Kathmandu Press

अन्तर्राष्ट्रियस्तरमा रासायनिक मलको मूल्य बढेसँगै नेपालमा मल अभाव

कोभिड–१९ तथा इन्धनका समस्याका कारण रासायनिक मल उत्पादनमा हुन पुगेको अन्तर्राष्ट्रियस्तरमा मूल्य वृद्धि भएसँगै नेपाल लगायत छिमेकी राष्ट्र चीन तथा भारतमा पनि मलको अभाव सिर्जना हुन थालेको छ ।
अन्तर्राष्ट्रियस्तरमा रासायनिक मलको मूल्य बढेसँगै नेपालमा मल अभाव

काठमाडौं, पुस १९ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार एक कार्यक्रम गर्दै मल अभाव बारे पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । हाल कृषि मन्त्रालयसँग कृषि सामाग्री संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनसँग गरी केवल १२ हजार दुई सय मेट्रिक टन रासायनिक मल मौज्दात बाँकी छ ।

आर्थिक बर्ष २०७७–७८ मा, करिब १२ अर्ब विनियोजित रकम रासायनिक मल खरिद गरेको छ भने, चालु आर्थिक वर्षको लागि मन्त्रालयले १५ अर्ब रकम विनियोजित गरेको छ । मलको मूल्य महंगिएसँगै विनियोजित १५ अर्बमा थप १२ अर्ब ७१ करोड रुपैंया थप गरिएको थियो ।

गत वर्ष विनियोजित भएको १२ अर्ब रकमबाट कृषि मन्त्रालयले करिब चार लाख दुई हजार मेट्रिक टन रासायनिक मलमा १० हजार मेट्रिक टन युरिया, १२ सय मेट्रिक टन डिएपी र पाँच सय मेट्रिक टन पोटास खरिद गरिएको थियो । 

यद्यपि, मल खरिदमा समस्या देखिने भएको छ । छिमेकी राष्ट्र भारत, चीन, बंगलादेश मात्र नभई दक्षिण अफ्रिकादेखि रुस तथा अन्य युरोपेलीमा देशमा समेत मल अभावको समस्या देखिएको मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा आचार्यले बताए । 

कृषि मन्त्री मनिन्द्र राय यादवका अनुसार, हालको लागि विकल्पको रुपमा भारतसँग भएको पाँच लाख मेट्रिक टनको रासायनिक मल ल्याईने छ । कोभिड–१९ तथा इन्धनका समस्याका कारण रासायनिक मल उत्पादनमा हुन पुगेको अन्तर्राष्ट्रियस्तरमा मूल्य वृद्धि भएसँगै नेपाल लगायत छिमेकी राष्ट्र चीन तथा भारतमा पनि मलको अभाव सिर्जना हुन थालेको छ ।

यसै पनि नेपालमा हरेक वर्ष मलखाँद खरिदका लागि अर्बौको रकम खर्च हुँदा पनि मल अभाव रोकिएको थिएन । मलखाँदको मूल्य बढेसँगै यस पटक अझ जटिल देखिएको छ । हिउँदे बालीके लागि पनि मल पर्याप्त नहुने भएको छ ।

कति बढ्यो रासायनिक मलको मूल्य ?

अन्तर्राष्ट्रियस्तरमा रासायनिक मलको मूल्य बढेसँगै नेपाल सरकारले तोकेको अनुदान रकम युरिया मल प्रति केजी २३ रुपैयाँबाट एक सय दशमलब १३ रुपैयाँ पुगेको छ । त्यस्तै, डिएपी मल गत वर्ष ११ दशमलब प्रति केजी रहेको मूल्य बढेर ६७ दशमलब ७१ रुपैयाँ प्रति केजी पुगेको छ ।  

पोटासमा गत वर्ष प्रति केजी ६ दशमलब ८३ रुपैयाँ को अनुदान रकम रहँदा यस वर्ष  उक्त रकम ७० दशमलब ४१ प्रति केजी पुगेको छ । यसरी हेर्दा, अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य आकाशिएसँगै अनुदार भार रकम युरियामा तीन गुणा, डिएपीमा ६ गुणा र पोटासमा १० गुणा बढेको छ ।

के भन्छन्, पूर्व सचिव डा. कार्की ?

पूर्व कृषि सचिव डा. योगेन्द्र कुमार कार्कीका अनुसार,  उनको कार्यकाल देखिनै मलको मूल्य बढ्न थालेको थियो । ‘मलको मूल्य आकासिन थालेको गत वर्षको फाल्गुन चैत देखिनै थियो, उनी भन्छन्, ‘जससँगै हामीले जी–टु–जी सम्झौताको लागि पहल गर्यौँ भारतसँग । भने गत साउनमा भारतमात्र नभई अन्य देशसँग पनि यस प्रकारको सम्झौताको लागि सैदान्तिक पहल भएको थियो । ’ यद्यपि, वर्तमान परिस्थितिमा सबै देश मल अभावमा परेको देखिन्छ । 

वर्तमान परिस्थितिमा ‘ब्लेन्डिङ प्रोसेस’ अर्थात तीनै वटा मलखाँदलाई एकै ठाउँ मिसाउनु हो । यस प्रकारको मल कारखानाको लागि नीजि क्षेत्रले पनि लगानी गर्न सक्ने उनी बताउँछन् । दक्षिणा अफ्रिकादेखि भारतमा पनि यस प्रकारको प्रयोग भइरहेको छ । त्यस्तै, मल आयातलाई पनि खुल्ला गर्न सकिने पूर्व सचिव डा. कार्की  बताउँछन् । 

जससँगै सरकारकाले मलको गुणस्तरमात्र माप गर्नेछ भने मल जो कोहीले पनि आयात गर्न सक्नेछन् । दीर्घकालीन समयको लागि भने मल कारखाना स्थापना नै विकल्प भएको उनी बताउँछन् । अथवा अनुदानमा किनिएको मल सीमान्तकृत तथा स–साना किसानलाई बाँड्ने र कर्पोरेट कृषि व्यवसायीका लागि उक्त प्रावधान हटाउन पनि सकिने कार्की बताउँछन् । 

पूर्व सचिव कार्कीले आफ्नो कार्यकालमा धेरै हदसम्म रासायनिक मलको समस्या हल गरेका थिए । उनकै पहलमा बंगलादेशबाट ५० हजार मेट्रिक टन मल जी–टु–जी सम्झौतामा ल्याएको थियो भने उत्तरी नाका चीनबाट पनि मल आयातको लागि पहल सुरु गरिएको थियो ।

प्रकाशित मिति: ०८:४३ बजे, सोमबार, पुस १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्