Kathmandu Press

टिकट काट्न नसक्दा निगमको जापान उडान कटौती, एक सातामै तीन उडान रद्द

काठमाडौं, भदौ १९ : जापान उडान सुरु गरेको एक सातामै नेपाल वायुसेवा निगमले उडान कटौती गरेको छ।

निगमले सातामा तीन उडान गर्ने भन्दै भदौ १२ ....

टिकट काट्न नसक्दा निगमको जापान उडान कटौती, एक सातामै तीन उडान रद्द
फाइल फोटो

काठमाडौं, भदौ १९ : जापान उडान सुरु गरेको एक सातामै नेपाल वायुसेवा निगमले उडान कटौती गरेको छ।

निगमले सातामा तीन उडान गर्ने भन्दै भदौ १२ देखि जापानको ओसाका उडान सुरु गरेको थियो। मुख्य सिजनमै टिकट काट्न निगम व्यवस्थापन असफल भएपछि उडान कटौती गरेर दुई वटामा झारेको छ।

त्यस्तै, निगम व्यवस्थापनले वाइडवडी जहाजका लागि तोकिएका चार वटा उडान टिकट काट्न नसकेपछि रद्द गर्ने निर्णय गरेको छ। १२ वर्षपछि पुनः जापान उडान थालिएको थियो। तर, निगम व्यवस्थापन जापान उडानमा अफसल हुने संकेत देखिएको छ।

निगमका प्रवक्ता गणेश चन्दका अनुसार भदौ १९ र २६ तथा असोज २ गतेको उडान रद्द गर्ने निर्णय भएको छ। निगमले उडान रद्दको जानकारी जापानको सिभिल एभियसन व्यूरोलाई गराइसकेको छ।

निगमले जापानको एजेन्टलाई सक्रिय बनाउन नसक्दा समस्या आएको हो। नयाँ गन्तव्यमा जाने निगमको रणनीति जापानमै असफल हुने देखिएपछि तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत चासो दिएको छ। दुई सय ७४ सिट क्षमताका जहाजमा १७ वटा मात्रै टिकट विक्री भएपछि निगमले उडान कटौती गर्नु परेको हो।

सात घण्टा दूरीका लागि निगमले एकतर्फी ३७ हजार मात्रै भाडा तोकेको थियो। ‘सस्तो भाडामा समेत निगमले नयाँ गन्तव्यमा टिकट बिक्री गर्न नसक्नु नेतृत्वको असफलता हो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने।

यहीँ समयमा निगमका कार्यकारी अध्यक्ष मदन खरेल पाँच दिनदेखि घर बिदामा बसेका छन्।

प्रकाशित मिति: १०:१४ बजे, बिहीबार, भदौ १९, २०७६