Kathmandu Press

घुसकाण्डमा पक्राउ परेका पूर्वसभासद् जेल चलान

काठमाडौं, भदौ १९ : घुसकाण्डमा पक्राउ परेका पूर्वसभासद डोलबहादुर (डीबी) कार्कीलाई जेल चलान गरिएको छ।

अदालतको फैसलापछि फरार हुँदै आएका स्याङ्ज....

घुसकाण्डमा पक्राउ परेका पूर्वसभासद् जेल चलान

काठमाडौं, भदौ १९ : घुसकाण्डमा पक्राउ परेका पूर्वसभासद डोलबहादुर (डीबी) कार्कीलाई जेल चलान गरिएको छ।

अदालतको फैसलापछि फरार हुँदै आएका स्याङ्जा घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलङ्की बस्ने कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले आज बिहान पक्राउ गरेको थियो। उनलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो।

अदालतको आदेशले कार्कीलाई आजै जेल चलान गरिएको सीआईबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए। उनलाई कारागार कार्यालय डिल्लीबजार पठाइएको छ।

घुस काण्डमा सर्वोच्च अदालतले असार १७ गते ६ महिना कैद र एक लाख जरिवानाको फैसला सुनाएको थियो।

राजकुमार राईलाई नेपाल प्रहरीको प्रहरी निरीक्षकको नोकरी लगाइदिने बहानामा  २०६७ भदौ १४ गते रकम लिएको आरोप लागेको थियो। स्वामी ब्रम्हानन्द उदासीनले दुई लाख पाँच हजार र कार्कीले एक लाख लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको थियो।

विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत चार÷चार महिना कैद र बिगोबमोजिम एक÷एक लाख जरिवाना हुने फैसला सुनाएको थियो।

डोलबहादुर कार्की तत्कालीन संविधानसभा तथा व्यवस्थापिका–संसद्को सभासद् भएकाले ऐनको दफा २४ बमोजिम थप दुई महिना कैद सजायसमेत थप गरी ६ महिना कैद र एक लाख जरिवाना हुने ठहर गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो।

प्रकाशित मिति: १३:३१ बजे, बिहीबार, भदौ १९, २०७६