडान बन्द गरिएको विमानस्थलका महाप्रबन्धक क्षेत्रीको भनाइ छ । एयरलाइन्सले चाँडै बक्यौता भुक्तानी गर्ने मौखिक प्रतिबद्धता जनाएको भए पनि अहिलेसम्म विमानस्थलको सम्पर्कमा आएको छैन । सौर्यसँग सिआरजे २०० सिरिजका दुईवटा विमान रहेका छन् । 

५५ करोड बक्यौता बाँकी 
अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ वटा वायुसेवा प्रदायक कम्पनीले विभिन्न २३ गन्तव्यमा हवाई सेवा सञ्चालन गर्दै आएका छन् । उडान औसतमा ५० देखि ५५ अन्तर्राष्ट्रिय उडान हुन्छ । आन्तरिकतर्फ करीब ३०० उडान हुन्छ । आन्तरिकमा १० हेलिकप्टरसहित २० वटा वायुसेवा प्रदायक कम्पनीले हवाई सेवा सञ्चालन गर्दै आएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ११ महीनाको अवधिमा रु ५५ करोडभन्दा बढी बक्यौता उठाएको छ । मङ्सिर मसान्तसम्म विभिन्न वायुसेवा प्रदायक कम्पनीबाट करीब ५० करोड र पुस महीनामा पनि झण्डै सात करोड बक्यौता उठेको विमानस्थल कार्यालयले जनाएको छ । 

एक महीनाको अवधिमा ५५ करोड बढी पुरानो बक्यौता उठाइएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो । बक्यौता बाँकी रहेका निकायलाई पनि निरन्तर ताकेता गरिएको छ । 

विमानस्थल कार्यालयले अझै करीब डेढ अर्ब बक्यौता उठाउन बाँकी रहेको बताइएको छ । बढी बक्यौता हुनेमा सरकारी निकाय भन्सार विभाग, नेपाल वायुसेवा निगमसहित निजी क्षेत्रका हवाई कम्पनी छन् । भन्सार विभागको करीब रु ५५ करोड बक्यौता छ भने नेपाल वायुसेवा निगमको करीब रु ४० करोड छ । निगमले किस्ताबन्दीमा रकम तिरेपनि भन्सार विभागले भने लामो समयदेखि रकम नतिरेको बताइन्छ । 


त्यस्तै ३० दिनभित्र बक्यौता रकम तिरेमा जरिवाना शुल्क तिर्नुपर्दैन । ३० दिनदेखि ४५ दिनसम्म पाँच प्रतिशत जरिवाना लाग्ने गरेको छ । ४५ देखि ५९ दिनसम्म बक्यौता रकम बुझाएमा १५ प्रतिशत जरिवाना तिर्नुपर्ने नियमावलीमा व्यवस्था छ । यसैगरी ६० दिनदेखि माथि रकम भुक्तानी नगरेमा ३० प्रतिशतको दरले जरिवाना लाग्नेछ । 

विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाई परिवहन, सुरक्षा शुल्क, कार्यालय सञ्चालन कोठा, काउन्टर, होडिङ बोर्ड विमानस्थलभित्र सञ्चालन भएका पसल, भण्डारण, यात्रुलाई सेवा प्रवाहलगायतमा विमानस्थलले शुल्क लिने गर्छ । 

एयर एशियाले २१ करोड तिरेन 

मलेशियाको बजेट एयरलाइन्स एयर एशियाले विलम्ब शुल्कसहितको विमानस्थल सेवा शुल्कबापतको रु २१ करोड बक्यौता तिरेको छैन । यसमा रु सात करोड ५० लाख साँवा र विलम्ब शुल्क रु १३ करोड बाँकी छ । क्वालालम्पुर–काठमाडौँ सिधा उडान गर्दै आएको यो कम्पनीले बक्यौता नतिरेपछि केही महीनाअघि सेवा बन्द गरेको छ । 

महाप्रबन्धक क्षेत्रीका अनुसार बढी बक्यौता रहेको एयर एशियाबाट विमानस्थलले हालसम्म रु ३१ करोड उठाएको छ । सो कम्पनीले रु साढे सात करोडको चेक मात्रै बुझाएको छ तर ती चेक बाउन्स भएपछि कम्पनीका नेपाल एजेन्ट हरिमान लामा झण्डै छ महीनादेखि सम्पर्कविहीन रहेको बताइन्छ । चेक बाउन्स प्रकरणमा विमानस्थलका तत्कालीन कर्मचारीकोे समेत संलग्नता रहेको भन्दै प्राधिकरणले छानबिन अघि बढाएको बताइएको छ । सञ्चालनमा नरहेका सङ्घसंस्थाको बक्यौता करीब रु तीन करोड छ । 

कुन कम्पनीबाट कति उठ्यो 

विमानस्थलले एयर एशियाबाट रु ३१ करोड, हिमालयन एयरलाइन्सबाट रु पाँच करोड, सिम्रिक एयरबाट करीब रु तीन करोड, सौर्य एयरलाइन्सबाट रु एक करोड ८० लाख, रसुवा केडीको रु एक करोडभन्दा बढी, थाई एयरलाइन्सबाट रु एक करोड २५ लाख र पार्किङ शुल्क डेढ करोड तथा अन्य साना कम्पनीबाट थोरै–थोरै गरी करीब रु सात करोड रकम उठाएको छ । 

प्रकाशित मिति: १५:५९ बजे, शनिबार, माघ १९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्