गायक राजेशपायललाई दुर्व्यवहार गर्ने पासाङले मागे माफी
काठमाडौं, पुस १९ : अमेरिकाको न्युयोर्कमा आयोजित एक कन्सर्टमा गायक राजेशपायल राईमाथि हातपात गर्ने व्यक्तिले माफी मागेका छन्।अंग्रेजी नयाँ वर्ष २०२२ को स्वागतका लागि आयोजित...
काठमाडौं, पुस १९ : अमेरिकाको न्युयोर्कमा आयोजित एक कन्सर्टमा गायक राजेशपायल राईमाथि हातपात गर्ने व्यक्तिले माफी मागेका छन्।
अंग्रेजी नयाँ वर्ष २०२२ को स्वागतका लागि आयोजित कन्सर्टमा गीत गाइरहेको अवस्थामा उनीमाथि हातपात गर्ने व्यक्ति पासाङ दावा शेर्पा थिए।
उनले गायक राईलाई नै भेटेर हात जोडेर माफी मागेका हुन्। उनले गायक राई आफ्नो हितैषी मित्र भएकाले कार्यक्रमस्थलमा प्रस्तुति दिने क्रममै गएर अँगालो हालेको र उचालेको तर दुर्व्यवहार भने नगरेको दाबी गरेका छन्।
‘नयाँ वर्षा भएकाले अलिकति पिएको हुँदा त्यस्तो हुन गएछ, भिडियो भाइरल भएछ,’ उनले भनेका छन्, ‘मेरो कारणले कार्यक्रममा असहजता उत्पन्न भएकाले त्यसप्रति म माफी चाहन्छ।’
उनले आफू पनि राजे पायलको ठुलो ‘फ्यान’ भएको पनि बताएका छन्। आफूबाट अनजानमा भएको त्रुटिबाट विश्वभरिका ‘फ्यान’हरुमा पुगेको चोटप्रति उनले सबैसँग माफी मागेका हुन्। उनले त्यसक्रममा गायक राईलाई खादा पनि लगाइदिएका छन्।
हाल अमेरिकामा रहेका गायक राईले यसबारे आफ्नो फेसबुक पेजबाट जानकारी दिएका हुन्। शेर्पाले माफी माग्दै गरेको भिडियोसमेत सेयर गरेर गायक राईले लेखेका छन्, ‘मानिस हो मानिसबाटै गल्ति हुन्छ। गल्ती स्वीकार्नु पनि महानता हो। उहाँ थोरै बिरामी हुनुहुन्छ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना।’ राईले अब उप्रान्त उनलाई गाली नगर्न पनि उनले फेसबुकमार्फत आग्रह गरेका छन्।
साे अवसरमा आयोजकले पनि यस्तो घटना दोहोरिन नदिने वाचा गरेको छ।
घटनाको दिन स्टेजमा आफ्नो प्रस्तुति दिइरहँदा गायक राईलाई हाल पहिचान खुलेका शेर्पाले स्टेजमै चढेर पछाडिबाट अँगालो मारेजस्तो गरेर हातपात गरेका थिए। उनीमाथि हातपात गरिएको भिडियो युट्युबमा पनि सार्वजनिक भएको थियो।
सो भिडियोमा अँगालो मारेर स्टेजमै पछाडि तानेर गायक राईलाई लडाउन खोजेको सकिन्छ। हातपात हुनासाथ त्यहाँ हल्लाखल्ला भएको थियो। आयोजकले शेर्पालाई स्टेजबाट बाहिर निकालेका थिए।
एकैछिन कार्यक्रम रोकिए पनि गायक राईले तुरुन्त गीतलाई निरन्तरता दिएका थिए। गाइरहेको गीत सकिनेबित्तिकै उनले पछाडिबाटको अँगालो पनि स्वीकार्य हुने बताएका थिए।
उनले ‘राजेश पायल राई न कहिल्यै हार्न जान्दछ न कहिल्यै भाग्न जान्दछ’ भनेर दर्शकलाई आफू विचलित नभएको सन्देश दिन खोजेका थिए।












