कांग्रेसको आधिकारिक धारणा धर्मनिरपेक्षता हो, हिन्दू राज्य होइन : निधि
काठमाडौं, भदौ १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको हिन्दू राज्यका विषयमा पार्टीको आधिकारिक धारणा संविधान अनुसारको धर्मनिरपेक्षता ....
काठमाडौं, भदौ १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको हिन्दू राज्यका विषयमा पार्टीको आधिकारिक धारणा संविधान अनुसारको धर्मनिरपेक्षता भएको स्पष्ट पारेको छ।
पार्टीको महासमिति बैठकदेखि हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा समेत केही सदस्यहरुले हिन्दू राज्यको विषयमा बोलेपछि बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति विमलेन्द्र निधिले कांग्रेस धर्मनिरपेक्षताको पक्षमा अडिग रहेको स्पष्ट पारेका हुन्।
‘कांग्रेसको पहिल्यैदेखिको एजेण्डा धार्मिक स्वतन्त्रता हो। धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षता एउटै हो। जसरी प्रजातन्त्र र लोकतन्त्र भनेको एउटै हो त्यसरी नै धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षता पनि एउटै हो,’ निधिले हिन्दू राज्यको मागको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै भने, ‘जहाँसम्म हिन्दू राज्यको कुरा छ, राज्यलाई हिन्दू नामांकरण गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छैन।’
पार्टीभित्र हिन्दू राज्यको माग उठाउने महामन्त्री डा. शशांक कोइराला र अर्का महामन्त्री पूर्णबहादुर खड्कालाई दायाँबायाँ राखेका निधिले कांग्रेसको आधिकारिक धारणा धर्मनिरपेक्षता भएको स्पष्ट पारेका हुन्।
उनले कांग्रेसको नेतृत्वमा संविधान बनेको र त्यो संविधानको मुख्य विषय धार्मिक स्वतन्त्रता अर्थात धर्मनिरपेक्षता भएको भन्दै पार्टी यसमा अलमलमा नरहेको बताए। ‘नेपालको संविधानले धर्म निरपेक्षता सुनिश्चित गरेको छ र संविधान बनाउने नेतृत्व कांग्रेसले गरेको छ,’ निधिले भने, ‘यसमा कुनै अस्पष्टता छैन।’
दोस्रो चरणको राष्ट्रिय जागरण अभियान घोषणा गर्ने कार्यक्रममा उपसभापति निधिले संविधानका केही विषयहरु भने संशोधन गर्न आवश्यक रहेको बताए। ‘कांग्रेसकै नेतृत्वमा संविधान जारी भयो। संविधान जारी गर्दै यो संविधानमा थप संशोधन जरुरी छ भन्ने हामीले धारणा राखेका थियौं,’ निधिले भने, ‘संविधानसभाको रोष्टमै उभिएर संविधानमा संशोधन आवश्यक छ भन्ने धारणा कांग्रेस र माओवादीले राखेकाले सो अनुसार तराईका केही विषय संशोधन हुनुपर्छ भन्ने कांग्रेसको धारणा हो।’
कांग्रेस केन्द्रीय समितिको बैठकले सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि नबढाएको भन्दै छिट्टै संशोधनको प्रक्रिया सुरु गर्न माग गरेको थियो।






