संविधान कार्यान्वय गराउन अन्तिमसम्म लड्छौं : प्रचण्ड
काठमाडौं, भदौ १९ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन गराउन आफ्नो पार्टी....
काठमाडौं, भदौ १९ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन गराउन आफ्नो पार्टीले अन्तिम समयसम्म लड्ने बताएका छन्।
अध्यक्ष दाहालले संविधान विरोधी तत्वहरुसँग प्रतिवाद गर्ने अभियानमा पनि आफ्नो पार्टी लागि परेको दावी गर्दै त्यसमा साथ दिन सबै समूदायलाई अपिल समेत गरे। ‘संविधान कार्यान्वयन गराउन अन्तिमसम्म लड्छौं, सबैले साथ दिनुस्,’ प्रचण्डले भने।
बिहीबारबाट काठमाडौंमा सुरु भएको दलित अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले दलित मुक्ति आन्दोलन दीर्घकालीन आन्दोलन पनि भएकाले यसमा उत्पीडित समूदायले एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको बताए। संविधानले दलितमुक्तिको परिकल्पना गरेको भएपनि त्यसलाई कार्यान्वयनमा लैजान आफैं चनासो हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री एवं सत्ता साझेदार समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले दलित समुदायको अधिकार सुनिश्चित गर्न उनीहरुलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्न पाउने गरी कानुन बनाउन सरकारसँग माग गरे। उनले सुकुम्बासी दलितहरुलाई तत्काल जमिनको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए।
अध्यक्ष भट्टराईले हिन्दु धर्मले जातपातको प्रथालाई प्राथमिकता दिएकाले पनि नेपालमा दलितमाथि हुने विभेद अन्त्य गर्न कठिन हुन पुगेको बताए।






